|
फाइल फोटो

पर्वत : शुक्रबारदेखि सुरु भएको नेकपा एमाले पर्वतको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनको प्रक्रिया शनिबारदेखि सुरु हुँदै छ। जिल्लाको नेतृत्वमा पुग्नको लागि आकांक्षीहरूको सङ्ख्या भने धेरै देखिएको छ।

अध्यक्ष पदमा वर्तमान उपसचिव गोविन्द पहाडी, सचिव पदमपाणी शर्मा, प्रदेश कमिटी सदस्य राजु पौडेल, कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर, प्रदेश कमिटी सदस्य मित्रलाल बस्याल र प्रदेश कमिटी सदस्य नै रहेका देवेन्द्रराज पाण्डे चर्चामा रहेका छन्।

अधिवेशन सुरु हुनुपूर्वबाट नै उम्मेदवार हुन इच्छुक रहेकाहरूको बीचमा सहमतिको प्रयास हुँदै आएकोमा अझैसम्म पनि सोहीअनुसार प्रयास भइरहेको एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईँले बताइन्।

नेतृत्व चयनको लागि समूहगत रूपमा छलफल गर्ने तयारी भइरहेको र सर्वसम्मतिबाट नै नेतृत्व चयनको सम्भावना अधिक रहेको उनको भनाइ छ। पर्वतमा कुनै गुट उपगुट नरहेको कारण अधिवेशन स्वस्थ रहने तथा एमाले गुट मात्रै कायम रहने तथा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सहित जनवर्गीय सङ्गठन, अल्पसङ्ख्यक, अपाङ्गता भएका लगायतबाट पनि प्रतिनिधि छनोट गरिएको चापागाईँ बताउँछिन्।

‘चितवन महाधिवेशन पनि देख्नुभयो, हामीहरूबिचमा कुनै पनि तिक्तता छैनन्। हामी सबै एमाले हौँ। एमालेमा कुनै गुट छैन एमाले गुट मात्रै छ,’ उनले भनिन्, ‘सबै क्षेत्रबाट समेटेर प्रतिनिधिहरू चयन गरिएको छ। सकेसम्म सर्वसम्मतिमा नै जिल्ला कार्यसमिति चयन गर्ने प्रयासमा छौँ। चुनावै गर्न परे पनि निकै स्वस्थ तरीकाले हुनेछ।’

उम्मेद्वारहरु स्वयंले खुलेर म यो पदमा लड्छु भनेर प्रचारप्रसार नगरेका कारण कुन पदमा आकाङ्क्षीको सङ्ख्या कति रहेको छ भन्ने यकिन भएको छैन। माथि भनिएका नेताहरूको नाम पनि उनीहरू स्वयंले भन्दा सहयोगीहरूले सामाजिक सञ्जालमा राखिदिएका छन्। मुख्य गरी अध्यक्ष पदका आकाङ्क्षीहरुको नाम बाहिर आएको भए पनि पदाधिकारीमा को को उम्मेदवार रहने भन्ने ठ्याक्कै निधो नभएको उपसचिव गोविन्द पहाडीले बताए।

‘मुख्य पद अध्यक्ष भएकाले त्यसमा आकाङ्क्षा राखेकाहरूको नाम अलिक चर्चामा रहेको हो। हामी कसैले पनि म यो पदको उम्मेदवार भनेर घोषणा गरेका छैनौँ,’ उनले भने, ‘सर्वसम्मतिको आधारमा नै नेतृत्वको चयन गर्ने छलफलमा निरन्तर लागिरहेका छौँ। निर्वाचनमा जानु नपर्ने अवस्था अहिलेसम्म देखिएको छ।’

अध्यक्षमा बन्न चर्चामा रहेकाहरूमध्ये मध्ये उपसचिव गोविन्द पहाडी, सचिव पदमपाणी शर्मा, प्रदेश कमिटी सदस्य राजु पौडेल र कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर सबैभन्दा बलिया प्रतिस्पर्धीहरू हुन्। पार्टीको सङ्गठन बिस्तारमा निकै खटिने गरेका पहाडी सामान्य कार्यकर्ताहरूको माझमा समेत लोकप्रिय मानिन्छन्। सामाजिक सेवामा समेत सक्रिय रहेका कारण कार्यकर्ताको माझमा लोकप्रिय उनी निर्वाचन नै भएको अवस्थामा जित्न सक्ने उम्मेदवारका रूपमा रहेको एमाले कार्यकर्ता बताउँछन्।

