|

विराटनगर : प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईले चार महिनापछि सरकारी गाडी फिर्ता गरेका छन्। पदमुक्त भएको चार महिना बितिसक्दा पनि सरकारी गाडी फिर्ता नभएको भनी चर्को आलोचनापछि राईले गाडी फिर्ता गरेका हुन्।

पूर्व-मुख्यमन्त्री राईले काठमाडौंमा नै गाडी जिम्मा लगाएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे। उनका अनुसार राईले गाडी लिन आउनु भनेर टेलिफोन सम्पर्क गरेका थिए।

तर, गाडी कसले बुझे भन्ने सचिव दाहालले खुलाउन चाहेनन्। मन्त्रालयबाट चालक पठाएर गाडी ल्याउने तयारीमा रहेको उनले बताए।

पूर्व-मुख्यमन्त्री राईले सरकारी गाडी फिर्ता नगरेको विषयमा थाहाखबरले पुष १२ मा ‘प्रदेश १ का पूर्व–मुख्यमन्त्री राईले फिर्ता गरेनन् सरकारी गाडी’  शीर्षकमा समाचार प्रकाशित भएको थियो।

गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका पूर्व-मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको नाममा रहेको को १ झ ५६५ नम्बरको निशान कम्पनीको टेरान गाडी प्रयोग गर्दै आएका थिए। आर्थिक मामिला मन्त्रालयले राईले चढिरहेको उक्त गाडी करिब ८० लाख रूपैयाँमा तीन वर्षअगाडि खरिद गरेको थियो।

उक्त गाडी सुरुमा तत्कालीन मुख्यमन्त्री राईका जनसम्पर्क सल्लाहकार रहेका रामकुमार बस्नेतका लागि भन्दै मुख्यमन्त्री कार्यालयमा लगिएको थियो। तर, मुख्यमन्त्री कार्यालयमा लैजानसाथ मुख्यमन्त्री राईकी श्रीमती ज्याङ्मु इन शेर्पाले गाडी प्रयोग गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.