|

हेटौंडा : हेटौंडा–९ स्थित श्री त्रिभुवन आधारभूत विद्यालयको भवनको माथिल्लो पट्टि फलामको एउटा ठूलो डिब्बा देखिन्छ। त्यही ठूलो डिब्बामुनि दैनिक विद्यालयका कैयौं बालबालिका खेलिरहेका हुन्छन्।

विद्यालयको भवनबाट धेरै माथि दूरीमा नरहेको त्यस्तो डिब्बा हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैसेखानीसम्मै देख्न सकिन्छ।

पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडा आउनेहरूले पनि हेटौंडा–१० राप्ती किनार नजिकै तारमा झुण्डिरहेका डिब्बा देख्न सक्छन्। ती डिब्बा ३६ वर्षदेखि त्यसरी नै झुण्डिएका छन्। 

करिब २० वर्षसम्म ती डिब्बाहरू सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगका लागि चुनढुंगा ओसार्न प्रयोग भए पनि २०६२ सालदेखि भने पूर्ण रूपमा बन्द छ।

नेपालको सरकारी सिमेन्ट उद्योगका लागि चुनढुंगा र अन्य कच्चा पदार्थ ओसारपसार गर्न सञ्चालनमा ल्याइएको ऐतिहासिक रोपवे १६ वर्षदेखि बन्द छ।

डेढ दशकदेखि चल्न नसकेको रोपवे जीर्ण मात्रै भएका छैन, आसपास भएका विद्यालय र समुदायका लागि काल बनेको छ।

रोपवे सञ्चालनमा ल्याएर बन्द गरेको हेटौंडा सिमेन्टले त्यसको व्यवस्थापन गर्न सकेको छैन। उद्योगले न त रोपवे सञ्चालनमा ल्याउन सकेको छ न त त्यसको व्यवस्थापन नै गर्न सकेको छ।

रोपवेलाई लिलाम गर्ने प्रयास गरे पनि भने जति रकम नपाएपछि उद्योग मौन बसेको जनाएको छ। जसले गर्दा खिया लागेको रोपवेका डिब्बा कतिवेला लट्ठा चुँडिएर झर्ने हो भन्ने त्रासमा त्रिभुवन आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीहरू छन् भने अन्य स्थानीय बासिन्दालाई उस्तै तनाव छ।

रोपवे पुरानो र जीर्ण हुँदै जाँदा जुनसुकै वेला चुँडिएर झर्ने र विद्यालय भवनसँगै विद्यार्थीहरूलाई पनि जोखिम हुने चिन्ता रहेको विद्यालयकी प्रधानाध्यापिका सुशीला पौडेलले बताइन्।

उनले भनिन्, ‘विद्यालय नजिकै रोपवे छ। जुन दिनप्रति दिन झन् पुरानो र जीर्ण बन्दै गएको छ। त्यसैले कुन दिन यो चुँडिएर झरेर विद्यालय र विद्यार्थीलाई जोखिम पुर्‍याउने हो कि भन्ने हामीलाई चिन्ता छ।’

राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातीर्थसम्मको २२ किलोमिटरमा रोपवे लाइन बनाएका थिए। यही रोपवेमार्फत धुर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गर्थे।

यसरी सामान ओसार्न बनाइएको रोपवेले सजिलो भएपछि त्यसैलाई पछ्याउँदै हेटौंडा सिमेन्टले पनि आफ्नो सामान ओसार्न रोपवे सञ्चालनमा ल्याएको थियो। उद्योगले २०४२ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुंगा ढुवानी गर्न सञ्चालनमा ल्याएको रोपवे २०६२ सालदेखि बन्द छ।

२०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डीनजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो। दुई दशकसम्म भैंसेखानीबाट चुनढुंगा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको छैन।

टावर, स्टेशन, सबस्टेशन भत्कने, क्यारियरहरू पनि झर्ने गरेपछि उद्योगले रोपवे पुनः निर्माण गरेर सञ्चालनमा ल्याउनुको सट्टा सवारीसाधनलाई कच्चा पदार्थ ओसार्न प्रयोग गर्न थाल्यो।

