गोर्खा नरेश बडामहाराज पृथ्वीनारायण शाहसँग पैतृक विरासतमा पाएको गोर्खा राज्यलाई विस्तार गरी विशाल गोर्खा साम्राज्य बनाउने महत्त्वाकांक्षा थियो। आफ्ना प्रजाको राय सल्लाह लिई राज्य विस्तार गर्न शुरु गरेको सत्य इतिहासलाई कतिपयले गलत व्याख्या पनि गर्दै आएका छन्।
यसै क्रममा उनलाई नेपालका राष्ट्रनिर्माता भन्ने लेख्ने चलनै चलाए। आफ्नै जीवनकालमा उनले केही राजा रजौटाका राज्य र तिनका अधीनस्थ जनपद राज्यहरू जितेर पुर्ख्यौली राज्यमा विलय गराएका थिए। ती भूभाग मात्र थिए तर संवत् १९८६ मा नेपाल अधिराज्य नामकरण गरिएका प्रमाणित तथ्यहरू छन्।
त्यसैले पृथ्वीनारायण शाहले हालको नेपालको भोगचलनमा रहेको अर्थात् १ नोभेम्बर १८६० तदनुसार संवत् १९१७ कात्तिक ३ गतेमा इष्ट इण्डिया कम्पनीसँग भएको सन्धिअनुसार कायम हुन आएको मेचीदेखि महाकालीभित्रको नेपालका सबै भूभाग उनको पुर्ख्यौली विरासतमा रहेको गोर्खा राज्यमा उनैले विलय गराएका ती भूभागसहित संवत् १९८६ मा गोर्खा राज्यलाई नेपाल नामकरण गरिएको हो भन्ने प्रमाणित तथ्यहरू पाइएका छन्।
उनले हालको नेपालको सिमानाभित्रका कुन कुन भूभागलाई उनले के कसरी गोर्खा राज्यमा विलय गराएका थिए भन्ने विषयमा खोज गरी सत्यतथ्यको आधारमा चर्चा गर्नु वर्तमान समयको माग हो।
राज्य विस्तारका क्रममा पृथ्वीनारायणले द्रव्य शाहद्वारा स्थापित गोर्खा राज्यलाई विस्तार गरेर विशाल गोर्खा साम्राज्य निर्माण गर्ने उनको अभिलाषा भएकै हुनाले सर्वप्रथम पिता नरभूपाल शाहले गोर्खा राज्यमा विलय गराउने प्रयास असफल भएको नुवाकोटलाई तीनपटकको प्रयासमा गोर्खामा विलय गराउन सफल भएका थिए।
यसपछि उनको ससुराली राज्य मकवानपुरलाई गोर्खा राज्यमा विलय गराएको देखिन्छ भने क्रमशः उनको कूटनीतिक रणकौशल र चातुर्यले गर्दा नेपाल खाल्डोभित्र रहेका काठमाडौं‚ पाटन र भादगाउँ राज्य गोर्खामा विलय गराए। यसरी गोर्खा राज्यको राजधानी कान्तिपुरलाई कायम गरेको हो भन्ने तथ्य उनैले श्री श्री पारेखहाङ, चोत्साहाङ, थेगेकहिमहाङ समेतलाई मुकाम श्री कान्तिपुरी-भवन गोर्खाराजबाट गरिदिएको ताम्रपत्रले नै प्रष्ट पारेको छ।
उनैले गोर्खाराजको राजधानी कान्तिपुर (काठमाडौं)लाई कायम गरेपछि पनि पूर्वतर्फ राज्य विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै क्रमशः वल्लो किराँत, माँझ किराँत र पल्लो किराँत लिम्बुवान क्षेत्रभित्र रहेका स-साना राजा रजौटाका अधीनस्थ जनपद राज्यमाथि विजय गर्दै कनका तिष्टा नदीसम्मका भूभाग गोर्खा राज्यमा विलय गराए।
यसै क्रममा पृथ्वीनारायण शाहले केहीसँग युद्ध सँगसँगै सन्धि पनि गरे। संवत् १८३१ साल मिति श्रावण सुदि २२ रोज २ बारका दिन मुकाम कान्तिपुरबाट गरिदिएको लालमोहर समेतका आधारबाट अरुण नदीपूर्व, कनका तिष्टा नदी पश्चिमभित्रको पल्लो किराँत लिम्बुवान प्रदेशलाई पनि सन्धिका आधारमा गोर्खामा विलय गराएको देखिन्छ।
