|

बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।

भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै त्यसको प्रभाव यो प्रदेशमा पनि देखिएको हो।

हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बुधबार मात्रै यो प्रदेशमा ५५ जनामा संक्रमण देखिएको छ। त्यसअघि आइतबार पाँचजनामा, सोमबार २८ र मंगलबार ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।  

सुदूरपश्चिम प्रदेशमा बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो।  
भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेकाले यहाँ पनि ओमिक्रोनको उच्च जोखिम रहेको जनाइएको छ।

भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सर्तकता अपनाउन आवश्यक रहेको छ।

भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ। सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका नेपाली स्वदेश फर्किरहेकाले यहाँ उच्च जोखिम छ। उनले भने, ‘जोखिम रोक्न सीमामै परीक्षण गर्ने गरिएको र पोजेटिभ देखिएकालाई होम आइसोलेशनमा राख्ने गरिएको छ।’

यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीले यातायात, विद्यालय र भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनेको छ।

ओमिक्रोनको जोखिम रहेकाले कोरोनाविरुद्धको खोप अभियान तीव्र रूपमा अघि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

उनले भने, ‘सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ।’

साथै ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ। यो प्रदेशमा हालसम्म ५० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका छन्।

सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्य टोली खटाइएको छ।

भारतसँग खुला सीमा नाका भएका कारण सङ्क्रमण नियन्त्रणमा केही चुनौती रहेको निर्देशनालयले जनाएको छ। विगतमा नाकाबाट लुकिछिपी भारतबाट मान्छे आउने गरेकाले जोखिम बढेकाले अब पनि अवैध नाकाबाट आउन नदिनु नै चुनौती हुने देखिएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४ लाख ३४ हजार ३५७ जनाको कोरोना परीक्षण गरिएकोमा ४८ हजार ३९९ जनामा संक्रमण भइसकेको छ।

संक्रमणकै कारण यो प्रदेशमा ६१४ जनाको ज्यान गइसकेको छ। हाल यहाँ १६२ जना सक्रिय संक्रमित छन्।

यो प्रदेशका विभिन्न ८ प्रयोगशालामार्फत पिसिआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टीजेनमार्फत परीक्षण भइरहेको छ।

यहाँका सबै जिल्लामा गरेर ३९२ आइसोलेशन बेड, १३४ एचडियु, १२६ कोभिड एचडियु, ६३ आइसियु, ४८ कोभिड आइसियु बेड, ४५ भेन्टिलेटर र २६ कोभिड भेन्टिलेटर तयारी अवस्थामा राखिएका छन्।

प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी छ। सरकारले सबैलाई खोप लगाउन पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.