|

इलाम : नेकपा (एमाले)ले इलामको जिल्ला अध्यक्षमा आकांक्षीको लर्को छ। पार्टीले सर्वसम्मत वा अधिकतम सहमतिबाट नेतृत्व चुन्न निर्देशन दिए पनि आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन कठिन देखिएको छ।

गुटगत राजनीति गरे कारबाही हुने भएपछि उम्मेदवारहरू आफू/आफू मात्रै आकांक्षा देखाइरहेका छन्। चुनाबमा लडे वा पराजित भए पार्टीबाटै किनारा लाग्ने सम्भावना देखिएर पनि अधिकांश उम्मेदवार सर्वसम्मत हुनुपर्नेमा जोड दिएका छन्। तर‚ आकांक्षीहरूले नेतृत्व पाउनुपर्नेमा निकट शीर्ष नेताहरुसँग लबिङ गरिरहेका छन्।

तीन आकांक्षी

जिल्ला अध्यक्षमा तीन जनाको नाम चर्चामा छ। वर्तमान जिल्ला अध्यक्ष एवं इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सचिवालय सदस्य डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराईको नाम अध्यक्षमा चर्चा छ।

बस्नेत नवौं महाधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएका थिए। तर‚ तत्कालीन जिल्ला अध्यक्ष राम राना चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि अध्यक्षको जिम्मेरवारी बस्नेतले पाएका थिए। उनी दशौं जिल्ला अधिवेशनबाट नेतृत्व लिन चाहन्छन्। यद्दपि‚ बस्नेतले आफू अध्यक्षको उम्मेदवारको रुपमा रहेको सार्वजनिक गरेका छैन। तर‚ प्रदेश र केन्द्रको आकांक्षा त्यागेका कारण स्वभाविक रूपमा बस्नेत नै अध्यक्षको उम्मेदवार रहेको उनी निकटहरू बताउँछन्।

पत्रकारिता र राजीनितीशास्त्र पिएचडी गरेका डा. दुलाल ‘एक व्यक्ति एक पद’ को एजेण्डा लिएर आफू अध्यक्षको उम्मेदवार रहेको बताउँछन्। अर्का प्रत्यासी भट्टराई समेत आफू अध्यक्षकै दावेदार भएको बताउँछन्। एमालेको आचारसंहिताअनुसार ७० वर्षे उमेर हदले पनि भट्टराईले यस पटक अध्यक्षमा दावी गरेका हुन्। आगामी ११ औं अधिवेशनमा भट्टराई ७० वर्ष कटिसक्ने भएकाले यस पटक अध्यक्षमा आकांक्षा राखेका एमाले निकटहरू बताउँछन्। भट्टराई यसभन्दा अघि आठौं महाधिवेशनका अध्यक्षकै उम्मेदवार थिए। त्यसबेला मणिकुमार सुब्बासँग केही मतले हार ब्यहोरेका भट्टराई नवौं महाधिवेशनमा जिल्ला कमिटी सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए। नवौं महाधिवेशनमा केपी ओली प्यानलबाटै जिल्ला सदस्यमा जीत हासिल गरेका भट्टराई दशौं अधिवेशनमा समेत अध्यक्षकै दावेदार रहेका छन्।

उपाध्यक्षमा पाँच जनाको दावेदारी

उपाध्यक्ष पदका लागि पाँच जनाको दावी रहे पनि आकांक्षी बढ्ने सम्भावना छ। हालसम्म उदय राई, शोभा पराजुली, काजीमान कागते, रत्नबहादुर अधिकारी र ओमनारायण खनाल उपाध्यक्षका आकांक्षी हुन्।

राई सन्दकपुर गाउँपालिकाका अध्यक्ष राई र पराजुली उपाध्यक्ष हुन्। झलनाथ खनालका पूर्व स्वकीय सचिव समेत रहेका राई पार्टी विभाजनका क्रममा एमालेमा नै रहे। उनी ‘१० बुदे’ नेताका रुपमा चिनिन्छन्। एमालेभित्र एकताबद्ध गर्नका लागि उपाध्यक्षमा उदय राईको सम्भावना बढी रहेको एमाले नेताहरु बताउँछन्। अर्का आकांक्षी पराजुली जिल्लाको सक्रिय महिला नेतृको रुपमा चिनिन्छन्।