पूर्वतर्फका ती भूभाग गोर्खा राज्यमा विलय गराएपछि त्यस क्षेत्रमा शासन कायम राख्ने क्रममा उनका उत्तराधिकारी शाहवंशीय गोर्खाली राजाहरूले विभिन्न समयमा अनेकौँ लालमोहर‚ रुक्का कांस्यपत्र तथा त्यस क्षेत्रको साविकको थितिरीति कायम राखिदिने व्यवस्था गरिएका लालमोहरहरू श्री ५ महेन्द्रका शासनकालसम्म कायम थिए। यो तथ्य संवत् २०१७ साल चैत्र २७ गते रोज १ मा श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहले गरिदिएको लालमोहरमा उल्लिखित बेहोराले प्रमाणित गरेको छ।
बडामहाराजको पुर्ख्यौली गोर्खा राज्यको सीमा कहाँ कहाँसम्मको थियो र राज्य विस्तारको क्रममा उनको जीवनकालमा कहाँ कहाँसम्म पुगेको रहेछ भन्ने विषयमा इतिहासकार बालचन्द्र शर्माले नेपालको ऐतिहासिक रूपरेखा पृष्ठ २३४ मा ‘पृथ्वीनारायण शाहको आर्जन’ भनेर यस्तो लेखेका छन् :-
‘गोरखाको सिंहासनमा बस्दा पृथ्वीनारायण शाहको पैतृक राज्यको विस्तार उत्तरमा हिमालय, दक्षिणमा सेती नदी (सेती गण्डकी), पूर्वमा त्रिशूल गण्डकी एवं पश्चिममा माथि चेपे तल मर्स्याङ्दी थियो। परन्तु, आफूपछि आफ्ना उत्तराधिकारीहरूका लागि उनले जुन राज्य छोडे‚ त्यो वर्तमान नेपाल देशको क्षेत्रफलको पुगनपुग आधा थियो। यो राज्य उत्तरमा रसुवा गढी, दक्षिणमा मोरङ, हनुमाननगर, पूर्वमा दार्जीलिङ र पश्चिममा मर्स्याङ्दी र चेपेसम्म विस्तृत थियो।’
यसै सन्दर्भमा किराँत इतिहासकार इमानसिं चेम्जोङको लेखाइ पनि सान्दर्भिक हुन आए पनि उनले लेखेको इतिहास गोर्खा देशको नाम नेपाल पारिएपछि मात्र लेखिएको देखिन्छ। उनको लेखाइअनुसार:-
‘शाह शासकबाट ५२ वटा ससाना राज्यमा सैनिक विस्तार गरी नेपाल देश बनेको हो। पश्चिमतिर बाईसे र चौबीसे राज्य। उपत्यकाका तीनवटा मल्ल राज्य भादगाउँ‚ कान्तिपुर र ललितपुर। पूर्वमा सेन राज्यतर्फ मकवानपुर चौदण्डी र विजयपुर। अधिकांश ती राज्यहरू गोरखाली सेनाले युद्धमा पराजित गरे। तर पल्लो किराँतको विजयपुर राज्यमा गोरखाली सेनाले दोस्रोपल्ट आक्रमण गर्दा पनि दस सर्दार लिम्बूहरूले डटेर मुकाविला गर्दा गोरखाली सेनाले पराजय भोग्नु पऱ्यो। अन्त्यमा गोर्खाली सेनाले कूटनीतिक रणनीतिक रूपमा दश सर्दार लिम्बूहरूबीच एकआपसमा बेमेल गराउन सफल भए। त्यसैले संवत् १८३१ श्रावण २२ गतेको तसल्ली लालमोहरबाट पल्लो किराँत लिम्बुवान नेपाल अधिराज्यमा सम्मिलित भएको हो।’ - (लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह- भगिराज इङ्नाम)।
किराँत इतिहासकार इमानसिं चेम्जोङको भनाइअनुसार शाह शासकबाट ५२ वटा ससाना राज्यमा सैन्य विस्तार गरी नेपाल देश बनेको हो भनेर इतिहास लेखेको देखिन्छ। तर यो देशका कतिपय स्वनामधन्य विद्वान्हरूले इमानसिं चेम्जोङको इतिहासलाई आधार मान्दै, शाह शासकबाट ५२ वटा ससाना राज्यमा सैनिक विस्तार गरी नेपाल देश बनेको हो भन्ने वाक्यलाई आफूखुशी व्याख्या गरे।
यी ५२ वटा राज्यहरू नेपालका थिए र यी राज्यहरूलाई पृथ्वीनारायणले एकीकरण गरेर हालको नेपाल बनाएका हुनाले उनी नेपालका राष्ट्र निर्माता हुन् भन्दै लेख्दै आएका छन्। ५२ वटा राज्य भनेका कुन कुन हुन् भनेर कसैले पनि नाम किटेर लेखेको पाइएको छैन। शाह शासकबाट भनिएको बेहोरालाई आफूखुशी अर्थ्याएर पृथ्वीनारायण शाहबाट हालको नेपाल देश निर्माण भएको हो भन्ने बनावटी बखानलाई सत्य मानेर उनीलाई राष्ट्रनिर्माता नै हुन् भन्न र लेख्न कसरी मिल्छ ?
