कांग्रेसभित्र आगामी चुनाव एक्लै लड्नुपर्ने मत बलियो, प्रचण्ड-माधवलाई तनाव !

|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि पाँचदलीय गठबन्धन निर्माण भयो।

संसद विघटनलाई ‘प्रतिगमन’ भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) को गठबन्धन बन्यो।

ओलीले गरेको संसद विघटनलाई बदर गरेर सर्वोच्च अदालतले गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दियो।

सोहीअनुसार गठबन्धनका तर्फबाट देउवा प्रधानमन्त्री बने। ओली सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन जोडबल गर्ने व्यक्ति हुन्- पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल। 

पार्टी विभाजनको ‘तुष’ साध्नकै लागि प्रचण्ड-माधवले देउवालाई प्रधानमन्त्री बनाउन धेरै बल प्रयोग गरे। उनीहरूले यही गठबन्धनलाई आगामी निर्वाचनसम्म कायमै राख्ने प्रयास गरिरहेका छन्।

पार्टी विभाजनका वेलामा एक्लाएक्लै निर्वाचनमा जाँदा सोचे झैं नतिजा ल्याउन नसक्नेमा प्रष्ट भएरै गठबन्धनलाई चुनावसम्मै लान चाहन्छन्। त्यसमा जसपा र जनमोर्चाको पनि साथ छ। 

तर, गठबन्धनमा सामेल सबैभन्दा ठूलो दल कांग्रेसमा गठबन्धनबाटै निर्वाचन जाने भन्ने विषयमा विवाद छ।

कांग्रेस सभापति देउवा गठबन्धनलाई आगामी निर्वाचनसम्मै लाने पक्षमै छन्। तर, देउवालाई संस्थापन र संस्थापनइतर पक्षबाट ठूलो दबाब छ। 

कांग्रेससँग सहमतिको सरकार सञ्चालन भइरहेका वेलामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ सालको निर्वाचनमा पनि एमालेसँग तालमेल गरेका थिए।

राजनीतिक परिदृश्यमा अस्थिर स्वभावका प्रचण्डसँग सभापति शेरबहादुर देउवाले गठबन्धन गरेर आगामी निर्वाचनसम्म जान खोजेकोप्रति कांग्रेसभित्रकै धेरै नेता सशंकित छन्। 

कांग्रेसमै विवाद 

ओली सरकारको विकल्पमा अर्को सरकार बनाउनका लागि मात्र गठबन्धन बनेको सभापति देउवानिकट कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा बताउँछन्।

उनी भन्छन्, ‘ओली सरकारको विकल्पमा अर्को सरकार बनाउन, संविधानको रक्षा र संसदको निरन्तरताको लागि गठबन्धन बनाएका हौँ। निर्वाचनसम्मसँगै जाने या एक्लाएक्लै जाने भन्ने विषयमा अहिल्यै कुनै निर्णय भइसकेको छैन।’ 

गठबन्धन कायमै राख्ने विषयमा पार्टीले निर्वाचनका वेला मात्र निर्णय गर्ने उनको भनाइ छ। 

‘अहिले कुनै नेताले कसैले प्रभाव पार्नको लागि के भन्छन् भन्ने कुरा हो। साना दलहरूले एक्लै चुनाव लड्छौँ भने भने हामी एक्लै जान्छौँ। होइन कुनै दलले सहकार्य गरेर जान्छौँ भने भने राजनीतिमा सहकार्य, एकतालाई स्वाभाविक रुपमा नै लिइन्छ,’ उनले भने, ‘अहिले नै यही हो भनेर भन्न सक्ने कुरा होइन।’

चुनावी रणनीतिबारे पार्टीले त्यही वेलामा आवश्यक निर्णय लिने बताए पनि देउवा भने गठबन्धन कायमै राखेर आगामी निर्वाचनसम्म जाने मनस्थितिमा छन्। 

तर, बुधबार भेला गरेको कांग्रेसको संस्थापनइतर समूह भने आगामी निर्वाचनमा गठबन्धन गरेर जान नहुने पक्षमा उभिएको छ।

देउवाविरुद्ध देखिएको संस्थापनइतर समूहको भेलामा डा शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने धारणा राखेका थिए। 

भेलामा उनले भनेका थिए, ‘हाम्रा अगाडिका बाटाहरू सहज छैनन्, तीन तहको निर्वाचन हाम्रोसामु छ। कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरि साथीहरूसामु जानेछौँ। कांग्रेस एकताको सन्देश र रूपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ। हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं। आगामी निर्वाचनमा एक्लै जानुपर्छ त्यही अनुसार तयारी गर्नुस्।’

तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार फेर्ने अभियानमा लाग्न निर्देशन दिए। 

त्यस्तै सोही भेलालाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले आउने चुनावमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर बहुमत ल्याउनुपर्ने भनाइ राखे। 

‘सभापतिज्यूको इच्छा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला। पार्टीभित्रको ४० प्रतिशत जनमतलाई पाखा राखेर उहाँको उद्देश्य कसरी पूरा हुन्छ?,’ महामन्त्री थापाले प्रश्न गरेका थिए, ‘राष्ट्रियसभाको निर्वाचनसँगै गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य हुनुपर्छ। हामी वडादेखि केन्द्रदेखि एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा छौँ। यो हाम्रो विचार समूहको बटमलाइन हो।’

आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि ५ वर्ष सरकार चलाएरै छाड्ने उनको भनाइ छ। 

