१३ जना घाइते, सबैभन्दा बढी घटना काठमाडौंमा

|

काठमाडौं : ०७५ साउन ११ गते रुपन्देही तिलोत्तमा नगरपालिका-५ मणिग्रामका ठाउँको यु–इन्भारोमेन्ट बोर्डिङ्ग स्कुल मणिग्राममा कक्षा १० मा अध्ययनरत १६ वर्षीय कविता थापा आफ्नै घरको बाथरुममा एक्कासी बेहोस अवस्थामा भेटिइन्।

उनकी बहिनी र स्थानीयले उपचारका लागि क्रिमसन अस्पताल मणिग्राममा लगे तर उपचारका क्रममा उनको मृत्यु भयो। 

०७६ पुस ५ गते सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–९ स्थित केतु बोर्डिङ स्कुलमा पढाइरहेकी २५ वर्षीय सिनोरा गुरुङ नुहाउन गएका वेला बाथरुममा बेहोस फेला परिन्।

भारतको दार्जिलिङ घर भएकी गुरुङको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो।

०७८ पुस १४ गते साँझ बाँके जिल्ला नेपालगन्ज उपहानगरपालिका–१० स्थित भेरी अस्पतालमा कार्यरत सहयोगी धनप्रसाद भट्टराईको ७ जनाको परिवार सोही अस्पतालको भण्डारकक्षमा सुतिरहेका थिए। सुतेका ७ जनामध्ये ४ जना मृत र ३ जना बेहोस स्थितिमा भेटिए। 

मृत्यु हुनेमा कालिकोट तिल्लिखाँडा नगरपालिका–६ का अस्पतालकै स्टोर रुममा कार्यरत २४ वर्षका धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, उनकी आमा ४५ वर्षीया कोपिला भट्टराई र उनका आफन्त ४० वर्षकी नन्दकली भट्टराई थिए।

प्रहरीले कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण कोठामा अक्सिजनको कमी भएर घटना घटेको अनुमान गरेको छ। 

यी केही प्रतिनिधि घटना मात्रै हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार यसरी हिटर वा कोइला वा आगो बालेर सुत्दा निस्सासिएर १२ वर्षमा २५ जनाको ज्यान गएको छ।

आगोले जलेर ३ जनाको मृत्यु भएको छ। ०६७ सालदेखि ०७८ पुससम्ममा यस्ता घटनामा १३ जना घाइते भएका छन्।

कुन वर्ष कस्ता घटना घटे ?

प्रहरी प्रधान कार्यालयको तथ्यांकमा ०६७ पुस ६ गते काभ्रे पाँचखाल घर भएका वर्ष २० की समानता अधिकारी ललितपुरस्थित डेराको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा अशक्त अवस्थामा फेला परिन्।

तर उपचारको क्रमको उनको मृत्यु भयो।

०७२ साल इलाममा क्रियापुत्री कुर्न बसिरहेका श्रीअन्तु-६ का लमन तामाङ, साेही ठाउँका वर्ष १८ का नितेन मगर र पशुपतिनगर-२ बस्ने वर्ष ४५ को फुर्वा लामासहित ३ जना कोठाभित्र हिटर बालेर सुतेका थिए।

उनीहरु बेहोस भए र उपचारका क्रममा तीनै जनाको मृत्यु भयो। 

०७३ सालमा भक्तपुरको मध्यपुर ठिमीस्थित लोकन्थलीका २९ वर्षीय मुकेश भण्डारीले आफ्नै घरको तेस्रो तलामा रहेको बाथरुममा ग्यास गिजरबाट नुहाउने क्रममा बाथरुममा बेहोस भई लडिरहेका भेटिएका थिए।

उनको पनि मीनभवनस्थित निजामती अस्पतालमा उपचारकै बेला मृत्यु भयो।

अन्यत्रभन्दा बढि घटना काठमाडौंमा

प्रहरीको तथ्यांक हेर्ने हो भने निसास्सिएका घटना अन्यत्रभन्दा काठमाडौंमा बढी भएको देखिन्छ।

ही वर्ष माघ ९ गते काठमाडौंको सामाखुसी टाउन प्लानिङमा वर्ष ३२ की सुमिता सराफ नुहाउने क्रममा बाथरुमभित्र ग्यास गिजर पड्किँदा घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, ०७६ पुस १९ गते ललितपुर सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टलमा पर्साका १९ वर्षीय जोनित चौहान बाथरुममा गिजर चलाएर नुहाउने क्रममा अचानक बेहोश अवस्थामा भेटिएकी थिइन्।

