याेजनाका लागि प्रदेश सरकार गुहार्दै कैलाश

|

हेटौंडा : एक अधबैँशे पुरुष सोमबार बागमती प्रदेशको सामाजिक विकासमन्त्रीको सचिवालयबाट मलिनो अनुहार लिएर निस्किँदै थिए।

उनको मलिनो अनुहार देखेर सामाजिक विकासमन्त्रीको स्वकीय सचिवले के पीर पर्‍यो?  भनेर सोधे।

रसाएका आँखा र राताम्मे बनेको उनको अनुहारले केही राहत मिलेको अनुभूति महशुश गरेको आभाष भयो।

आफू रामेछापबाट खानेपानीको योजना लैजान हेटौंडा आएको ती पुरुषले सुनाए।

आइतबार करिब १६ घण्टाको यात्रा गरेर रामेछापको उमाकुण्ड गाउँपालिका–४ बाट कैलाश दर्जी आफ्नो दमाई बस्तीमा खानेपानीको योजना लैजान हेटौंडा आइपुगेका थिए।

सिलाईकटाई गरेर दैनिकी चलाउने उनी गाउँमा खानेपानी लैजान रामेछापको सबैभन्दा टाढा र विकट गाउँपालिकाबाट तेस्रोपटक प्रदेशको राजधानी आइपुगेका हुन्।

सुरुमै उनले प्रदेशको राजधानीमा एक रात बस्नै आफूलाई समस्या भएको गुनासो गरे। ‘प्रदेशको राजधानीमा त होटलहरू पनि कति महँगा रहेछन्।'

'हामीजस्तो गरिब मान्छे आएर बस्न गाह्रो रहेछ हजुर’, मलिन मुहारमा उनले भने, ‘यति भएपछि गाउँमा खानेपानी लैजान पाएको भए त ढुक्क हुन्थेँ। तर, मैले गाउँमा खानेपानी पनि लैजान नसक्ने भएँ, थाकिसकेँ अब।’

दर्जीले अब खानेपानीको योजना माग्दै हेटौंडा आउन नसक्ने सुनाए।

२ वर्षदेखि दर्जीले गाउँमा खानेपानी लैजान हरेक प्रयास गरे। उनको प्रयास भने अहिलेसम्म सफल हुन सकेको छैन।

गाउँमा खानेपानी नपुगेकाले आफूहरु खोलाको गेगरपानी खान बाध्य भएको उनले सुनाए।

‘हाम्रो गाउँमा अहिलेसम्म खानेपानी पुगेको छैन। खोलाको गेगर मिसिएको पहेँलो पानी खान बाध्य छौं’, उनले भने।

कैलाशका अनुसार दमाई बस्तीका अधिकांश राजनीतिक रुपमा नेकपा माओवादी केन्द्रसँग नजिक छन्।

गाउँपालिका अध्यक्षमा एमालेले जितेकाले पालिकासँगै जोडिएको बस्तीमा खानेपानीको चरम अभाव छ।

फरक पार्टीमा आस्था राखेकैले गाउँपालिका अध्यक्षले खानेपानीको योजना नहालेको दर्जीले सुनाए।

आफूले बागमती प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई समेत भेटेर गाउँमा खानेपानी योजना दिन हारगुहार गरे पनि सुनुवाइ नभएको उनले सुनाए।

गाउँपालिकाका अध्यक्षको गाउँ र दमाई बस्ती वारीपारी रहे पनि दमाई बस्तीमा खानेपानीसँगै सिँचाइको अभावमा खेतीपाती गर्न पनि समस्या रहेको दर्जीले सुनाए।

फरक राजनीतिक आस्थाका कारण पानी खान नपाएका दमाई बस्तीका स्थानीयलाई गठबन्धन सरकार आएपछि पनि सहज भने भएको छैन।

प्रदेशसभामा बोल्ने क्रममा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले रामेछापको दमाई बस्तीले एमाले नभएकै कारण पानी खान नपाएको बताएका थिए।

अहिले उनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेपछि गाउँमा खानेपानी पुग्ने आशले दर्जी दुईपटक हेटौंडा आइसके।

पहिलोपटक भेट्दा जम्कट्टेलले गाउँपालिकाबाट अनुमानित बजेटसहितको पत्र लिएर आउन भनेका थिए।

गाउँपालिकाले अध्ययन नै नगरी उनलाई ४५ लाख ५८ हजारको इस्टमेटसहितको पत्र थमाइदियो।

मन्त्रीले अध्ययन गर्न खानेपानीबाट टोली खटाउँदा उक्त बस्तीमा खानेपानी पुर्‍याउन १ करोड १४ लाख खर्च लाग्ने भनेको छ।

पहिले अनुमान गरिएभन्दा खर्च बढ्ने भएपछि मन्त्री जम्कट्टेलले अहिले गाउँमा खानेपानी लैजान नसक्ने बताएका छन्।

मन्त्रीको उक्त कुरा सुनेपछि खानेपानीको योजना लैजाने सपना बोकेर रामेछापबाट हेटौंडा आएका दर्जी पुनः एकपटक निराश बनेर फर्किएका छन्।

‘गाउँपालिकाले पहिले अध्ययन गरिदिएन। मन्त्रीज्यूले अध्ययन गर्न पठाएकाहरूले पनि मलाई धेरै दुखः दिए। उनीहरूलाई त्यो अध्ययन गराउन खान बस्न सबै आफ्नो व्यक्तिगत खर्च गर्नु पर्‍याे। अहिले आएर गाउँमा पानी नपुग्ने भयो। जसरी पनि पानी लिएर आउँछु भन्दै आएको थिएँ, अब कुन मुख लिएर फर्किनु?’ उनले प्रश्न गरे।

उसो त, उनलाई दमाई बस्तीमा खानेपानी लैजान पार्टी परिवर्तन गर्नुपर्ने भन्दै प्रस्ताव पनि नआएको होइन।

रामेछापबाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बनेका शान्त पौडेलले समाजवादीमा प्रवेश गरेमात्र गाउँमा सिँचाइ पुर्‍याउने बताएको उनले सुनाए।

‘मैले बस्तीमा सिँचाइ लैजान सहयोग माग्दा उहाँले ४ नम्बर वडामा तपाईंले जित्नेगरी हामी हाम्रो पार्टीको कमिटी गठन गर्छौं तपाईंले सहयोग गर्ने कि नगर्ने भनेर सोध्नुभयो। मैले पार्टी प्रवेश गरौँला नगरौँला गाउँमा सिँचाइ पुग्छ भनेर हुन्छ पनि भनेँ तर, अहिलेसम्म पुगेको छैन’, दर्जीले भने।

सोमबार हेटौंडामा भएको भेटमा भने मुख्यमन्त्री राजेन्द्र पाण्डेले सो बस्तीमा जसरी पनि सिँचाइको पाइप पुर्‍याएरै छाड्ने प्रतिबद्धता जनाएको दर्जीले सुनाए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.