|

काठमाडौं : प्रशिक्षक पुवुदु दसानायकेले आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि क्यान र खेलाडीको विवादका कारण प्रशिक्षण प्रभावित हुने जोखिम बढेको छ।

दसानायके काठमाडौं आइपुगेसँगै बन्द प्रशिक्षण सुरु हुन लागेको छ र त्यसका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाइए पनि कारबाहीमा परेका चारसहित अन्य १० खेलाडी होटलको रिपोर्टिङ टाइममा उपस्थित नभएको जनाइएको छ।

क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल,  उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारबाही गर्दै मल्ल र ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट विमुख गरिएको थियो।

उनीहरूलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो। त्यसयता खेलाडी र क्यानबीचको विवाद सतहमा देखिएको थियो। जसले गर्दा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि धेरै खेलाडी सम्पर्कमा नआएकाले क्यानले बन्द प्रशिक्षण कसरी अगाडि बढाउने विषयमा छलफल गरिरहेको छ।

कप्तान सन्दीप भने हाल बिग बास लिगका लागि अष्ट्रेलियामा रहेका छन्। क्यानले आसन्न टी २० विश्वकप छनोटको तयारीका लागि पहिलो चरणमा ३० खेलाडी बोलाएको हो ।

होटल रिर्पोटिङ नगर्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरी, विनोद भण्डारी, सुशन भारी,  करण केसी,  विक्रम शोब, सन्दीप जोरा, नन्दन यादव,  रोहित कुमार पौडेल, कुशल भुर्तेल, कुशल मल्ल र अभिनास बोहरा रहको जनाइएको छ। 

क्यानले क्याम्पमा बोलाएका ३० खेलाडी

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आशिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दिप जोरा, अभिनाश बोहोरा, सुसन भारी, पवन सर्राफ, विक्रम शोब, भिम शार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश मुलामी, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह छन्। 

छनोट अन्तरगत नेपाल रहेको समूह ए का खेलहरु आगामी फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा हुने कार्यतालिका रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.