|

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड। जो भूगोल र सौन्दर्यका हिसाबले एकदमै महत्त्वपूर्ण मानिन्छ। जसको नाम सुन्नासाथै जाऊँ जाऊँ लाग्छ। खप्तडलाई भूस्वर्गका रूपमा पनि चिनिन्छ।

जो कोहीलाई लोभ्याउने आकर्षक गन्तव्य खप्तडलाई नेपालको स्वीजरल्याण्ड पनि भन्ने गरिन्छ। त्यसमाथि अचेल भएको हिमपातले खप्तड झनै मुस्कुराएको छ।

वैशाखजेठमा फूलले रङ्गीचङ्गी देखिने खप्तड अहिले चारैतिर हिउँले सेताम्मे भएको हो। केही दिनयता परेको हिउँले खप्तडको सुन्दरता नै फरक देखिएको छ।

हिउँले खप्तडका डाँडाकाँडा रमणीय भएका छन्। हिमपातपछि भूस्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ। वर्षमा ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दुहरूको पवित्र तीर्थस्थल मानिन्छ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको भूभाग ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटरमा फैलिएको छ।

समुद्री सतहबाट २,४०० देखि ३,७०० मिटर उँचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक।

कुनै वेला खप्तड बाबाले ५० वर्ष तपस्या गरेको यो भूमि प्राकृतिक सुन्दरता अनि जैविक विविधताको पनि खानी हो।

खप्तड संसारकै राम्रो स्थानमा पर्दछ। ५० वर्षअघि खप्तड बाबाले खप्तडमा तपस्या समेत गरेका थिए। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्।

खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिवमन्दिर, सहस्रलिंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्।

सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ तर हिजोआज पनि हिउँ खेल्न पर्यटकहरू खप्तड पुग्ने गरेका छन्।​

तस्वीर सौजन्य : दीपकबहादुर खड्का

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.