|

काठमाडौं : कोरोनाका कारण लगभग दुई वर्ष कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्।

गत साता प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली'ले नेपाली फिल्ममा पनि दर्शक आउँछन् भन्ने साबित गरिसकेको छ। 

तिहारदेखि लामो समयदेखि रोकिएका नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्न थालेका थिए।

जसमा कठपुतली गत साता प्रदर्शनमा आयो भने प्रदर्शनका लागि तयार रहेका दर्जनौँ फिल्म प्रदर्शनमा आउन बाँकी नै छ। 

यो वर्ष प्रदर्शनमा आउन लागेका केही प्रतीक्षित फिल्म यस्ता छन्,

१. चपली हाइट ३

आकाश बरालको लेखन, निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माण रहेको सस्पेन्स थ्रिलर फिल्म 'चपली हाइट ३' पुस ३० देखि प्रदर्शनमा आउँदैछ। 
कोरोना महामारीका कारण तोकिएको मितिमा प्रदर्शनमा आउन नसकेको फिल्म झण्डै दुई वर्षपछि प्रदर्शनमा आउन लागेको हो। 

गत पुस २ देखि नै प्रदर्शनमा आउने भनिएको फिल्म हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' र तेलुगु फिल्म 'पुष्पाः द राइज'का कारण सरेको थियो। 

त्यसपछि पुस १५ लाई प्रदर्शन मिति तोके पनि १६ गतेदेखि अर्को नेपाली फिल्म 'कठपुतली' प्रदर्शनमा आउने भएपछि 'चपली हाइट ३' पुस ३० मा पुगेको थियो। 

'चपली हाइट' र 'चपली हाइट २' व्यावसायिक रुपमा सफल फिल्ममा गनिन्छन्। त्यसैले पनि 'चपली हाइट ३' लाई प्रतीक्षित फिल्म मानिएको छ।

तर, विभिन्न कारणले तीन पटक प्रदर्शन मिति सार्नु परेको यो फिल्म कस्तो बनेको छ र हलमा कस्तो प्रदर्शन गर्छ भन्ने हेर्न बाँकी छ। 

२. चिसो एस्ट्रे

भूपी शेरचनको कवितामा आधारित फिल्म 'चिसो एस्ट्रे' यो वर्षको अर्को प्रतीक्षित फिल्म हो।

चैत ४ देखि प्रदर्शनमा आउन लागेको फिल्मको लेखन तथा निर्देशन दिन्स पाल्पालीले गरेका हुन्। 

'चिसो एस्ट्रे'लाई दिव्य देव, निकुन श्रेष्ठ, सुशीलराज पाण्डेलगायत कलाकारको कमब्याक फिल्मका रुपमा लिन सकिन्छ।

दिव्य देव, निकुन र सुशीलबाहेक फिल्ममा सृष्टि श्रेष्ठ, रोविन तामाङ, रिनेक्स बस्नेत, नविन लम्साललगायत कलाकारको अभिनय रहेको छ। 

गाउँबाट शहर पसेको एक युवकको रुपान्तरणको कथा रहेको फिल्मको निर्माण प्रविण स्याङ्बो र सुस्मिता पराजुलीले गरेका हुन्।

एक साताअघि सार्वजनिक फिल्मको टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

दुई वर्षअघि नै प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म कोरोना महामारीका कारण रोकिएको थियो। 

३. ए मेरो हजुर ४

नेपालका सबैभन्दा महँगा अभिनेतामध्ये गनिने अनमोलको केसी अभिनित 'ए मेरो हजुर ४' यो वर्षको अर्को प्रतीक्षित फिल्म हो।

झरना थापाको निर्देशन, सुनीलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोलसँगै सुहाना थापा मुख्य भूमिकामा देखिँदै छिन्।  

यसअघि २०७५ को चैतमा प्रदर्शनमा आएको 'ए मेरो हजुर ३' मा पनि अनमोल र सुहाना मुख्य भूमिकामा थिए।

फिल्म व्यावसायिक रुपमा सफल सावित भएको थियो। 

यतिवेला डबिङमा काम भइरहेको फिल्म नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। फिल्मको टिजर तथा ट्रेलर सार्वजनिक भएको छैन। 

दुई दशकअघि बनेको सफल फिल्म 'ए मेरो हजुर' सफल फ्रेन्चाइजमा पर्छ।

४. लप्पन छप्पन २

मुकुन्द भट्टको निर्देशनमा निर्मित मल्टिस्टारर एक्सन फिल्म 'लप्पन छप्पन २' फागुन १३ देखि प्रदर्शनमा आउने तयारीमा छ। 

सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको हो।

अधिकांश छायांकन विदेशमा भएको फिल्म कोरोनाका कारण यसअघि तोकिएको मितिमा प्रदर्शन हुन सकेको थिएन। 

मन्त्र

२८ माघदेखि प्रदर्शनको तयारीमा रहेको लभ स्टोरी फिल्म 'मन्त्र'मा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिँदै छन्। सौगात र दिया एकसाथ देखिन लागेको यो पहिलो फिल्म हो। 

साम्तेन भुटियाको लेखन तथा खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्ममा हिमाली भेगको प्रेम कथा देखाइएको छ।

रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा सौगात र दियाबाहेक बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पालगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

अधिकांश भाग मनास्लु हिमालको आधारशिविरमा छायांकन गरिएको फिल्म यो वर्षको अर्को प्रतीक्षित फिल्ममा पर्छ।

निर्माण टोलीका अनुसार मन्त्रमा दर्शकले फरक स्वाद पाउनेछन्। सार्वजनिक पोस्टरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। 

यीबाहेक पनि कोरोना महामारी सुरु हुनुभन्दा अगाडिदेखि नै निर्माण भएका दर्जनौं फिल्म अनुकूल प्रदर्शन मितिको पर्खाइमा छन्।

'म यस्तो गीत गाउँछु २' माघको तेस्रो साता प्रदर्शनमा आउने तयारीमा छ भने फागुन १३ मा प्रदर्शनमा आउने तयारीमा रहेको 'प्रेम गीत ३' ले भर्खरै आफ्नो प्रदर्शन स्थगन गरेको छ। 

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र भइरहेका वेला यसको असर नेपालमा पनि देखिन थालेको छ।

यस्तोमा फिल्म तोकिएकै मितिमा प्रदर्शनमा आउँछन् या कोरोनाका कारण फिल्मको प्रदर्शन फेरि एकपटक रोकिन्छ हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.