|

दाङ : केही दिनअघि भएको वर्षाका कारण दाङमा करिब डेढ करोड रूपैयाँ बराबरको काँचो इँटामा क्षति भएको छ।

करिब एक महिनादेखि बनाएर भट्टीमा पोल्न तयार पारिएका  काँचो इँटा मंगलबार र बुधबार परेको पानीले क्षति गरेको इँटा उद्योग सञ्चालकहरूले बताएका छन्।

दुई दिनसम्म परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको दाङ देउखुरी इँटा व्यवसायी समिति सहसचिव तेसीराज पोख्रेलले बताए। पोख्रेलका अनुसार एउटा काँचो इँटा तयार गर्न करिब सात रुपैयाँ पर्दछ।

‘यति धेरै इँटा कामै नलाग्ने गरी क्षति भएको छ‚’ उनले भने, ‘हामीले वर्षाका कारण बर्सेनि नोक्सानी भोग्दै आएका छौँ। तयार भएर पोल्ने बेला पानी आएर बरबाद बनाइदियो। ’ 

दाङमा ४२ वटा इँटा उद्योग छन्। जसमध्ये तुलसीपुर उपमहानगरपालिकामा १५ वटा, घोराही उपमहानगरपालिकामा १५ वटा र देउखुरी क्षेत्रमा १२ वटा रहेको छन्। तीमध्ये ३३ वटा उद्योगमा क्षति भएको हो। अहिले इँटा उत्पादनको सिजन चलेकाले हरेक उद्योगमा दैनिक लाखौँ इँटा उत्पादन हुने सहसचिव पोख्रेलले बताए।

पोख्रेलका अनुसार एक उद्योगमा करिव २०० जनाभन्दा बढी कामदारले काम गर्दै आएका छन्। यति ठूलो जनशक्तिले काम गर्ने उद्योगको काँचो इँटाको सरकारले बिमा नगरी दिँदा आफूहरूले बर्सेनि नोक्सानी व्यहोर्दै आएको उनको गुनासो छ।

नष्ट भएका इँटाको क्षतिपूर्ति सरकारले नदिने भएपछि व्यवसायीहरूले आर्थिक भारलाई पर्ने भएकाले समितिले निर्णय गरेको मूल्यमा बिक्री गर्न नसकिने समेत बताए। अहिले एक नम्बर इँटाको मूल्य प्रतिगोटा १४ रुपैयाँ रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.