|

काठमाडौं :  संखुवासभा घर भएका अनिश जिमी राई अनलाइन गेम 'पब्जी' लभर थिए। पब्जीको लतमा थिइन् खोटाङ घर भएकी युनिशा राई पनि।

पब्जी खेल्दाखेल्दै नजिकिए उनीहरू। पब्जीको लतमा फसेका उनीहरू विस्तारै प्रेमीप्रेमिका बन्न पुगे। त्यसपछि सुरु भयो 'लिभिङ टुगेदर'।  एउटै कोठामा बस्न थालेको २२ दिनमा उनीहरू काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकै बन्द कोठामा मृत भेटिए।

​बिहीबार राति १२ बजे उनीहरु मृत अवस्थामा फेला परेका हुन्।

बेलुकी युवकले आमासँग खाना नखाने,मासु चिउरा खाने प्रस्ताव गरे। त्यहि बमोजिम मासु पाक्यो। सबैले हाँसीखुसी मासु चिउरा खाए। त्यसपछि अनिश र युनिशा सुत्न भनेर आफ्नो  कोठाभित्र छिरे। 

उनीहरु बस्ने फ्ल्याटमा अनिशकी आमा, उनकी बहिनी र उनका छोरा पनि बस्थे। सधैँजसो मध्यरातसम्मै पब्जी खेलेर बस्ने अनिश र युनिशाको कोठाबाट 'मार् मार्' 'हान् हान्' भन्ने आवाज आउनु सामान्य भइसकेको थियो।

तर बिहीबार मध्यरातमा उनीहरुको कोठाबाट ठूलै स्वरमा अस्वभाविक आवाज सुनियो। अनिशकी आमाको मनमा चिसो पस्यो। उनी उठेर कोठा ढक्ढक्याउन पुगिन्। तर भित्रबाट चुकुल खुलेन। त्यसपछि उनले बहिनीको छोरालाई बोलाएर ढोका फुटाएर हेर्दा दुवैजना रगतमा लत्पतिएर लडिरहेका थिए। ​

त्यसपछि उनीहरुले हतारहतार प्रहरीलाई खबर गरे। महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी सुदिप गिरीले युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको बताए।  

आफूहरुले घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुग्दा युवती खाटमा रक्ताम्मे भएको र युवक ढोकानजिकै ढलेको अवस्थामा भेटिएको गिरीले बताए।

'हामीले ढोका खोल्दा युवती खाटमा रगतले लत्पतिएको अवस्थामा थिइन्। युवकको भने शरीर तातै थियो। हामीले युवकलाई उपचारका लागि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याएका थियौं। तर उनलाई बचाउन सकिएन', उनले भने।

उनीहरुका कोठामा मादक पदार्थका बोत्तल, चुरोटका ठुटा भेटिएको गिरीले जानकारी दिए। घटना हुनुपूर्व उनीहरूले रक्सी सेवन गरेका थिए वा थिएनन् भन्ने विषयमा भने शवको पोष्टमार्टम गरे पछिमात्र पत्ता लाग्ने छ।

अहिले उनीहरूको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रमुख गिरीले बताए।

अनिशले प्रेमिकाको हत्या गरेर आफूले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

'हामीले प्रारम्भिक अनुसन्धान गर्दा उनीहरू पब्जीको लतमा थिए', ती अधिकृतले भने,'२२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको कुरा हामीलाई उनीहरूका आफन्तले बताएका छन्।'

उनीहरू फेसबुक हेर्दा पनि पब्जीकै बारेमा अनेक पोष्टहरु भेटिएको प्रहरीले जनाएको छ। यतिसम्म कि घटनामा प्रयोग भएको चक्कु पनि पब्जी खेलमै प्रयोग हुनेजस्तो रहेको एसएसपी गिरीले बताए। 

हाँसीखुसी कोठामा छिरेका उनीहरुबीच के विषयमा विवाद भएर घटना भयो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ। 

के हो पब्जी खेल ?

यो भौतिक रुपमा नभइ इन्टरनेटको माध्यमबाट खेलिने धेरै खेलहरूमध्ये एक खेल हो।  एन्ड्रोइड र एप्पलका मोबाइल प्लेटफर्मबाटै पब्जी खेल्न सकिन्छ। मोबाइलमा सहजै खेल्न सकिने हुँदा पब्जी आम युवा पुस्ता र बालबालिकामा यो लोकप्रिय मानिन्छ।

यसमा कुनै एक ठाउँ जहाँ इन्टरनेटको सुविधा हुन्छ, त्यहाँ बसेर खेल्न सकिन्छ। गेम खेल्दै अनलाइनमार्फत बोल्न पनि पाइने भएकाले यो खेल खेल्न थालेपछि लत नै बस्ने गरेको छ। 

गेममा विपक्षीलाई मार्नुपर्ने नियम हुन्छ। जसले गर्दा गेम खेल्नेहरूले विपक्षीलाई मार्ने र आफूलाई सुरक्षित बनाउन विभिन्न उपाय लगाउने गर्छन्।  एउटा खेलको एउटा म्यापमा पचासदेखि एक सय जनासम्म खेल्न सकिने बताइन्छ।

विभिन्न म्यापमा विभिन्न हतियारहरू हुने गर्छन्। ती हतियारको मद्दतले विपक्षीलाई मार्ने रणनीति हुन्छ।

खेलमा एउटा घेरा हुन्छ। त्यो घेराभित्र बसेर विपक्षीलाई मार्नुपर्ने हुन्छ। त्यो घेरा बाहिर भए आफू मरिने हुन्छ। विपक्षीको मृत्यु हुँदै जाँदा समयअनुसार घेरा साँघुरिँदै जान्छ। अन्त्यमा जो रहन्छ, त्यो नै विजय हुन्छ। पब्जीले उसलाई 'विनर विनर चिकेन डिनर' उपाधि दिने गर्छ।

पब्जी खेल्दा एउटा समुहमा ४ जनासम्म मिलेर खेल्न सकिन्छ। जहाँ एक अर्कासँग बोल्न मिल्छ। विपक्षीलाई मार्न आफ्नो पक्षका व्यक्तिसँग अनलाइनमार्फत बोल्ने हुँदा बन्द कोठामा बसेर पनि पब्जी खेलाडीले चर्को चर्को आवाज निकाल्ने गर्छन्।

लामो समय मोबाइलमा पब्जी खेल्दा लेभलहरू आइराख्छ। जसले पब्जी प्रेमीलाई पब्जी खेलिरहन मन लाग्ने हुन्छ। साथसाथै पैसा तिरेर पब्जीलाई चाहिने अन्य चिजहरू किन्न पाइने व्यवस्था हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.