|

सल्यान : सल्यानमा वर्षेनि महको उत्पादन घट्दै गएको छ। मौरीको गोला बढ्दै गए पनि मौसम परिवर्तन र चरनको अभावका कारण वर्षेनि महको उत्पादन घट्दै गएको हो।

विगतमा ८ क्विन्टलसम्म मह बेचेका कालिमाटी गाउँपालिका–२ झिगानेका लोकेन्द्र वलीले यो वर्ष मुस्किलले १ क्विन्टल मात्र मह उत्पादन भएको बताए। मौरीको गोला बढे पनि मह उत्पादन वर्षेनि घट्दै गएको उनको भनाइ छ।

उनले भने, ‘पहिलेको भन्दा मौरीको गोला पनि बढाएका छौं तर मह भने घटिरहेको छ।’

गत वर्ष ३ क्विन्टल मुस्किलले मह उत्पादन भएको थियो तर यो वर्ष १ क्विन्टल किलोमा सीमित हुनुपरेको बताए।

२ सय घारमा रहेको मौरीको महबाट मात्रै १५ लाखभन्दा बढी आम्दानी गरेका वलीले यो वर्ष भने पचास हजार रुपैयाँ पनि नभएको बताए।

झिगानेकै नेत्र वली पनि गत वर्ष तीन क्विन्टल मह उत्पादन गरेका थिए। यो वर्ष भने ७० किलो मात्रै मह उत्पादन भएको बताए।

च्युरी फुल्ने मौसममा लगातार वर्षा हुँदा यो वर्ष मह उत्पादनमा भारी गिरावट आएको अर्का किसान उमेश कँडेलले बताए।

६० घारबाट विगतमा ३ क्विन्टलसम्म उत्पादन गर्ने गरेको भए पनि यो वर्ष भने ३५ किलो मात्र उत्पादन भएको बताए। उनले भने, ‘यहाँ मौरीको मुख्य चरन भनेको च्युरी हो। च्युरी फुल्ने समयमा लगातार पानी पर्दा मौरी चर्न नपाउँदा उत्पादनै भएन।’

सल्यान मौरीपालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर विगतको तुलनामा मह उत्पादन घट्दै गएको छ।

मौरीपालनबाट जीवनयापन गर्दै आएका यहाँका किसान उत्पादन घटेसँगै समस्यामा परेका छन्।

मौरीपालनमा लगानी बढाउँदै लगे पनि मह भने वर्षेनि घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

गत वर्ष कालिमाटी क्षेत्रमा जंगलमा झुसिल किराको प्रकोप र यो वर्ष लगातारको वर्षाका कारण मह उत्पादन घटेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए।

कार्यालयका अनुसार जिल्लामा २ हजार ३७० मौरी घार रहेका छन्। गत आर्थिक वर्ष १२ दशमलव १ मेट्रिक टन मह उत्पादन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.