|

धनुकटा : प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी करिडोर विद्युत प्रशारण लाइन विस्तारको क्रममा छ।

निर्माणाधीन कोशी करिडोर २ सय २० केभिए विद्युत प्रशारण लाइन विस्तार क्रममा २५ हजारभन्दा बढी रुख काटिने भएको छ।

गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे-मिल्के-जलजले (टिएमजे) को बीचबाट विद्युत प्रशारण लाइन विस्तार हुने भएपछि यसले नकारात्मक प्रभाव पार्ने भन्दै यसको विकल्प खोज्न स्थानीयले माग गरेका छन्।

टिएमजे वन क्षेत्रमा ठूलो संख्यामा रुख काटिँदा पर्यटन र पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।

गुराँस र हरियो वनका कारण फस्टाएको यहाँको पर्यटन पनि रुख काटेपछि खस्किने आशंका स्थानीयको छ।

प्रशारण लाइन विस्तार गर्दा वन क्षेत्र जोगाएर लैजान सकिने अवस्था हुँदाहुँदै पनि आयोजनाले घना वन क्षेत्र नै फँडानी गरेर विद्युत विस्तार शुरु गरेको छ।

पूर्वी पहाडी जिल्लाको हालसम्मकै ठूलो आयोजना मानिएको छ- कोशी करिडोर।

आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जोडिरहेको छ।

विद्युत् लाइन विस्तार गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजलेको बीचबाट हुँदा यहाँका हजारौं रुखहरू काटिँदा यहाँको जैविक विविधता नष्ट भएर पर्यटकीय आकर्षण खस्कने लालीगुराँस नगरपालिका-१ बसन्तपुरका मिङमा शेर्पाले बताए।

गुराँस नै हेर्न देशविदेशका पर्यटक आउने गरेका र वन फँडानीले पर्यटक घट्ने उनको आशंका छ।

उनले अन्यत्रबाट लैजाने ठाउँ हुँदाहुँदै जंगलकै बीचबाट वन फँडानी गरेर लग्दा पर्यटक अहिले नै घट्न थालेको बताए।

आयोजना सञ्चालनका लागि २०७३ सालमा प्रारम्भिक वातावरणीय परीक्षण गरिएको थियो।

लाइन विस्तारका क्रममा तीनजुरेका ६ वटा सामुदायिक वनका गुराँससहित २५ हजार रुख काटिनेछ।

आयोजनाले पहिलो पटक सर्भे गर्दा तिनजुरेको डाँडैडाँडा लाइन विस्तार गर्ने भनेकाले सहमति दिएको धर्मदेवी नगरपालिका-१ संखुवासभाका तीनजुरे हात्तिसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए।

दोस्रो पटक सर्भे गरेर जहाँ घना जंगल छ त्यहीँबाट लाइन लैजान लागेको बुढाथोकीले बताए। उनले दोस्रो पटक गरेको सर्भेमा आयोजनाले कसैको सहमति नलिएको बताए।

‘जंगल मासिएपछि मुलुककै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने, जीवजन्तु मासिने, पानीका मुहान सुक्ने प्रवल सम्भावना देखियो,’ बुढाथोकीले भने, ‘जसले गर्दा पछि गएर जलवायु र जैविक विविधतालाई कोशी करिडोरले ठूलो असर पुर्‍याउने रहेछ भन्ने देखियो।’

पहिले सामुदायिक वनहरूले तिनजुरेको बाटो भनेर अर्कै सर्भेमा सहमति गरेको बुढाथोकीले पटकपटक दोहोर्‍याए।

गुराँस सहितका रुख कटानले नमुना शहर बसन्तपुर बजारमा खानेपानीको संकट हुने खतरा बढेको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए।

उनले वनजंगल जोगाएर प्रशारण लाइन लैजान विकल्प खोज्न पटकपटक अनुरोध गरिएको जानकारी दिए।

बसन्तपुरको टुटे हुँदै ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३४ किलोमिटर लामो प्रशारण लाइन विस्तार गर्दा तेह्रथुमका ६ वटा सामुदायिक वन क्षेत्रका रुख कटान हुनेछन्।

घना जंगल काटेर खाली हुँदा वन्यजन्तुको वासस्थानमा समेत असर पर्ने देखिएको छ।

सब-डिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सोमेश्वरकुमार दासले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएको दाबी गरे।

उनले तिनजुरेका गुराँससहित रुखहरु मन्त्रिपरिषदको निर्णयबाट कटान गरिएको बताए। आयोजनाले काटेको एउटा रुख बराबर २५ बिरुवा रोपेर ५ वर्षभित्र प्रभावित क्षेत्रमा हुर्काउने सहमति भएको दासले बताए।

कटान गरिएको सुरुमा वातावरणमा, पर्यावरण असर पर्ने जस्तो देखिए पनि पछि नयाँ बिरुवा हुर्किएपछि त्यस्तो नहुने उनले जनाए।

विद्युत जनजीवनसँग जोडिएको हिसाबले पनि यसलाई प्राथमिकतामा राखिएको दासको भनाइ छ।

ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादन भएको र हुने चरणमा रहेको १ हजार मेगावाट क्षमताको कोशी करिडोर तेह्रथुमको बसन्तपुर सब–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत प्रशारण लाइनमा जोड्ने गरि काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.