उनको पनि पाटन अस्पतालमा उपचार गर्दैगर्दा मृत्यु भयो।

०७६ पुस २२ गते काठमाडौं महानगरपालिका–३१ मिलनचोकस्थित रुबिज गर्ल्स होस्टलमा ताप्लेजुङकी २१ वर्षीया शोशिका शेर्पा बाथरुममा नुहाउन भनी गएकोमा बेहोस भेटिइन्।

उनको पनि उपचारकै क्रममा सिभिल अस्पतालमा मृत्यु भयो।

०७६ मा मकवानपुरमा भारतका ८ जना, सोही साल डडेल्धुरा पर्शुराम नगरपालिकामा ३ का आगोको धुवाँले निस्सासिएर ८० वर्षकी मानमती देवी ऐर र उनका छोरा तुलाराम ऐरको मृत्यु भयो।

त्यस्तै, ०७८ पुस १ गते जुम्लामा डेरा गरी बस्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्टाफ नर्स २६ वर्षीया अनुपमा श्रेष्ठ कोठाको बाथरुममा नुहाउने क्रममा अचेत अवस्थामा भेटिइन।

बाँकेकी उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। 

प्रहरीका अनुसार ०६९, ०७० र ०७१ सालमा भने यस्ता घटना घटेका छैनन्।

धेरैजसो बाथरुममै हुन्छन् बेहोस

बढी जाडो हुने समय मंसिर–माघ हो। यही समयमा त्यस्ता घटना हुने गरेका छन्।

यही वेला अधिकांशले कोठा न्यानो बनाउन कोइला वा हिटर बालेर सुत्ने गर्छन्।

भेरी अस्पतालका चिकित्सक डा. प्रकाश थापा कोइला बालेर कोठा तताउँदा र ढोका थुनेर सुत्दा कोठामा कार्बनमोनोअक्साइड भरिएर असर गर्ने बताउँछन्।

उनका अनुसार चिसो मौसममा धेरैले झ्यालढोका बन्द गरी कोठा न्यानो बनाउन हिटर, कोइला बालेर बस्छन्।

यस्तो बेला हावा खेल्न नपाएर शरीरमा अक्सिजन कमी हुन गएर निसास्सिएर मानिसको ज्यान जान्छ। 

उनी भन्छन्, ‘आगो ताप्न बालिने हिटर, कोइला जल्ने क्रममा धेरै कार्बनमोनोअक्साइड निस्कन्छ, यस्तो वेला झ्यालढोका बन्द गर्दा मानिसलाई अक्सिजन पुग्दैन, कार्बनमोनोअक्साइडले गर्दा बिस्तारै मानिस बेहोस हुन्छ, समयमा उपचार पाएन भने मृत्युसमेत हुन्छ।’ 

उनले निस्सासिएका व्यक्ति ढिलो छिटो मर्नुको कारण रहेको पनि बताए।

‘झ्यालढोका बन्द गरेर हिटर, कोइला ताप्दा कोही तापेर बस्ने कोही बालेर कोठा न्यानो बनाएर सुत्ने गर्दा छिटो सुत्नेको मृत्यु हुने र ढिलो सुत्ने बेहोस अवस्थामा भेटिन्छन्,’ डा थापाले भने।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले पनि झ्यालढोका बन्द गरेर सुत्दा अक्सिजन अभावले निसास्सिएर यस्ता दुर्घटना हुने बताउँछन्।

यसो गरौं दुर्घटनाबाट जोगिन

उनका अनुसार हिटर, कोइला बालेर आगो ताप्दा सकेसम्म खुला हावा खेल्ने ठाउँमा ताप्नुपर्छ।

घरभित्र ताप्ने हो भने झ्यालढोका खोलेर हावा खेल्न दिनुपर्छ।

उनले भने, ‘आगो तापिसकेपछि त्यसलाई पूरै निभाउने र सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गरेर झ्याल खोलेर मात्र सुत्नुपर्छ, तब मात्र ज्यान जोगिन्छ।’ 

उनका अनुसार आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै राख्नु हुँदैन।

गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नुपर्ने उनले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जाडोको समयमा विशेष सावधानी अपाउन अपिल गरेको छ।

सुत्नुअघि कोइला, हिटर बन्द गरेरमात्र सुत्न मन्त्रालयले सबैसँग आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.