|

काठमाडौं : कालीगण्डकीले सभ्यताको पहिचान बोकेर ६ सय ३० किमीको यात्रा तय गरेको छ। नदीले स्वच्छन्द रुपमा मानव जीवनको सुगन्ध र अस्तित्वलाई आफूसँगै बोकेको छ।

काली नदी त्यही हो, जहाँ शालीग्राम जस्ता जीवाष्मको भण्डार मानिन्थ्यो। काली खोलामाथि मानिसले आफ्नो अस्तित्व भेट्टाउँथे। नदीको लयमा आफ्नो जिन्दगीको लय मिसाउँथे मानिस। 'काली छ हामी छौँ, हामी छौँ काली छ' भन्ने मानसिकता आम मान्छेमा थियो।

समयसँगै कालीको स्वरूप फेरिइसकेको छ। काली नदीमा मानव र धार्मिक आस्था धमिलो पानीमा बगेर धेरै पर पुगिसकेको छ। जसको अन्दाज काली नदीमाथि दोहन गरिरहेका दलाल र तस्करले भुलिरहेका छन्। र, चिर निद्रामा छ स्थानीय, प्रदेश र संघीय सरकार।

दुर्भाग्य, कालीगण्डकीमाथि वीभत्स अवैध दोहन चलिरहेको लामो समय भएको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदूषित बन्दै गएको छ। नदीमा पानीको मात्रा पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जीविकामाथि गम्भीर संकट पैदा हुने गरी गरिने दोहनले घाटहरू विस्थापित बनिसकेका छन्।  

काली नदीमा ढुंगा, बालुवा र शालीग्रामको अस्तित्व आफैँ लाचार बनेको छ। किनभने उनीहरूमाथि डोजरहरू निर्वाध चलिरहेका छन्। क्रसर व्यापारीले दिनरात कालीमाथि आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्।

कुनै दिन कालीले आफ्नो अस्तित्वका लागि शक्ति प्रदर्शन गर्‍यो भने मानव जीवनको अस्तित्व कहाँ पुग्छ? भन्ने आँकलन  सायदै न शासकले न त शासकलाई हातमा लिएर काली दोहन गरिरहेका दलालले गरेका छन्।  

क्रोधले म सुनामी हुनुअघि 
र निर्धाहरू सुकुम्बासी बन्नुअघि
मेरो सौन्दर्य होइन मभित्रको ज्वाला लेख
मेरो मौनता होइन म दुखेको गीत लेख
मेरो सुस्केरा होइन म रोएको साँझ लेख
मेरो सभ्यता होइन समुद्र पुग्ने मेरो सपना लेख
र, सुनाऊ मलाई चिथोर्ने बहुराष्ट्रिय कम्पनीका टाइहरूलाई
विद्रोह गर्न मलाई पनि आउँछ।

-असिम सागर

तर, यसको आँकलन गरेका छन् काली बचाउ अभियानमा लागेका युवाहरूले। काली बचाउन जोडतोडले लागिपरेका युवामध्ये एक हुन् आर. के अदिप्त गिरी र उनका साथीहरू।

'कालीगण्डकी गैरकानुनी दोहन हामीलाई स्वीकार्य छैन। नदी कसैको निजी सम्पत्ति होइन। यो राज्यले सुरक्षित गर्नुपर्ने प्राकृतिक सम्पत्ति हो', गिरी सुनाउँछन्, 'शासक केही करोडको लोभमा नदीमाथि भएको अतिक्रमणमा मौन छ। ऊ निद्र‍ामा छ। हामीले शासकलाई झकझक्याउने कोसिस गरिरहेका छौं।'

नदीमाथिको जथाभावी दोहन केबल नदीमाथिको दोहन मात्र होइन विभिन्न कालखण्डको अवशेष र  मानव सभ्यतामाथिकै आक्रमण पनि हो।

'नदीले संकट भोगिरहेको छ। उसले सन्ताप र संवेदना मौनताको भाषामा बोलिरहेको छ। प्रकृतिको मौन आवाज अहिले जसरी आइरहेको छ। यो पक्कै हाम्रा लागि सुखानुभूति हुने खालको छैन', गिरी बिरक्तिएको आवाज निकाल्छन्, 'चौक्कर र गिट्टीका भाउमा कालीको सम्पदा लुटिएको छ। वर्षौदेखि लुटिरहेका तस्कर र दलालहरूले कालीमाथिको दोहन व्यापक बनाइरहेका छन्। उनीहरू कालीलाई मास्‍न चाहन्छन्।'

पारिस्थितिक प्रणाली सन्तुलनमा राख्‍न कालीको जलाधार क्षेत्र, प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई बचाउन अब भने आफूहरूको दायित्व रहेको गिरी सुनाउँछन्।

तिमी बूढो हुन्छौ
म बगिरहन्छु निरन्तर
तिम्रो मृत्युमा म दु:खी हुन्छु
जसरी तिम्रा पुर्खाको मृत्युमा थिएँ
तिमी अजम्बरी त होइनौ नि
तिम्रो, मात्र एक जीवन
अनि म तिम्रा हजारौं पुर्खाको साथी
र, पनि किन गर्छौ तिमी ममाथि राजनीति?

