|

धनकुटा : धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिभल सुरु भएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेष्टिभल सुरु भएको हो।

फेष्टिभलको उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधारमन्त्री हिमाल कार्कीले भेडेटारको विकासका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताए।

चिसो मौसम रहने धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ।

भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेष्टिभल आयोजना गरिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए।

उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकहरूमा सबैभन्दा धेरै भारतीय हुन्छन्। नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई पूर्वी नेपाल र विशेष गरी भेडेटारमा आकर्षित गर्न फेष्टिभल आयोजना गरिएको उनले बताए।

धरान र धनकुटाको पर्यटन प्रवर्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास होस् भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिभल आयोजना गरिएको हो।

तीन दिनसम्म हुने फेष्टिभलमा विभिन्न जातिका परिकारका स्टलहरू, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरू गरी १५ वटा स्टल रहेका छन्।

फेष्टिभलमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिएको छ। फेष्टिभल उद्घाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

फेष्टिभल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट-चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन्।

स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ।

फेष्टिभलमा करिब ३० हजार पर्यटक सहभागी हुने आयोजकको अनुमान छ। फेष्टिभल अवधिमा भेडेटारमा करिब १ करोडको कारोबार हुने अपेक्षा छ। फेष्टिभलपछि पर्यटकको वृद्धि हुने अपेक्षा गरिएको छ।

फेष्टिभल अवधिमा माउन्टेन फ्लाइट र भेडेटार धरान जिपलाइनमा दुवैमा १५ प्रतिशत छुट दिइने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.