सूर्योदय नगरपालिकाका बासिन्दा काजीमान कागते प्रदेश १ का प्रदेश सांसद हुन्। यस्तै‚ माई नगरपालिकाका अधिकारी एमालेबाट जिल्ला समन्वय समितिको सदस्यको रुपमा निर्वाचित छन्। अर्का आकांक्षी खनाल केपी ओली प्रधानमन्त्री रहेको बेला गठन भएको भूमिसम्बन्धी समस्या आयोगको अध्यक्ष बनेका थिए। हाल सरकारले आयोग खारेज गरेपछि उनको पद गुमेको छ।

सचिवमा विद्यार्थी नेता देखि स्वकीय सचिवसम्म

अध्यक्षपछिको अर्को कार्यकारी पद सचिवमा पनि दावी गर्नेको संख्या पनि उस्तै छ। वर्तमान उपसचिव एवं संगठन विभाग प्रमुख उमेश गुरुङ र वर्तमान प्रचार विभाग प्रमुख प्रकाश अधिकारी, गोपाल नेपाल, बुद्धि खनाल र रवीन्द्र सुवेदी सचिवको रुपमा चर्चामा छन्। पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष रहेका गुरुङ नवौं अधिवेशनबाटै उपसचिवमा जितेका थिए। विषम परिस्थितिमा समेत आफू पार्टीमा कटिबद्ध रहेकाले पनि आफू सचिवको दावेदार रहेको गुरुङ सुनाउँछन्। एमाले जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख अधिकारीले आफू सचिवकै दावेदार रहेको बताए।

संसदीय फाटमा जाने आकांक्षा नरहेको र पार्टी संगठन निर्माणका लागि सचिव हुन चाहेको अधिकारीले सुनाए। पूर्व शिक्षक संगठन अध्यक्ष गोपाल नेपालले समेत यस पटक सचिवकै दावेदार हुन्। यस्तै, सचिवालय सदस्य वुद्धि खनाल समेत सचिवकै दावेदार रहेका छन्। लामो समय नेकपा एमाले उपनेता एवम् उपाध्यक्ष सुवास नेम्बाङको स्वकीय सचिव भएर काम गरेका खनाल जिल्लामा क्रियाशिलताका लागि सचिव पद रोज्छन्। यस्तै, वर्तमान कार्यालय सचिव रबिन्द्र सुवेदी पनि सचिवको आकांक्षी हुन्। विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा प्रवेश गरेका रबिन्द्र विद्यार्थी वर्गमा रुचाइरहेका व्यक्तिमा पर्छ।

उपसचिवमा दावेदारी गर्नेको भीड

उपसचिव दावी गर्नेको संख्या एमालेमा उल्लेखनीय छ। उपसचिव दुई वटा भएकाले पनि स्वभाविकरूपमा दावेदारी बढेका हुन्। अहिले उपसचिव दावी गर्नेमा सावित्रा शिवा, रमेश राई, विष्णुमाया आचार्य, नोमनाथ खतिवडा, सुनिता सुब्बा, सन्तराम योङहाङ रहेका छन्। शिवा नेकपा एमाले सूर्योदय नगरपालिकाको पूर्व अध्यक्ष हुन्। सूर्योदयकै रमेश राई नेकपा एमालेभित्र क्षेत्रम बौद्धिक व्यक्तित्वको रुपमा गनिन्छन्।

माई नगरपालिका उपप्रमुख रहेकी आचार्य जिल्लामा सक्रिय महिला नेतृको रुपमा चिनिन्छिन्। केपी ओलीको प्रतिगमनको विरुद्धका लागेका माईजोगमाईका खतिवडा पार्टी विभाजन हुँदा एमालेमा नै रहेका छन्। माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुब्बा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको विश्वासपात्र नेतृको रुपमा चिन्छिन्। महिला नेतृको रुपमा उनी रुचाइनेमा पर्छिन्। माई नगरपालिकाको महमाईका सन्तराम योङहाङ एमालेको पुरानो नेताको रुपमा पर्छन्। पछिल्लो समय राजनितिक रुपमा उनीको सक्रियता कमै देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.