पारिश्रमिक नपाएको विषयमा बुझ्न खोज्दा अध्यक्षमण्डल सम्पर्कमा आउन चाहेन

|
विराटनगरको हस्पिटल चोकस्थित संजीवनी अस्पताल।

विराटनगर : मोरङको विराटनगरको एउटा अस्पतालका सञ्चालकले चिकित्सक तथा कर्मचारीलाई दिन बाँकी करोडौं पारिश्रमिक भुक्तानी नगरी अस्पताल बन्द गरेका छन्। विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिले डाक्टर र कर्मचारीलाई दुई करोड रूपैयाँभन्दा बढी दिनुपर्ने पारिश्रमिक नै नदिइ अस्पताल बन्द गरेको हो।

उक्त अस्पतालमा ४ जना डाक्टरसहित १२ जनाको लगानी रहेको छ। आर्थिक संकट परेपछि एक साताअघि अस्पताल बन्द भएको हो। अस्पतालमा कार्यरत ५ जना विशेषज्ञ डाक्टरसहित २४ जनाभन्दा बढी कर्मचारीले पाउनुपर्ने तलब नै नदिई सञ्चालकहरूले हस्पिटल बन्द गरेको अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको गुनासो छ।

एक कर्मचारीका अनुसार हस्पिटलमा कार्यरत ५ जना डाक्टरले ३ वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरूले गत भदौदेखि तलब पाएका छैनन्।

तिर्न बाँकी पारिश्रमिक १० देखि ७० लाख

अस्पतालमा कार्यरत चिकित्सकको १० लाखदेखि ७० लाख रूपैयाँसम्म पारिश्रमिक पाउन बाँकी रहेको चिकित्सकहरूको भनाइ छ। हस्पिटलले पारिश्रमिक नदिएपछि चिकित्सकहरूले नेपाल चिकित्सक संघ कोशीमा १९ पुसमा निवेदन दिएका थिए।

उनीहरूले लामो समयदेखि संजीवनी हस्पिटलमा काम गरे बापतको पारिश्रमिक नपाएको र तलब माग्दा कुनै सुनवाइ नभएको भन्दै संघमा निवेदन दिएका थिए। अस्पतालम वर्षौंदेखि काम गरे बापतको पारिश्रमिक नदिएको गुनासो सुनाउँदै एक डाक्टरले भने, ‘पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिएको छैन। हाम्रो माग सुनवाइ नभएपछि संघमा हामीले संयुक्त रुपमा निवेदन हालेका हौं।’

पारिश्रमिक नदिउन्जेल काम नगर्न संघको सूचना

लामो समयदेखि काम गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मीले पाउनुपर्ने सम्पूर्ण पारिश्रमिक नदिएसम्म कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीका साथै कर्मचारीहरूलाई उक्त अस्पतालमा काम गर्न संघले सूचना जारी गरेको छ। संघका अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिव डा. राजेन्द्र चौधरीले बुधबार सूचना जारी गरेका हुन्।

‘हस्पिटलले लामो समयसम्म चिकित्सकलाई काम गरेको तलब नदिँदा समस्यामा परेका छन्। तसर्थ हालसम्म कार्यरत चिकित्सकको भुक्तानी उक्त अस्पतालले नगर्दासम्म सो अस्पतालमा कामकारवाही नगर्न सम्पूर्ण चिकित्सकहरूमा अनुरोध गरिन्छ। यो सूचना प्रकाशित भएपश्चात उक्त अस्पतालमा काम गरी समस्या उत्पन्न भएको अवस्थामा यो संघ जवाफदेही नहुनेसमेत सूचित गरिन्छ,’ जारी सूचनामा उल्लेख छ।

संजीवनी हस्पिटलको सञचालकहरूमा विनायक पन्त, राजेश प्रसाईं, ओम प्रसाईं, राजकुमार मण्डल, विजय मण्डल, सुरेन्द्र रोय, डा. प्रेरणा दाहाल, डा. अन्जु देव, डा. पवन पराजुली र डा. वरुण देवलगायत छन्। हस्पिटलका अध्यक्ष राजकुमार मण्डल हुन्।

अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले पारिश्रमिक नपाएको विषयमा बुझ्न खोज्दा अध्यक्ष मण्डल सम्पर्कमा आउन चाहेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.