उनको पैतृक विरासत गोर्खा राज्य विस्तारका क्रममा पूर्वतर्फको विजय अभियानबारे मोटामोटी रूपमा माथि उल्लेख भइसकेको छ। गोर्खा राज्यको पश्चिमतर्फ कहाँकहाँ कहिलेकहिले कुन कुन ठाउँमा के कसरी युद्ध हुन गएको थियो र पृथ्वीनारायणको जीवनकालमा कुन कुन राज्यका भूभाग गोर्खा राज्यमा विलय गराइएका रहेछन् भन्ने विषय बुझ्नु पर्छ।
दूरदर्शी तथा महत्त्वाकांक्षी पृथ्वीनारायण शाहले शुरु गरेको राज्य विस्तार अभियानका क्रममा आफ्नो गोर्खा राज्यको पश्चिमतर्फका चौबीसी राज्यलाई जसरी भए पनि गोर्खामा विलय गराउन काजी वंशराज पाँडे, सरदार कहरसिंह बस्नेत, प्रभु मल्ल लगायतका योग्य सेनानीहरू खटाए। त्यसबाट रिसिङ, ढोर, गह्रुँ, पय्युँ र भीरकोटलाई गोर्खा राज्यमा विलय गराए।
त्यसपछि बाध्य पारिएका लमजुङे राजा हरकुमार दत्तसेन पनि आफ्ना सेनासहित गोर्खा सेनालाई सघाउन पुगे। लमजुङे राजाले गोर्खाली फौजलाई सघाएपछि सुरिएका गोर्खालीले कास्कीमाथि पनि धावा बोलेका थिए।
यसै मौकामा सशङ्कित बनेका पर्वतका राजा कीर्तिबम मल्लले केही चौबीसी राज्यको सहायता लिएर सेना खडा गरी गोर्खा राज्य विस्तार रोक्न गोर्खाली फौजलाई युद्धको हाँक दिए। जहाँ भएको युद्धमा सरदार कहरसिंह बस्नेत मारिए। काजी वंशराज पाँडे घाइते भएकै अवस्थामा पर्वतका राजा कीर्तिबम मल्ल नेतृत्वको फौजले उनलाई पक्राउ गरी कैदी बनाई पर्वत पुऱ्यायो। यसबाट साहस टुटेको गोर्खाली फौज युद्ध छोडेर ढोरतर्फ फिऱ्यो।
यसैबीच ढोर पनि गोर्खाको कब्जाबाट मुक्त भइसकेकाले गोर्खाली फौज ढोरका सेनाको घेराबन्दीमा परेर १४ दिनसम्म बस्नु परेको थियो। आफ्ना सरदार कहरसिंह बस्नेत मारिएको तथा काजी वंशराज पाँडेलाई कैदी बनाएर पर्वत लगेको र आफ्नो फौज ढोरको घेरामा परेको थाहा पाएपछि पृथ्वीनारायणले घेरामा परेको फौजको सहायताका लागि सेना पठाए।
सेना ढोर नपुग्दै, ढोरका सेनाको कब्जाबाट कुनै जुक्तिले फुत्किएको गोर्खाली सेना मर्स्याङ्दी पार गरी सुरक्षित अनुभव गर्दै रित्तो हात फर्किए। फर्किदै गरेको अवस्थामा दुवै सेनाको सतिघाटमा भेट भएपछि दुवै सेना एक भएर तत्कालीन गोर्खा राजको राजधानी कान्तिपुर फर्किएका थिए।
त्यस युद्धमा सरदार कहरसिंह बस्नेतका साथै धेरै वीरले वीरगति पाए। काजी वंशराज पाँडे युद्धमा घाइते भई शत्रुको सेनाले पक्रिएर कैदी बनाई पर्वत लगे। गोर्खा राज्यको अधीन बनाएका रिसिङ, ढोर, गह्रुँ, पय्युँ र भीरकोट समेत पर्वतका राजा कीर्तिबम मल्लकै कारणले गोर्खा राज्यले गुमाउनु परेको थियो। फलतः चौबीसी राज्यहरूलाई गोर्खा राज्यमा विलय गराउने प्रयास असफल भएको थियो।
बडामहाराजले आफ्नो जीवनकालमा जे जति आर्जन गरी गोर्खा राज्यमा विलय गराएका थिए। त्यसपछिको उनको गोर्खा राज्यको सीमा उत्तरमा रसुवा गढी, दक्षिणमा मोरङ, हनुमाननगर, पूर्वमा दार्जीलिङको कनका तिष्टा नदी र पश्चिममा मर्स्याङ्दी र चेपेसम्म मात्र रहेको देखिन्छ।
राज्य विस्तारको अभियान शुरु गर्ने बडामहाराज पृथ्वीनारायणले आफ्नो जीवनकालमा माथि उल्लेख गरिएका राजा रजौटा अधीनस्थ जे जति जनपद राज्यहरू गोर्खा राज्यमा विलय गराए नेपाल नामकरण गर्नुभन्दा अघिको गोर्खा राज्यका भूभाग के कति थिए भनेर खोजी गर्नुपर्ने होइन र ?
