|

चितवन : देशभरि नै शनिबार जलपक्षीको गणना शुरु हुँदैछ। यसै मेसोमा चितवनमा पनि जलपक्षी गणना शुरु हुंँदैछ।

हरेक वर्ष जनवरी १-१६ तारिखसम्म जलपक्षी गणना गरिंँदै आएको छ।

अन्तरराष्ट्रिय संस्था वेटल्यान्ड इन्टरनेशनलले जनवरी १ देखि विश्वभरि नै जलपक्षी गणना गर्ने गर्छ।

सोहीअनुसार चितवनलगायत देशभरि जलपक्षी गणना गर्न लागिएको वेटल्यान्ड इन्टरनेशनलका राष्ट्रिय संयोजक चराविद डा. हेमसागर बरालले जानकारी दिए।

उनका अनुसार देशभरका निकुञ्ज तथा चरा संरक्षित क्षेत्रमा टोली विभाजन गरी गणना शुरु गरिनेछ। यसैगरी चितवनमा पनि गणना शुरु गर्न थालिएको हो।

नेपाल पक्षीविद संघ बाग्मती प्रदेशका संयोजक वासु विडारीले चितवनको हकमा ३ वटा क्षेत्र र पांँच वटा समूह बनाएर जलपक्षी गणना शुरु गर्न लागिएको जानकारी दिए।

उनका अनुसार राप्ती, नारायणी तथा निकुञ्ज क्षेत्रका ताल तलैया र मध्यवर्ती क्षेत्रका ताल तलैया सिमसार क्षेत्रमा चरा गणना गरिँदैछ।

पक्षी गणनामा चराको प्रजाति र संख्या गणना गर्ने गरिन्छ।

गणना गर्ने प्रक्रिया छिट्टै सकिने भए तापनि यसको प्रजाति, संख्या छुट्ट्याएर कुल संख्या गणना गर्न समय लाग्ने र अन्तिम गणना गरी वेटल्यान्ड इन्टरनेशनलमा पठाइने जानकारी विडारीले दिए।

गणनामा एउटा समूहमा कम्तिमा १० जना रहने र एक जना टीम कोअर्डिनेटर रहने उनले जानकारी दिए।

उनका अनुसार चितवनको गणनामा उनीलगायत टीका गिरी, टेक गुरुङ्ग, रमेश चौधरी र हठन चौधरीको संयोजन रहनेछ। 

चितवनमा संख्या बढ्ने अनुमान

हरेक वर्ष गरिंँदै आएको जलपक्षी गणनामा यस वर्ष जलपक्षीको प्रजातिसंँगै संख्या पनि बढ्ने अनुमान गरिएको छ।

विगत केही वर्षदेखि जलपक्षीको प्रजातिको संख्या बढे पनि चराको कुल संख्या स्थिर थियो। 

देशका अन्य संरक्षित क्षेत्र तथा निकुञ्ज, ताल तलैयामा जलपक्षीको संख्या घट्दै गए पनि चितवनमा भने संख्या बढ्ने अनुमान गरिएको हो।

चराविद वासु विडारीले नेपालका अन्य जिल्ला क्षेत्रभन्दा चितवन जलपक्षीको लागि उपयुक्त स्थान भएकोले चितवनमा जलपक्षीको प्रजातिसंँगै संख्या पनि बढ्ने अनुमान गरिएको जानकारी दिए।

‘नेपालमा चराको प्रजाति बढ्दै गएको छ। तर चितवन आहारा, मौसम, वासस्थानको लागि उपयुक्त ठाउंँ भएकोले यसपटक भने बढ्छ होला,’ उनले भने।

अन्य निकुञ्ज तथा संरक्षित क्षेत्रका चरासमेत चितवनमा आउने गरेकोले जलपक्षीको संख्या बढ्ने अनुमान गरिएको हो।

अर्का चराविद तथा गणना संयोजक  टेकबहादुर गुरुङ्गले अन्य संरक्षित क्षेत्रभन्दा चितवनमा प्रशस्त सिमसार क्षेत्र, विषादीको न्यून प्रयोग र जलपक्षीलाई चाहिने पर्ने लेउ, माछा, पानीमा पाइने अन्य जीव प्रशस्त भएकोले चितवन चराको उत्कृष्ट वासस्थान बन्दै गईरहेको बताए।

‘चाहे साइबेरिया वा अफ्रिका होस् या चीनबाट आउने पाहुना चरा हुन्,' गुरुङ्गले भने, 'ती जाडो छल्न र आहाराकै लागि चितवन आउने गर्छन्।’

चितवनमा चराका लागि चाहिने नदी, तालतलैया, सिमसार क्षेत्र प्रशस्त रहेकोले बाहिरबाट आउने चराको प्रजाति पनि बढ्दै गईरहेको गुरुङ्गको भनाई छ।

चरा संरक्षणमा चुनौती

चराका प्रजाति संख्या र कुल संख्यामा उतारचढाव भइरहँदा चरा संरक्षणमा चुनौती देखिएको छ।

जलवायु परिवर्तन, बढ्दो विषादीको प्रयोग, चोरी शिकार र प्रशस्त आहारा नहुंँदा चरा संरक्षणमा चुनौती थपिएको चराविदहरू बताउंँछन्।

चराविद विडारी अधिकांश नदी, खोला, ताल तलैयामा विषादी हालेर माछा मार्ने र अन्नबालीमा पनि विषादीको प्रयोगले चराको संख्या र प्रजाति उल्लेखनीय मात्रामा बढ्न नसकेको बताउंँछन्।

​‘चितवनको हकमा भन्ने हो भने, प्रजातिको संख्या त बढेको पाएका छौं तर कुल संख्यामा भने घटबढ छ,’ उनले भने।

हरेक वर्षको चरा गणनामा कुनै प्रजातिको बढ्ने र कुनै प्रजातिको घट्ने गरेकाले संख्यामा समेत असर परेको उनको भनाई छ।

चरा विशेषज्ञ बराल चराको संख्या प्रदूषण, विषादी र आहाराको कमी भएकाले चराको संख्या उल्लेखनीय वृद्धि हुन नसकेको बताउंँछन्।

‘नेपालमा अन्य देशमा हिउंँ परेपछि पाहुना चरा आउने गर्छन्।

नेपाल जलपक्षीको उपयुक्त र अनुकूल वासस्थान हो,’ बराल भन्छन्, "जति बढ्नुपर्ने हो त्यति छैन केही वर्षयता कुल संख्या भने स्थिर छ।' 

उनका अनुसार देशभर ६० हजारको संख्यामा चरा छन् भने चितवनमा १० हजारभन्दा बढी चरा छन्। 

नेपालमा अन्य संरक्षित क्षेत्रभन्दा चितवनको सिमसार क्षेत्र राम्रो र संरक्षणका लागि ठूलो लगानी र लगाव रहेकोले पनि चितवनमा जलपक्षीको प्रजाति र संख्या बढ्ने गरेको उनको भनाई छ।

नेपालमा सबैगरी ८ सय ८७ प्रजातिका चरा पाइन्छ भने चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा पाइन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.