|

काठमाडौं :  ‘मेरो छोरा खान नपाएर मर्‍याे भने त्यसको जिम्मा तपाईं लिनु हुन्छ? सडकमा बस्नु पर्‍यो भने पनि बस्छु तर,छोरा नलिइ म गाउँ फर्किन्नँ,’ मंगलबार वैदेशिक रोजगार विभागमा छोराको उद्धारका लागि आएका एक बाबुको चित्कार हो यो।

मैलो ज्याकेट, पटपट फुटेका खुट्टा, गलामा पातलो गलबन्दी ओढेका हिरालाल महतो मंगलबार वैदेशिक रोजगार विभागको उजुरी शाखामा भेटिए।

उनी छोराको उद्धार गरिमाग्न गत आइतबार रौतहटबाट काठमाडौं आएका हुन्। 

उनका छोरा रामदिनेशसँगै शम्भु महतो, रामविनोद महतो, प्रदिप शाह दुबई गएका थिए।

एउटै गाउँका चारैजनालाई समस्या भएको भन्दै उनीहरू सबैका अभिभावक विभागमा आइपुगेका हुन्।

छोराको उद्धार गरेर काठमाडौं नल्याएसम्म घर नफर्कने उनीहरू सबैले बताएका छन्।  

रोटरी म्यानपावर कम्पनीले ८ घण्टा काम गर्ने भनेर वैदेशिक रोजगारीमा पठाएको  थियो। १२/१२ घण्टा काममा लगाएर ओभरटाइमको पैसा पनि दिएन।

रोजगारीको खोजीमा रामदिनेश महतो दुबईको सिटिजन क्लिन कम्पनीमा काम गर्न २ महिनाअगाडि विदेश गएका थिए। 

हिरालालले भने, ‘६ घण्टा डिउटी आवर महिनामा ६ दिन बिदा र एउटै कम्पनीमा काम लगाउने भन्दै रोटरी म्यानपावर कम्पनीले कागज गरेको थियो। हाल बस्न, खान समस्या भएको र दिनदिनै काम फरक-फरक ठाउँमा र धेरै समय काममा लगाएको छ।'

छोराले फोनबाट विदेशमा काम गर्न नसक्ने नेपाल फर्काउनु भन्दै रुने गरेको हिरालाल बताउँछन्। 

'विदेशमा छोराले समस्या भोगिरहेको छ,' उनले भने, ‘बरु म आधा पेट खाएर बस्न सक्छु तर मलाई मेरो छोरा चाहियो।’

म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभागका कर्मचारीसामु उनले यस्तो गुनासो गरेका हुन्।

उनी पटक-पटक 'मेरो छोरा मर्छ सर छिटो ल्याइदिनुस्' भन्दै आँसु झारिरहेका थिए।

आर्थिक अवस्था कमजोर थियो। कक्षा १२ उत्तीर्ण गरेका २० बर्से रामदिनेश रोजगारीको खोजीमा धेरैतिर भौंतारिए र अन्त्यमा  देशमा काम नपाएपछि उनी गाउँका साथीहरूसँगै दुबई जान तयार भए।

रोटरी म्यानपावरलाई २ लाख रूपैयाँ बुझाई उनी दुबई गएका थिए। 

करिब दुई महिनाअघि रोजगारीको खोजीमा गएका रामदिनेश यतिवेला नेपाल फर्कने प्रतीक्षामा रहेका छन्।

म्यानपावर कम्पनीले भने आफूले पठाएको कामदार समस्यामा नपरेको दाबी गर्दै आएको छ।

वैदेशिक रोजगार विभागले भने एकपटक श्रमिकको अवस्थाबारे बुझेर मात्र नेपाल ल्याउनु पर्ने नपर्ने निर्णय गर्ने मंगलबार बताएको छ।

यस विषयलाई गम्भीरतापूर्वक लिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले  बताए। 

दुबईमा भएका श्रमिकहरूसँग पीडित र पीडकलाई सँगै राखि कुराकानी गरेर मात्र उद्धार गर्ने वा अन्य कम्पनीमा सिफ्ट गर्ने निर्णय गर्ने सूचना अधिकारी भुसालले बताए।

तोकेभन्दा बढी समय काम, कम तलब र भनेअनुसार काम भए म्यानपावर कम्पनीले उद्धार गर्नुपर्ने हुन्छ। 

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरू रोजगारीबाट फर्किएर वैदेशिक रोजगार विभागमा उजुरी गर्न आउने गरेका छन्।

चालू आवमा वैदेशिक रोजगारीमा समस्या भएको भन्दै ३० जनाले उजुरी हालेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.