|

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा दर्जनभन्दा बढी ग्रामीण सडक अझै मर्मत भएका छैनन्।

वर्षात् सकिएको झन्डै ५ महिना बितिसक्दा समेत नगरपालिकाका धेरैजसो ग्रामीण सडक सञ्चालनमा आउन नसकेका हुन्।

नगरपालिकाभित्र विभिन्न वडामा जाने दर्जनौँ ग्रामीण सडक खोलेर अलपत्र छाडी स्थानीय सरकार बेखबर बनेको स्थानीयको आरोप लगाएका छन्।

वर्षात्को समयमा अवरुद्ध भएको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउनेतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।

नगरपालिका केन्द्रबाट वडा कार्यालयमा जाने ग्रामीण सडक सल्लीबजार–बामे सडक, देवस्थल–कारागाउँ–बामे–राइरा सडक, गर्चे–देउली–डोप्के–काफलपानी सडक, च्युरा सडक, सितलनेटा–लाखर सडक, सल्ली–दुरुमखोला सडक, सेरा–सोरा–ढोरपिपल सडक,  बयालडाँडा–मैदुपोखरी सडकलगायत दर्जनौं ग्रामीण सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि  मर्मतसम्भार भएको छैन।

सडकहरू मर्मत गर्न नगरसभाबाट बजेट छुट्याए पनि काम नभएको बनगाड कुपिण्डे नगरपालिका–२ का वडाध्यक्ष प्रतिमल बुढाले बताए।

नगरसभा ढिलो गरी भएको र त्यसमा पनि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाँदा योजना सम्झौता हुन नसक्दा समयमै ग्रामीण सडक मर्मतसम्भार हुन नसकेको उनको भनाइ छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतले बजेटको व्यवस्था गरे पनि केही प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताएका छन्।

केही वडासम्म जाने ग्रामीण सडक मर्मत भइसकेको बताउँदै उनले बाँकी सडकहरू पनि चाँडै मर्मत गरिने बताए। 

सडक अवरुद्ध भएको लामो समय भइसक्दासमेत सडक मर्मतसम्भार नहुँदा वडा कार्यालय तथा नगरपालिका बजार र सदरमुकाम पुग्न २/३ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय डिलबहादुर बोहराले बताए।

नगरपालिकालाई सडक मर्मतसम्भारका लागि पटक-पटक अनुरोध गर्दा पनि आश्वासन मात्र पाउने गरेको उनको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.