संवत् १९८६ मा साविकको गोर्खा राज्यको नाम बदलेर नेपाल नामकरण गरेका समयमा जेजति भूभाग यो देशको अधिनमा रहेका थिए ती सबै भूभाग पृथ्वीनारायण शाहले गोर्खा राज्यमा विलय गराएकै हुन् भनेर मान्ने प्रमाणित आधार नै छैन।
त्यसैले गोर्खा राज्य विस्तार गर्न शुरु गर्ने पृथ्वीनारायण दूरदर्शी गोर्खाली राजा हुन् तर उनलाई नेपालका राष्ट्रनिर्माता हुन् भन्न हुँदैन।
जुन सालमा गोर्खा राज्यको नाम बदलेर नेपाल नामकरण भयो त्यो सालमा नेपालको सीमा इष्ट इण्डिया कम्पनीसँग सन् १८६० मा भएको सन्धिबाट कायम हुन आएको पूर्वमा मेची र पश्चिममा महाकाली नदी‚ उत्तरमा हिमालय पर्वत र दक्षिणमा भारत हो भन्ने थियो‚ जो आजसम्म भनिँदै छ। वर्तमान नेपालको सीमा र पृथ्वीनारायणले गोर्खा राज्यमा विलय गराएका भूभागको सिमानामा आकाश जमिनको फरक भएकाले उनलाई अहिलेको देशका राष्ट्र निर्माता भन्नु अन्याय हुन्छ।
विभिन्न राजा रजौटाले राज्य गरिरहेको हालको भारतमा फिरङ्गीहरूको बढ्दो प्रभाव देखेपछि त्यो प्रभाव रोक्न उनले गोर्खा राज्य विस्तार गरेका थिए। यो अभियान शुरु गर्नु सामान्य कुरा थिएन।
उनको दूरदर्शिता र वीरतालाई जति प्रशंसा गरे पनि पुग्दैन। पृथ्वीनारायण महाननायक हुन्, यो देश उनी र उनका उत्तराधिकारी शाहवंशीय गोर्खा राजाहरूका नेतृत्व र अभिभावकत्वमा गोर्खाहरूले निर्माण र संक्षण गरेको हुनाले ती सबै राजा यो देशका राष्ट्र निर्माता हुन्, राष्ट्रिय विभूति हुन्। तर पृथ्वीनारायण शाहलाई हाल नक्सामा खुम्च्याएर राखिएको नेपालका राष्ट्र निर्मातामा मात्र व्याख्या गरिनु न्याय हुन सक्दैन।
यद्यपि उनको राज्य विस्तारको अभियान प्रतापसिंह शाह, राजेन्द्र लक्ष्मी, बहादुर शाहको नेतृत्वमा पूरा हुँदै आएको हो‚ जसको सपना पृथ्वीनारायणले नै देखे र अभियान थाले। त्यसैले राज्य विस्तारको अभियानको कुरा गर्दा उनीहरूको पनि स्मरण गरिनु तर्कसंगत हुन्छ।
अब नेपाल होइन यो देशको नाम पहिचान गोर्खा नै कायम गरेर तत्कालीन गोर्खाली सेनाले जितेका र राजाले चतुर ढंगले सन्धि सम्झौता गरेर यस मातहत ल्याएका भूभागमाथिको अधिकार स्थापित गरिनु पर्छ।
मेची महाकालीको सीमित घेरामा राखिएको नेपाल राज्य होइन‚ टिष्टादेखि काँगडासम्म फैलिएको विशाल गोर्खा साम्राज्यको सपना देख्ने नायक पृथ्वीनारायणको स्मरण गर्नु सान्दर्भिक र सार्थक हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।