एमाले अधिवेशनबाट छाँटिएका नेता/कार्यकर्ता राजनीतिक ‘स्पेस’ खोज्दै एकीकृत समाजवादीमा जाने सम्भावना

|
फाइल तस्वीर

विराटनगर : पूर्वमुख्यमन्त्री भीम आचार्य ०४८ सालताका एमाले सुनसरीको सचिव थिए।

सुनसरीमा तत्कालीन समयदेखि नै एक खालको प्रभाव जमाउन सफल थिए आचार्य।

त्यसो त झलनाथ खनालसँग आचार्यको ज्वाइँ-ससुराको सम्बन्ध भएकै कारण पनि पार्टीमा उनको राम्रै पकड थियो।

पारिवारिक सम्बन्धका कारण माले र एमाले विभाजन भएपछि राजनीतिक छलाङ हानेर केन्द्रीय सदस्य बनेका आचार्यलाई त्यसवेला भएको पार्टी विभाजनले फाइदा पुर्‍याए पनि अहिलेको विभाजनले भने घाटाको बाटो तेर्सिएको देखिन्छ।

नेकपा हुँदै पार्टीभित्रको अन्तरद्वन्द्वमा माधवकुमार नेपालतिर रहेका आचार्यलाई यतिवेला एमालेमा रहँदा उनको राजनीतिक यात्रा ओरालोतिर धकेलिएको देखिन्छ।

नेपालले एकीकृत समाजवादी गठन गरिरहँदा एमालेमै रहेर मुख्यमन्त्री हुने दौडमा लागेका आचार्य त्यही समयदेखि व्यक्तिगतसँगै राजनीतिक रुपमा ओरालो लागेका हुन्।

आचार्यको राजनीतिक स्खलन

सुनसरीको राजनीतिमा कुनै समय पकड बनाएका आचार्यले चाहेअनुसार निर्णय एमाले सुनसरीबाट गराउँथे।

तर, अहिले भने उनको दबदबा खस्किइसकेको जेठ २ मा सुनसरीमा निर्णय कार्यान्वयन गर्दा देखिएको थियो।

जेठ २ मा फर्किएर रमेश बस्नेतलाई जिल्लाको अध्यक्ष बनाउन नसकेपछि सुनसरी एमालेमा आचार्यको निरीहता झल्किएको थियो।

जेठ २ को विषय महाधिवेशनअघिको कुरा भयो। महाधिवेशनपछि उनका विश्वासपात्रहरूले समेत उनको साथ छाड्दै गएका छन्।

माधव नेपाल समूहसंँग एमालेको संस्थापन पक्षले गरेको १० बुँदे सहमतिपछि आचार्यकै कारण एमालेमा बसेका धर्म निरौलाको एमालेबाट भएको बहिर्गमनले समेत अहिले आचार्यको नेतृत्वमा प्रश्नचिन्ह लागेको छ।

आचार्यनिकट कार्यकर्ता नै आज भइरहेको जिल्ला अधिवेशनमा आफ्नो व्यवस्थापनलाई लिएर तनावमा छन्। किनभने कार्यकर्ता व्यवस्थापनमा आचार्यको कुनै सक्रियता नदेखिएको उनीनिकट एक नेताले बताए।

‘खै कसरी व्यवस्थापन हुने हो ?,' उनले प्रश्न गर्दै भने, ‘अधिवेशन प्रतिनिधिको संख्या पनि धेरै छ। अहिले अलिक समस्या छ।'

उनले यसबारे आचार्यसँग कुरा पनि गरिरहेको बताए।

आचार्यको विश्वासपात्र थिए- धर्म निरौला

नेकपा एमालेको नवौँ महाधिवेशनबाट आचार्य सचिव हुँदा निरौला केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

कुनै समय निरौला आचार्यका विश्वासपात्र थिए। आचार्य सचिव भएकै बेला उनकै जोडबलमा निरौला एमाले सुनसरीका इन्चार्जसमेत भएका थिए।

तत्कालीन नेकपा र पछि एमालेको आन्तरिक अन्तरसंघर्षमा माधव नेपाल समूहमा रहेका दुवै नेता १० बुँदे सहमतिपछि एमालेमै बसे।

दशौँ महाधिवेशनसम्म आइपुग्दा नवौँ महाधिवेशनको जस्तो 'पावर'मा भने यी दुवै नेता पुगेनन्।