- डा. केशव चालिसे

काली बचाउन कविता आन्दोलन

काली बचाउन अहिले सामाजिक सञ्‍जालमा कविता आन्दोलन पनि चलिरहेको छ। देशभरका कविले नदीमाथिको अतिक्रमणलाई रोक्न कवितामार्फत आवाज बुलन्द पारेका छन्। नदीमाथिको भौतिक आक्रमणलाई रोक्न आफूहरूले रचनात्मक विद्रोह गरेको गिरी सुनाउँछन्।

'कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको संगालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले', उनी भन्छन्।

समयको प्रवाहमा इतिहासका राजनितिक तथा सामाजिक परिवर्तनमा लेखक अगाडि रहेको कुरा महत्वपूर्ण रहेको भन्दै उनी साहित्यमार्फत विद्रोहको स्वर थप मजबुत बनाउन खोजिएको सुनाउँछन्।

देशको परिवर्तनमा साहित्यको महत्वबारे उनी थप बोल्छन्, 'देशमा परेको संकटमा कवि लेखकले रचनात्मक विद्रोह गरेका छन्। परिवर्तनमा सिर्जनाको ठूलो शक्ति छ। अहिले कालीमाथि भइरहेको अवैध दोहनमा पनि कवि लेखकहरूले जुन खालको ऐक्यबद्धता जनाउनुभएको छ। यसले महत्वपूर्ण भूमिका खेल्छ। यो सिर्जनात्मक खबरदारी आजको आवश्यकता हो।'

कसले सम्झाइदिने होला
समृद्धिको भ्रम मात्र बोकेर हिँडेका तिनीहरूलाई
कसले ब्युँझाइदिने होला
कुरूप स्वार्थको अँध्यारोमा फसेका तिनीहरूलाई !
र कसले बुझाइदिने होला
नदीबाट बालुवा र ढुंगा चोइट्याउँदै लगिरहेका तिनीहरूलाई
नदी जिउँदो रहेपछि मात्र
जिउँदो रहन्छ सभ्यता र सम्भावना
नदी अग्लो रहेपछि मात्र
अग्लिँदै जान्छ मान्छेको प्रगति र मनोकामना
नदी बाँकी रह्यो भने मात्र रहन्छ मान्छे यो धरामा ।

-भीष्म उप्रेती

दोहनले घट्दै इतिहास र महत्व 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेको बताउँछन् गिरी।

पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो। यससँग लाखौँ मानिसको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।

तर, अब यसको इतिहास र महत्व दोहनका कारण  घट्दै गएको छ। दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रसिद्ध शालीग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत भएका छन्। 'नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने संकट कल्पना बाहिरको छ', गिरी भवितव्य घटनाबारे विस्मित स्वरमा बोल्छन्।

कालीगण्डकी नदीको विविधतालाई आम मानिसबीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह संकटको अन्त्यका लागि आफूहरूले लडाइँ सुरु गरेको गिरी प्रस्ट्याउँछन्।

किनारा साँक्षी छ
मान्छेको अन्त्य मृत्युजस्तै
नदीको पनि आफ्नै अन्त्य होला
तर, कहाँ गएर
थकाइ मार्छन् होला नदीहरू ?
खै देश बोक्ने भरियाको जस्तो!
चौतारो छ कि छैन नदीहरूको?

नदीको जात छ कि छैन?
नदीको धर्म छ कि छैन?
थाहा छैन
तर,
अधर्मी छैनन् नदीहरू।

-बाबु त्रिपाठी

काली दोहनका नाइकेको धम्की

पर्वतमै हुर्के बढेका गिरी काली नदीसँगै लुकामारी गरेर हुर्किएका हुन्। बचपनमा देखेको काली र अहिलेको काली हेर्छन्। आकाश पाताल फरक पाएका छन्। कुनै बेला सहजै पाइने शालीग्राम अब इतिहास बनेको छ।

नदीले आफ्नो बाटो पनि मान्छेले बनाएको बाटोमा हिँड्नुपरेको कुरा सह्‍य छैन गिरीलाई। नदीको स्वरूप पहिलेकै अवस्थामा ल्याउन चाहान्छन् उनी। प्रकृतिको स्वाधीनतामा रमाउने गिरी कवितामार्फत आफ्ना अभिव्यक्ति दिइरहेका  पनि हुन्छन्।

