|

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरको गेटबाहिरै सेवाग्राहीको घुइँचो थियो। कोरोनाको जोखिम न्यूनीकरण गर्ने भन्दै टोकन प्रणालीबाट स्वास्थ्य मापदण्डसहित सेवा प्रवाह गरिरहेको प्रशासन कार्यालयमा मंगलबार सेवाग्राही खचाखच थिए।

पछिल्लो केही महिना यता प्रशासन कार्यालयमा दैनिकजसो सेवाग्राहीको यस्तै घुइँचो लाग्ने गरेको छ। सोमबार र मंगलबार भने मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाबाट नागरिकता बनाउन आइपुगेकाहरूको घुइँचो लागेको लागेको थियो। गाउँपालिकाले गाडी रिजर्भ गरेर नागरिकता बनाउन हेटौंडासम्म ल्याइदिने भएपछि वृद्धवृद्धाहरू पनि नागरिकता बनाउन आइपुगेका थिए।

त्यही समूहमा थिइन् ७० वर्षीया कान्छीमाया प्रजा। नागरिकताबिनै जीवनको सात दशक बिताएकी उनी जीवनको उत्तरार्धमा भने नागरिकता बनाउन आइपुगेकी थिइन्। नागरिकताको महत्त्व र आवश्यकता नबुझेकाले मात्रै होइन उनले नागरिकताबारे थाहा समेत नपाएकाले हालसम्म नबनाएको बताइन्।

‘नागरिकता भनेको के हो के जस्तो लाग्थ्यो‚’ कान्छीमायाले भनिन्‚ ‘अहिले गाउँको सबैजना नागकिरता बनाउन आउने भएपछि मलाई पनि भाइले जाउँ भन्यो अनि आएँ।’

उनले अझै पनि नागरिकताको महत्व बुझेकी छैनन्। गाउँपालिकाले गाडीको व्यवस्था गरेर ल्याउने र गाउँका सबै साथीभाइ आउने भएकाले मात्रै आफू आएको कान्छीमायाले सुनाइन्। ‘नागरिकता बनायो भने वृद्ध भत्ता चाहिँ आउँछ रे भनेको सुनेको छु‚’ उनले भनिन्‚ ‘नत्र यतिको जीवन नागरिकताबिना काटियो, बुढेसकालमा किन चाहिन्थ्यो?’

राक्सिराङ–९ बाट आएकी कान्छीमायाले मंगलबार नागरिकता बनाउनका लागि सोमबार राति १ बजे नै घरबाट हिँडेको सुनाइन्। बिहान ४ बजे गाउँबाट गाडी छुट्ने भनेकाले राति नै उठेर गाडी चढ्ने ठाउँसम्म पुगेको उनले सुनाइन्।

‘हाम्रो घरबाट गाडी चढ्ने ठाउँ अलि टाढा नै छ। बिहान ४ बजे नै गाडी छुट्ने भनेपछि हामी दिदीभाइ राति नै हिँड्यौं। छिटो हिँड्न नसक्ने भएकाले पनि चाडो निस्किनु पर्‍यो‚’ उनले भनिन्‚ ‘गाउँपालिकाको गाडी नभएको भए त त्यही पनि आउन सक्दैन थिएँ।’ उनीसँग उनको ६७ वर्षीय भाइ सोमसिंह साथी आएका थिए।

राक्सिराङ–६ बाट पितिमाया प्रजा आफ्नो ५ सन्तानको नागरिकता बनाइदिन आइपुगेकी थिइन्। प्रशासन कार्यालयको दायापट्टि भुइँमा टुसुक्क बसेकी उनलाई वरिपरि चार छोरा र एक छोरीले घेरेका थिए। नौवटा सन्तानकी आमा उनले गाउँबाटै बस चढेर आउन पाएपछि आफ्नो सन्तानको नागरिकता बनाउन जिल्ला सदरमुकामसम्म आउने आँट गरिको सुनाइन्।

‘श्रीमानको मृत्युपछि यिनीहरुको नागरिकता बन्न सकेको थिएन। मलाई नागरिकता बनाउन आउने आँटै भएन, फेरि हामीलाई कहिले पनि कहीं नागरिकता आवश्यक पनि परेन‚’ उनले भनिन्‚ ‘अब अहिले त गाउँका सबैले बनाउने रे अनि बनाइदिउँ न त भनेर आएँ।’