आचार्य र निरौलाको एमालेभित्र राजनीतिक उचाइ दशौँ महाधिवेशनले पूरै 'यू-टर्न' गरिदियो।

एमाले सचिव रहेका आचार्य दशौँ महाधिवेशनमा सचिवमै पराजित भए। उनी अहिले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य मात्र छन्।

यता केन्द्रीय सदस्य बन्ने आसमा रहेका निरौलाको नाम महाधिवेशनमा ओलीको लिस्टमा नपरेपछि उनले दाबीसमेत गरेनन्।

सुनसरीबाट नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य रहेका जगदीश कुसियत, भगवती चौधरी र तैयब हुसेन दसौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा दोहोरिँदा  निरौला भने ओलीको लिस्टमा अटाएनन्।

एमालेका नेताहरूको पार्टीभित्र रहेको असन्तुष्टीलाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भने अवसरका रुपमा लिए।

इटहरीमा गत आइतबार कार्यक्रम नै राखेर उनले पोलिटब्युरो सदस्य बनाउने वचनसहित निरौलालाई एकीकृत समाजवादीमा प्रवेश गराए।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूले आइतबार इटहरीमा आयोजना गरेको प्रदेश १ स्तरीय अधिवेशनमा निरौलासहित ३ सय २५ जनालाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी प्रवेश गराएका थिए।

बैठकमा नै भाँडभैलो

गत कात्तिक २४ मा सुनसरी एमालेको विस्तारित बैठकमा जेठ २ मा फर्किने विवाद चलिरहँदा बैठकको अध्यक्षता कसले गर्ने भन्ने विवादसमेत उब्जिएको थियो।

जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र वहालवाला अध्यक्ष रेवतीरमण भण्डारीको समूहबीच विवाद भएपछि दुवै जनालाई ’ब्याक’ गरेर तत्कालीन पार्टी इन्चार्ज निरौलाले बैठकको अध्यक्षता गरेका थिए।

तर, आफूले बैठकको अध्यक्षता गर्नुपर्ने भन्दै इटहरी उपमहानगरका मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरीले मञ्चमै पुगेर भाँडभैलो मच्चाएका थिए।

अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि नहुने भन्दै चौधरीले माइक खोसेका थिए।

सोही विवादको दुई दिन बित्न नपाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपाल द्वारिकलालको घरमै पुगे।

एमालेभित्र अझै पनि असन्तुष्टी रहिरहेकै वेला अध्यक्ष नेपालले एमाले प्रदेश कमिटी सदस्य चौधरीको घरमै खाना खाए।

यसपछि के अब चौधरी पनि एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्ने त होइनन् भन्ने प्रश्न सबैको मनमा उब्जिएको थियो।

एमालेको दशौँ केन्द्रीय सदस्यको दाबेदार रहेका चौधरी ओलीको लिस्टमा पर्न नसकेपछि उनले अध्यक्ष नेपाललाई बोलाएर अस्पताल शिलान्यास गराए।

इटहरी-१७ लबिपुरमा व्यक्तिगत निजी जग्गामा अध्यक्ष नेपालले गरेको आँखा अस्पताल भवनको शिलान्यास विवादित भएको थियो।

सुनसरीमा अध्यक्ष नेपालको बढेको सक्रियता

जेठ २ को विवाद चर्किएको जिल्ला भएकाले सुनसरीलाई अहिले अध्यक्ष नेपालले विशेष चासो दिएका छन्।

यी पछिल्ला गतिविधिले अध्यक्ष नेपाल पछिल्लो समय सुनसरीमा निकै सक्रिय छन्।

हिजोआज सुनसरी आउन अध्यक्ष नेपाललाई कुनै विशेष अवसर चाहिँदैन।

एमालेबाट एकीकृत समाजवादीमा गएका एक नेता भन्छन्, ‘एमालेको जिल्ला अधिवेशनपछि एमालेबाट अझ धेरै साथी समाजवादीमा आउनुहुन्छ।’

नेकपा (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन आज र भोलि हुँदैछ।

पदका आकांक्षी धेरै रहेको एमाले अधिवेशनमा ९ सय हाराहारी जिल्ला सदस्य छन्।

तीमध्ये यो अधिवेशनबाट करिब ७ सय जिल्ला सदस्य छाँटिन्छन्।

अधिवेशनबाट छाँटिएका एमाले नेता तथा कार्यकर्ता राजनीतिक ‘स्पेस’ खोज्दै समाजवादीमा जाने प्रवल सम्भावना रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.