प्रचण्ड-माधवका दुःख 

ओली सरकार ढाल्न गठबन्धन बनाउन धेरै कसरत गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल र मधेशकेन्द्रित दल जसपालाई पनि विभाजनपछि कसै न कसैको साथ आवश्यक छ। 

उनीहरूले आफ्नो सिट सुरक्षित गराउनकै लागि भएपनि गठबन्धनलाई आगामी निर्वाचनसम्म लानुपर्ने बाध्यात्मक अवस्था छ।

उनीहरू कुनै हालतमा पनि गठबन्धन फुटाउन नसक्ने दाबी गर्दै आइरहेका छन्।

तर, कांग्रेसमा सभापति देउवाविरुद्ध संस्थापनइतर पक्षले बलियो घेराबन्दी गरेर प्रचण्ड–माधवलाई दुःख दिने देखिन्छ।

त्यसो त गठबन्धनमा सामेल साना दललाई आगामी निर्वाचनमा गठबन्धन बाध्यता भएपनि कांग्रेसलाई छनोट मात्र भएको केन्द्रीय सदस्य विश्वकर्मा बताउँछन्। 

उनी भन्छन्, ‘प्रचण्ड, माधवजीहरूलाई अहिलेको अवस्थामा गठबन्धन आवश्यक छ। उहाँहरूको बाध्यता पनि हो। तर, हामीलाई गठबन्धन छनोट मात्रै हो। त्यसो भएको हुनाले आगामी निर्वाचनसम्मको विषयमा कुनै निर्णय गरेका छैनौँ। व्यक्तिगत नेताहरूले बोकेको कुरा पार्टीको आधिकारिक हुँदैन।’

ओलीको रणनीति 

प्रचण्ड-माधवले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायमै राख्न बल गरिरहेको भएपनि एमाले अध्यक्ष ओलीको एकमात्र रणनीति छ- गठबन्धन फुटाउने।

ओलीले अमेरिकी परियोजना एमसिसीलाई अस्त्र बनाएर गठबन्धन भत्काउने प्रयास गरे। तर, अझै सम्भव भएको छैन। 

राजनीतिक दलको विवादमा रुमलिएको एमसिसीबारे कांग्रेस र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक गठबन्धनमा रहेका अरुले स्पष्ट रुपमा आफ्नो धारणा ल्याउन सकेका छैनन्।

आफू प्रधानमन्त्री हुँदा एमसिसी संसदबाट अगाडि बढाउन खुट्टा उचालेर बसेका ओलीले अहिले अर्थपूर्ण मौनता साँधेका छन्। 

ओलीले एमसिसीमा मौन रहेर गठबन्धन फुटाउन खोज्नुको पहिलो कारण हो- संसदलाई बेकामे देखाएर निर्वाचनमा जानु। 

ओलीले आफू प्रधानमन्त्री हुँदा दुई/दुई पटक संसद विघटन गरे। तर, दुवै पटक सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो।

ओलीले चालेको कदमलाई सर्वोच्चले ब्रेक मात्रै लगाएन सत्ताच्युत नै गर्‍यो। अहिले ओलीको पहिलो प्राथामिकता हो- निर्वाचन। 

संसद पुनःस्थापनापछि पनि एमालेले संसदमा अवरोध निरन्तर कायमै राखिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर ओलीले निरन्तर संसद अवरुद्ध गराउँदै आइरहेका छन्। 

माधव नेपालसहित एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरुन्जेल वा सभामुखको राजीनामा नआएसम्म आफ्नो अवरोध निरन्तर कायमै रहने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘हामीले कारवाही गरिसकेका सांसदहरूसँगै हामी संसदमा बस्दैनौँ। हाम्रो एजेण्डा फिर्ता भएको छैन। हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ।’

संसदको अवरोध हटाउन सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेल बुधबार साँझ ओलीसँग भेट्न बालकोट पुगेका थिए। तर, ओलीले उनीसँग आफ्नो उही अडान दोहोर्‍याए। 

ओली भेटेर फर्किएका नेता पौडेल संसदको अवरोध हटाउन राजनीतिक दलहरूबीच सहमतिको बिन्दु खोज्नुपर्ने बताउँछन्। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको छु। सबै गतिरोधहरू हटाएर मुलुकलाई गति दिनुपर्छ।’ 

त्यसो त ओलीले गठबन्धन फुटाउन खोज्नुको दोस्रो कारण हो- निर्वाचनमा राम्रो नतिजा ल्याउनु। 

पाँचदलीय गठबन्धन आगामी निर्वाचनमा गठबन्धन कायमै गरेर गए एमालेको अवस्था अहिले राष्ट्रियसभाको निर्वाचनमा भएजस्तै हुनेछ।

त्यो अवस्था राम्रोसँग बुझेका ओलीले गठबन्धन फुटाएर आगामी निर्वाचनमा त्यसको फाइदा उठाउने रणनीति बनाएका छन्। 

जनमोर्चालाई मौका

२०७४ को आम निर्वाचनमा एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनमा सामेल भएर आगामी चुनावमा आफ्नो स्थिति सुधार्ने मौका पाएको छ।

गठबन्धनमा सामेल भएपनि सरकारमा नगएको जनमोर्चाले राष्ट्रियसभाको निर्वाचनमा एक सिट पाउने भएको छ।

सत्तारुढ गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशबाट दलिततर्फको सिट राष्ट्रिय जनमोर्चालाई दिएपछि पहिलो पटक राष्ट्रियसभामा पनि राजमोको प्रतिनिधित्व हुने लगभग तयजस्तै छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.