जिल्लाको फलेवास नगरपालिकाका प्रमुख समेत रहेका सचिव पदमपाणी शर्मा पनि सङ्गठन विस्तारसँगै कार्यकर्ता रिझाउन सिपालु मानिने नेता हुन्। एमाले राजनीतिमा जिल्लाको दक्षिणी भेगमा उनको प्रभाव राम्रो रहेको मानिन्छ। 

प्रदेश कमिटी सदस्य राजु पौडेल महाशिला गाउँपालिकाका प्रमुख हुन्। पार्टीको राजनीति सँगसँगै लामो समयसम्म गैर सरकारी संस्थामा समेत काम गरेका व्यक्ति हुन्। सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा पौडेल नै जिल्ला अध्यक्ष बन्ने एमालेका केही नेताहरू बताउँछन्।

कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर साधारण नेताका रूपमा चिनिन्छन्। प्रतिनिधि सभा सदस्य पदम गिरी केन्द्रीय सदस्यमा मनोनीत भएसँगै एमाले पर्वतको कार्यवाहक अध्यक्षको रूपमा रहेका उनी पनि पार्टीमा रुचाइएका व्यक्ति हुन्।

सचिव पदमपाणी शर्माका अनुसार शनिवार बिहान आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पेश हुनेछ भने बेलुकाबाट नेतृत्व चयनको लागि छलफल सुरु हुने छ। त्यसका लागि सात ओटा समूह निर्माण गरेर समूहगत रूपमा छलफलको तयारी भइरहेको छ।

पार्टीको ‘हाई कमान्ड’ बाट जुन कुनै हालतमा पनि सर्वसम्मतिमा अधिवेशन सम्पन्न गर्न आदेश दिएका कारण सकेसम्म सर्वसम्मतिमा नै अधिवेशन पूरा गर्ने एमालेको तयारी छ। नजिकिँदै गरेका निर्वाचनहरूका कारण पनि प्रदेश तथा केन्द्रमा प्रतिनिधित्व गर्ने सांसद तथा नेताहरूले खुलेरै पदाधिकारीको पक्षमा देखिएका छैनन्। जिल्लामा सहमतिमा नै मिलाउने गरी उनीहरूले पोखरामा बैठक समेत गरेको एक जना नेताले बताए। उनीहरू गुटको पक्षमा नलागी एक भएको सन्देश दिनका लागि आकाङ्क्षीको पक्ष वा विपक्षमा नदेखिएको ती नेताको भनाई छ।

पर्वतमा एमालेको सक्रिय सदस्यता लिएकाहरूको सङ्ख्या झन्डै सात हजार रहेकोमा उनीहरूबाट चार सय १६ जना प्रतिनिधिहरू छनोट गरिएको छ। जसमा आयोजक एक सय चार जना, दलितबाट ६७ जना, महिलाबाट ७३, जना, खुल्लाबाट एक सय ५२ जना रहेका छन्। यी तीन सय ९६ जनाको पाँच प्रतिशत अर्थात् २० जना भने मनोनीत गरिएका छन्।

निर्वाचन गर्नै पर्ने अवस्था आएमा यी प्रतिनिधिहरूले ९० सदस्यीय जिल्ला कार्यसमिति अन्तर्गत एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव र दुई जना उप सचिव चयन गर्नको लागि मतदान गर्ने छन्। अधिवेशन सम्पन्न गर्नका लागि करिब २१ लाख खर्च हुने अनुमान गरिएको छ।

मुख्य आर्थिक स्रोतका रूपमा जनप्रतिनिधिले गर्ने सहयोग, उम्मेदवारले बेहोर्ने आर्थिक दायित्व र प्रतिनिधिहरूलाई तोकिएको शुल्कबाट झन्डै १९ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ।

जसमा जिल्ला कार्यसमिति सदस्यलाई दुई हजार, पदाधिकारीलाई १० हजार, जिल्ला कमिटी सचिवालय सदस्यलाई पाँच हजार, जनप्रतिनिधि तथा वडाध्यक्षहरूलाई १५ हजार, प्रतिनिधिलाई १५ सय, केन्द्रीय सदस्यलाई १५ हजार, प्रदेश सदस्यहरूलाई पाँच हजार रुपैयाँ सहयोग गर्न भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.