उनको उपमामा फोटोग्राफर जोडिन्छ। जो प्रकृतिलाई आफ्नो क्यामेरामा कैद गरेर विश्वमाझ पुर्‍याएका छन्। जब-जब कालीको कहालीलाग्दो दृश्य देख्छन्, निराश हुन्छन्। उनलाई रिस उठ्छ हामीलाई शासन गरिरहेका शासक देखेर।

प्रकृतिलाई दुरुपयोग गरेर हामी कहीँ पुगिँदैन भन्ने कुरा उनले बुझेका छन्। तर, शासकले यो कुरा कहिले बुझ्छ होला? उनी बेचैन हुन्छन्। आफूभित्रको प्रकृतिप्रेम नै 'काली बचाउ अभियान'मा रिफ्लेक्ट भएको सुनाउँछन्।

'यो केबल एक व्यक्तिसँग लडाइँ होइन। यसमा जिम्मेवार निकाय छन्। शक्ति प्राप्त तस्करहरू छन्। उनीहरूसँग नदीको अधिकार सुनिश्चितताको लडाइँ हो। यो पक्कै सहज काम होइन', उनी पर्वतारोही निर्मल पुर्जाको अन्दाजमा बोल्छन्, 'बट, मिसन: ईमपोशिवल।'

नदी बचाउ अभियानमा लागेपछि उनलाई धम्की आउने गरेको छ। कतिले आर्थिक लाभमा फसाउन खोजिरहेका छन्। कतिपयले भावनात्मक धम्की पनि दिएको उनले सुनाए।

'निर्वाध दोहन चलिरहेको छ। कुरूप दृश्यविरुद्ध जब आवाज बुलन्द हुन्छ. तब धम्की आउनु स्वाभाविक हो। समाज राम्रो र नराम्रो दुवै जालोमा बुनिएको जो छ। हामी कहाँनेर उभिने भन्ने मुख्य कुरा हो', उनी भन्छन्।

नदी उत्खनन गर्नै नहुने भन्ने कुरा पनि  होइन। उनी आफूलाई विकास विरोधीका रूपमा अर्थ्याउन चाहँदैनन्। नदीको प्रयोग कसरी गर्ने भन्नेबारे हामीहरू सचेत हुन नसकेको उनी बताउँछन्।

'पूर्वाधारको विकास र हाम्रा प्राकृतिक स्रोत र साधनलाई कसरी उपयोग गर्ने भन्ने मुख्य कुरा हो। ढुंगाखानीको पहिचान गर्ने, नीति नियममा बसेर नदीको उपयोग गर्ने पो हो। खनिज भन्ने कुरा सजिलै पर्यावरणलाई बिगार्ने हिसाबले दोहन गर्ने कुरा होइन। नदीबाट बिना कुनै रोकतोक निष्फिक्री नदीजन्य पदार्थ निकाल्ने विषय नै गलत हो', उनी भन्छन्, 'बालुवा, ढुंगा नदीका अंग हुन्। मान्नुस् हामीले हाम्रो शरीरका कुनै अंग निकाल्यौँ भने हाम्रो शरीरको कुन हविगत होला। नदीको मौनतालाई बेवास्ता गरेर हामीले हाम्रा लागि मात्र सोचेर खास केही उपलब्धि हुँदैन।' 

कालीलाई निश्चित ठाउँमा ड्याम बनाएर निश्चित ठाउँमा बालुवा वा ढुंगा उत्खनन गर्ने कार्य सुहाउँदो हुने उनले सुनाए। जीवनको आरोह र अवरोह जसरी चल्छ, कालीलाई पनि आफ्नो लयमा बग्न देऊ भन्ने मुख्य कुरा हो। उनी आफ्नो एजेण्डामा स्पष्ट छन्, काली नदी हिजो जस्तो थियो। आज त्यस्तै हुनुपर्छ र भोलिको पुस्तालाई जस्ता त्यस्तै हस्तान्तरण गर्नुपर्छ भन्ने नै हाम्रो मान्यता हो।'

तमाम आक्रमणको चपेटामा परेर
अपहृत भएको छ कालीगण्डकीको लय
भाँचिँदो छ उसको प्राकृतिक मेरुदण्ड
मासिँदो छ त्यो अपार वैभवको खजाना
लुटिँदो छ उसको छातीको सहस्र–धारा
अतिक्रमित छ उसको अस्मिता
मडारिरहेछ उसमाथिको आकाश– भयंकर मुद्रामा!

कालीगण्डकी
जीवनबाहिनी नसा हो– राष्ट्रको
शिरा हो– राष्ट्रिय सभ्यताको
जो मासियो भने
मर्छ धरतीमा एक जीवन
कोमामा सुत्छ सभ्यता।

- राजेन्द्र तारकिणी

तस्वीर : आर. के अदिप्त गिरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.