करिब १० करोड लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि बन्द गर्नुपरेको उद्योगको कामु प्रबन्धक रामबाबु शाहले बताए। उनका अनुसार रोपवेबाट कच्चा पदार्थ ढुवानी गर्दा महँगो परेपछि उद्योगले त्यसको मर्मत नगरेर वैकल्पिक माध्यमबाट कच्चा पदार्थ आयात गर्न थालेको थियो।

‘रोपवेबाट भन्दा ठेक्का सम्झौता गरेर गाडीबाट नै कच्चापदार्थ ढुवानी गर्दा सस्तो पर्ने भएपछि हामीले रोपवे सञ्चालन गर्न छोडेका हौं’, उनले भने।

शाहले पुरानो र जीर्ण भएको रोपवे मर्मत गर्न आवश्यक सामग्री पनि पाउन गाह्रो भएकाले उद्योगले त्यसको पुनःनिर्माणमा ध्यान नदिएको बताए।

बाढीपहिरोले क्षति पुगेपछि रोपवे मर्मतमै ३ करोड खर्च हुने भएपछि बेच्ने विकल्प उद्योगले सोचेको थियो तर भनेजति मूल्य नपाउँदा हालसम्म विक्री हुन सकेको छैन।

प्रतिघण्टा ३ सय मेट्रिकटन चुनढुंगा ढुवानी गर्ने क्षमता रहेको रोपवेको शुरुमा १६५ वटा बकेट (क्यारियर) रहेकोमा बिग्रिएर झर्दै गएपछि १४० जति बाँकी रहेको उद्योगले जनाएको छ।

श्री रामभक्त हनुमान सेवा समिति हेटौंडाले उद्योगका महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि सञ्चालन नभएको र पार्टपुर्जा सडेर जीर्ण बन्दै गएकाले जुनसुकै वेला चुँडिएर मानवीय क्षति हुनसक्ने भन्दै हटाउन माग गरेको थियो। तैपनि उद्योगले हालसम्म त्यसलाई हटाउन सकेको छैन।

हेटौंडा सिमेन्ट उद्योगले ३÷४ पटक लिलाम प्रक्रिया अघि बढाएको भए पनि करोडौं मूल्यको रोपवे उपकरण बिक्री हुन सकेको छैन।

लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको रोपवेको उपकरण बिक्रीका लागि उद्योगले पटक–पटक लिलाम सूचना प्रकाशन गरिरहे पनि बिक्री हुन नसकेको कामु प्रबन्धक शाहले बताए।

हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुंगा भैंसेखानीबाट ढुवानी गर्न बनाइएको रोपवे बिक्री गर्ने निर्णय गरे पनि खरिदका लागि कसैले चासो नदेखाएपछि उद्योगले पटकैपिच्छे मूल्य घटाउँदै सूचना समेत निकालेको थियो।

तैपनि कसैले खरिदका लागि चासो नदेखाएकाले हालसम्म रोपवेको व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।

उद्योगले पहिलोपटक जारी गरेको सूचनामा रोपवे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३ सय ५२ रुपैयाँ कायम गरिएको थियो।

खरिदकर्ताको अनिच्छापछि उद्योगले दोस्रोपटक ४ करोड ६१ लाखमा झारेको थियो। दोस्रो पटकमा पनि कोही इच्छुक नभएपछि उद्योगले पुनः मूल्य घटाएर २ करोड ८० लाख कायम गरे पनि रोपवे विक्री हुन सकेन।

यसले विगत १६ वर्षदेखि बन्द रोपवे हालसम्म अलपत्र अवस्थामा छ। चुनढुंगा बोकेर भैंसेबाट उद्योगतर्फ आएको रोपवे हालसम्म जस्ताको त्यस्तै अवस्थामा चुनढुंगासहित झुण्डिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.