पितिमायाले भोट हाल्नका लागि नागरिकता बनाउनुपर्ने भएकाले पनि आएको बताइन्। उनले नागरिकता बनाएपछि भोट हाल्न पाउने र भोट हालेपछि गाउँमा विकास हुने भएकाले छोराछोरीको नागरिकता बनाउन आएको बताइन्। ६१ वर्षीया पितिमाया पनि पाँच छोराछोरीको नागरिकता बनाउन बिहान ३ बजे नै घरबाट हिँडेकी थिइन्। बिहानै घरबाट हिँडेकी उनी दिनभरि भोको पेट प्रशासन कार्यालयको भुइँमा नागरिकता बनाउन पर्खिरहेकी थिइन्।

राक्सिराङको खैराङबाट पहिलोपटक जिल्लाको सदरमुकाम हेटौंडा आइपुगेका थिए २८ वर्षीय चन्द्रबहादुर प्रजा। नागरिकता बनाउन उनी पहिलोपटक मंगलबार हेटौंडा आइपुगेका हुन्। निर्वाचन आउँदै गरेकाले नागरिकता बनाएर भोट हाल्न पाइने भएपछि २८ वर्षमा उनले पहिलोपटक हेटौंडामा पाइला टेकेका थिए। खेती किसानी गर्ने उनलाई अहिलेसम्म नागरिकताको अभाव महशुस भएन। तर, निर्वाचन आउँदै गरेको र मतदान गर्न नागरिकता आवश्यक पर्ने भनेर गाउँका जान्ने बुझ्नेले भनेपछि उनी वृद्ध बुवालाई अघि लगाएर आइपुगेका थिए।

‘नागरिकता बनाएर पनि हुने त केही होइन‚’ चन्द्रबहादुरले भने‚ ‘तर, चुनावमा भोट हालेपछि गाउँमा सुविधा आउँछ रे। त्यही भएर मात्रै गाउँपालिकाबाट गाडी आउँदा अरुसँगै आएको हो।’

उनको नागरिकता बनाइदिनका लागि ७० वर्षीय मोतिलाल प्रजा वर्षौंपछि हेटौंडा आइपुगेका थिए। जीवनभर खेतीपाती गर्दा कहिल्यै नागरिकताले खान नदिएकाले छोराका लागि नागरिकता बनाउन गाउँबाट दुःख गरेर हेटौंडासम्म नधाएको उनले बताए। उनले गाउँबाटै गाडी आउने र नागरिकता बनाएपछि मतदान गर्न पाउने भएर मात्रै आएको सुनाए। उनले भने‚ ‘गाउँको विकास नै हुन्छ भनेर गाउँबाटै गाडी आएपछि त आउनैपर्‍यो नि।’

राक्सिराङ गाउँपालिकाले सोमबार र मंगलबार दुई दिन गाउँबाट गाडी रिजर्भ गरेर नागरिकता बनाउनेहरूलाई हेटौंडासम्म ल्याउने र लैजान गरेको छ। राक्सिराङ गाउँपालिकाले मात्रै नभएर मकवानपुरका अन्य गाउँपालिकाले पनि पछिल्लो समय नागरिकता नबनाएकालाई नागरिकता बनाउन ल्याउने र नागरिकता बनिसकेपछि मतदाता नामावली दर्ता गर्न लगाउने गरिरहेको छ। यसले नागरिकता नबनाएका सर्वसाधरणलाई फाइदा पुगेको छ।

तर‚ स्थानीय तहको जनप्रतिनिधिहरुले यो काम नागरिकको सुविधाका लागि नभई आगामी चुनावलाई लक्षित गरी गरेको जानकारहरू बताउँछन्। किनकि‚ स्थानीय सरकारको नेतृत्व गरेको पाँच वर्षसम्म चुपचाप बसेका जनप्रतिनिधिहरु कार्यकाल सकिएर चुनाव नजिकिँदै गर्दा गाडीको व्यवस्था गरी सर्वसाधरणलाई ओसारिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको नागरिकता शाखाको नायव सुब्बा अश्विन अर्यालयका अनुसार पछिल्लो केही समयदेखि कार्यालयले राति साढे ८ बजेसम्म नागरिकता वितरण गरिरहेको छ। नागरिकता बनाउन आउनेहरुको घुइँचो बढेपछि रातिसम्म बसेर भए पनि सेवा दिइरहेको उनले बताए। कार्यालयको अनुसार २०७८ सालको ८ महिनामा दश हजार ९६ जनाले नागरिकता बनाएका छन्। जबकि गएको एक वर्षमा दश हजार ३३८ जनाले नागरिकता लिएका थिए। निर्वाचन नजिकिँदै गर्दा नागरिकता बनाउनेहरुको संख्या पनि बढेको प्रशासन कार्यालयको कर्मचारीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.