दृष्टिविहीनहरु भन्छन्, ‘लुई हाम्रो आँखाको ज्योति हो’

|

काठमाडौं : ‘लुईले ब्रेल लिपिको विकास नभएको भए, आज हामी सधैँ अन्धकारमा रहन्थ्यौँ होला तर आज उहाँकै कारण आँखा नदेखे पनि अक्षर लेख्न र चिन्न पायौँ’, दृष्टिविहीन दीपेशकुमार बैठाले खुसी हुँदै लुई ब्रेललाई सम्झिए।

उनले भनेजस्तै ब्रेलको विकास नगरेको भए उनीहरू यतिखेर न त पढ्न पाउँथे न त कलम समाउन नै।

त्यसो त दृष्टि अपांगता भएका व्यक्तिहरूले मंगलबार ‘२१३ औँ लुई ब्रेल जन्मजयन्ती तथा अन्तरराष्ट्रिय ब्रेलदिवस’का अवसरमा ‘शिक्षामा स्थानीय सरकारको भूमिका’ माथि अन्तरसंवाद गरेर मनाए।

दृष्टि अपांगता भएकाहरूका लागि शिक्षामा ठूलो योगदान लुईले पुर्‍याएकाे भन्दै कीर्तिपुरस्थित शहीद स्मारक कलेजमा उनको फोटोमा माल्यार्पण गरे।

आफैं पनि दृष्टिविहीन फ्रान्सेली शिक्षाविद लुई ब्रेलकाे जन्म सन् १८०९ को जनवरी ४ मा भएको हो। उनले दृष्टिविहीनका लागि लेख्न र पढ्ने ब्रेल लिपिको विकास गरेका थिए।

उनले विकास गरेको ब्रेल लिपि नेपालमा स्व. जङ्गबहादुर बोगटीले विसं २०१८ मा नेपालमा भित्र्याएको पाइन्छ।

भक्तपुर नेत्रहीन संघका अध्यक्ष सुरेशराज भण्डारीले पनि ब्रेलको विकास नभएको भए सबै दृष्टिविहीनले अहिले पढ्न नपाउने बताए।

उनले भने, ‘लुईको जन्म नभएको भए वा उनी पछि जन्मिएका भए हामी क, ख पनि चिन्दैनथ्यौं होला, तर अहिले चिन्छौँ, लेख्छौँ, यसमा हामी गर्व गर्छौँ।’

संविधान लागू भएको ६ वर्ष भए पनि अझै पाएनन् सेवा सुविधा

कार्यक्रममा कीर्तिपुर नगरपालिकाद्वारा दृष्टिविहीनका लागि श्रव्य पुस्तकालय तथा स्रोत केन्द्र नेपालका अध्यक्ष रमेशबाबु तिवारीले संविधान जारी भएको ६ वर्षमा पनि त्यसमा समेटिएका सेवा सुविधा हालसम्म नपाएको गुनासाे गरे। 

                                                                                             लुई ब्रेल

उनले अवधारणापत्र प्रस्तुत गर्दै भने, ‘संविधान २०७२ लागू भएको पनि आज ६ वर्ष भइसक्यो, तर संविधानमा उल्लेख भएका प्रावधानहरू व्यवहारमा लागू भएन, संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को बुँदा ४ मा शिक्षाको माध्यम ब्रेल लिपि हुने भनिएको छ, तर अझै पनि धेरै दृष्टिविहीन पढ्नबाट बञ्चित छन्।’ 

उनले केन्द्र, प्रदेश र स्थानीय सरकारले त्यस्ता सामग्रीको व्यवस्था नगरेको भन्दै आक्रोश पोखे।

‘दृष्टिविहीनका मुद्दाहरू ओझेलमा परेको छ,’ उनले भने, ‘त्यसैले फेरि पनि हामी अपांगता भएका बालबालिकाको तथ्यांक स्थानीय सरकारले यकिन गर्नुपर्छ, विद्यालय प्रवेशद्वारमा सबै प्रकारका अपांगता भएकाहरूलाई भौतिक अवरोध हुन नदिइयोस्।’

उनले एक ठाउँबाट अर्को ठाउँमा जान सहज बाटोका लागि मापदण्डअनुसार ट्याग टायल हाल्न सरकारसँग माग गरे।

त्यस्तै, कक्षा कोठा अपांगमैत्री बनाउनुपर्ने, कक्षा कोठामा पर्याप्त प्रकाशको व्यवस्था गर्न पनि उनले माग गरे।

कीर्तिपुर नगरपालिकाबाहेक अरु नगरपालिकाले ब्रेल पुस्तक, अडियो पुस्तक र ब्रेल सामग्री निःशुल्क व्यवस्था नगरेको भन्दै तत्काल यी सामग्रीको व्यवस्था गर्नुपर्ने उनले बताए।

श्रव्य पुस्तकालय तथा श्रोत केन्द्रका सदस्य डा.गोविन्द आचार्य दृष्टिविहीनहरूका लागि आवश्यक  पाठ्यसामग्रीको लाइब्रेरी खोल्ने तयारी गरेको बताउँदै यसमा सहयोग गर्न सरकारसमक्ष अपिल गरे।

‘सधैं अभिभावकत्व प्रदान गर्ने छौँ’

श्रव्य पुस्तकालय तथा स्रोत केन्द्रले दृष्टिविहीन विद्यार्थीहरूलाई श्रव्य सामग्री वितरण पनि गरेको थियो।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिकाको स्रोत साधनले भ्याएसम्म सहयोग गरिरहेका बताए।

‘हाम्रो कार्यकाल धेरै पनि छैन, अब फेरि जिते पनि नजिते पनि हामी तपाईंहरूकै साथमा रहिरहने छौँ,’ उनले भने।

विभिन्न गतिविधिका तालिमहरू पनि नगरपालिकाले सिकाउने उनले प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले पनि अपांगता भएकाहरूकै लागि बजेट व्यवस्था गरेर हालसम्म सहयोग गर्दै आएको बताइन्।

‘बाटो पनि अपांगतामैत्री बनाउन नगरपालिकाभित्रका सडकमा ट्याग टायल हाल्ने काम पनि अघि बढेको छ,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.