प्रचण्ड परिवारका तीन सदस्य, पूर्वसभामुख‚ मन्त्री‚ पूर्वमन्त्रीलाई पनि आरक्षण

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। खुलातर्फ १११ जना निर्वाचित भएका छन्। बाँकी खस-आर्य‚ आदिवासी जनजाति‚ मधेसी‚ थारू‚ दलित‚ अपांग‚ मुस्लिम आरक्षण कोटाअन्तर्गत विजयी भएका छन्।

तर‚ आरक्षण कोटामा यसअघि राज्यको उपल्लो तहमा रहेका‚ रहिसकेका‚ पार्टीका शक्तिशाली नेताका आफन्तहरू निर्वाचित भएका छन्। आरक्षण राजनीतिमा सजिलै पहुँच नपुगेका लागि भनी छुट्याइएको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल‚ भाइ नारायण दाहाल र बुहारी बिना मगर आरक्षण कोटाबाट केन्द्रीय समितिमा निर्वाचित भएका छन्। रेणु र नारायण खस-आर्य कोटाबाट निर्वाचित भएका हुन् भने बिना आदिवासी जनजाति कोटाबाट निर्वाचित भएकी हुन्।

यस्तै‚ पूर्वसभामुख ओनसरी घर्ती आदिवासी जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनी माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी श्रीमती हुन्।

पूर्वमन्त्री शक्ति बस्नेतकी श्रीमती सत्या पहाडी खस-आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्मा पनि खस-आर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकी श्रीमती ताराकुमारी घर्ती आदिवासी जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। यस्तै‚ पटकपटक मन्त्री रहिसकेका लीलामणि पोखरेलकी श्रीमती तथा भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेकी छन्।

पूर्वआपूर्तिमन्त्री गणेशमान पुनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। यस्तै‚ पूर्वविज्ञान प्रविधिमन्त्री कल्पना धमला खस-आर्य महिलाबाट केन्द्रीय समितिमा अटाएकी हुन्।

प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारू युवा कोटाबाट केन्द्रीय सदस्य भएका छन्। उनी २०७४ सालको प्रतिनिधसभामा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। यस्तै‚ लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारकल्याणमन्त्री इन्द्रजित थारु पनि थारू कोटाबाट केन्द्रीय सदस्य भएका छन्।

यस्तै‚ आदिवासी जनजाति युवा कोटाबाट प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बो केन्द्रीय सदस्य भएका छन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान आदिवासी जनजाति महिला कोटाबाट केन्द्रीय समितिमा समावेश भएकी छन्।

पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईं खस-आर्य महिला कोटाबाट केन्द्रीय सदस्य भएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.