|
फाइल तस्बिर

काठमाडौं :  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचयपत्र सहज बनेको छ।

परिचयपत्र बनाउनेको भीड बढेसँगै व्यवस्थापनका लागि कर्मचारी, केन्द्र थपेसँगै जिप्रका काठमाडौंको भीड घटेको हो।

मंसिर १ देखि सरकारले ई-पासपोर्ट जारी गर्‍यो। यसका लागि परिचयपत्र नम्बर अनिवार्य गरिएको थियो।

पासपोर्ट बनाउने अधिकांश मानिसले परिचयपत्र बनाउँदा भीड एकै पटक बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

एकै पटक परिचय पत्र बनाउनेको भीड बढेसँगै राष्ट्रिय पञ्जीकरण विभागले अत्यावश्यक पर्नेले मात्र तत्काल परिचयपत्र बनाउनु अनावश्यक भीड नगर्नु भन्दै सूचना समेत निकालेको थियो। 

जिल्ला प्रशासन कार्यालयमा केही दिन कामको अत्यधिक बोझ थपिएपछि हाल केन्द्र थपेर सेवा दिइरहेको छ।

सेवाग्राहीलाई सहज बनाउनका लागि  जिल्ला प्रशासन कार्यालयले थप योजना अघि बढाएको काठमाडौैका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजालले जानकारी दिए।

सेवा सहज बनाउन विभिन्न चरणमा काम भइरहेको सिडिओ रिजालले बताए।

जिप्रकाले ४ वटा केन्द्रबाट काम गरिरहेको थियो। हाल ४ वटा केन्द्र र ४ जना कर्मचारी थपेर परिचयपत्र बनाइरहेको छ।

सुरुवातमा दैनिक १ सय ५० टोकन वितरण गरेको प्रशासनले हाल दैनिक ३ सय टोकन वितरण गरिरहेको जिल्ला प्रशासनले जनाएको छ। 

'पहिलाको तुलनामा केही सहज भएको छ,' सिडिओ रिजालले भने, ‘टोकन लिन सेवाग्राही रातिदेखि लाइनमा बस्नुपर्ने अवस्था थियो। त्यो समस्या क्रमशः सुधार गर्दै  गएका छौं।’

पहिलो चरणमा आफूले गर्नसक्ने सुधारका काम गरिरहेका उनले बताए।

प्रमुखले भने, ‘अब काठमाडौं जिल्लाका स्थानीय तहसँगको सहकार्यमा पालिकाबाटै परिचयपत्र वितरण गर्न छलफल गरिरहेका छौं।’ 

परिचयपत्र सहज तवरबाट वितरण गर्न पञ्जीकरण विभागले केन्द्र थप गरिरहेको छ।

अन्य जिल्लामा स्थानीय तहमार्फत काम भइरहेको विभागका सूचना अधिकारी युवराज कटेलले जानकारी दिए।

विभागका अनुसार ललितपुरमा ५ वटा केन्द्र छन्। काठमाडौंमा ८ वटा छन्, जिल्ला प्रशासनमा ठाउँ अभाव भएकाले केन्द्र थप्ने लागिएको हो।

काठमाडौं महानगरको सहकार्यमा १५ वटा केन्द्र थप्ने तयारी भएको कटेलले जानकारी दिए।

त्यसैगरी, राहदानी विभाग लैनचौरबाट पनि सेवा दिइरहेको विभागले जनाएको छ। 

सरकारले राष्ट्रिय परिचयपत्र बनाउन गत वर्ष नै सूचना जारी गरेको थियो।

मेसिन रिडेबल पासपोर्टका लागि परिचयपत्र अनिवार्य थिएन, ई-पासपोर्टका लागि अनिवार्य गरेको छ।

परिचयपत्रमा १० औँठाछाप अंकित गरी व्यक्तिको पहिचान समेटिएको हुन्छ। ​चिपसहितको कार्ड प्रिन्ट हुने यसमा व्यक्तिको विवरण समेटिन्छ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पूर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट नहुने पञ्जीकरण विभागले जनाएको छ। 

परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ।

कुनै पनि व्यक्तिको जन्मदेखिकै राष्ट्रिय परिचयपत्रलाई अनलाइन प्रणालीमा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।​

 

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.