|

काठमाडौं :  पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिइरहेको छ। नेपाललगायत नेपालीको श्रम गन्तव्य मुलुक पनि यस भेरियन्ट फैलिरहेको छ। जसको प्रत्यक्ष असर वैदेशिक रोजगारी क्षेत्रमा पर्न थालेको छ। 

कोरोना भाइरसको महामारीका कारण करिब दुई वर्षदेखि थला परेको वैदेशिक रोजगारी क्षेत्र कोरोनाको जोखिम कम भएसँगै भर्खरै लयमा फर्किंदै थियो। बिस्तारै लयमा फर्किंदै गरेको यस क्षेत्रलाई ओमिक्रोनले थला पर्ने व्यवसायीहरू बताउछन्।

ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका मुलुकका रोजगारदाता कम्पनीले कामदार नपठाउन नेपालका म्यानपावर कम्पनीलाई पत्राचार गर्न थालेको  छन्। रोजगारदाता कम्पनीले कामदार कटौतीको पत्राचार गर्न थालेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए।

म्यानपावर व्यवसायीका अनुसार विभिन्न देशबाट करिब १ लाख ५० हजार जनाको माग आएको छ। जसमा ९० हजारभन्दा बढीको पूर्व श्रम स्वीकृति समेत जारी भइसकेको छ।  विशेष गरी खाडी मुलुकमा ओमिक्रोन भाइरस फैलिएसँगै रोजगारदाता कम्पनीले ३० प्रतिशतसम्म कोटा कटौती गरिरहेको श्रेष्ठको भनाइ छ। कोटा कटौती गरेका कम्पनीले ओमिक्रोनको कारण देखाउँदै कामदार नपठाउन मेलमार्फत पत्राचार गरिरहेको व्यवसायीहरूले बताएका छन्। 

महासचिव श्रेष्ठका अनुसार नेपालीको प्रमुख श्रम गन्तव्य साउदी अरब, युएई, कतार, ओमान, कुवेत र बहराइनका कतिपय कम्पनीले ओमिक्रोन भाइरस फैलिएको भन्दै नेपालबाट कामदार तत्काल नलिने जानकारी  गराएका छन्। ओमिक्रोनका कारण धेरै मागपत्र रोजगारदाता कम्पनीले खारेज गर्दा समग्र वैदेशिक रोजगारीको क्षेत्रमा प्रभाव पर्ने उनको भनाइ छ।

रोजगारदाता देशमा पछिल्लो समय ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिन थालेको र त्यसको प्रत्यक्ष प्रभाव नेपालको वैदेशिक रोजगारी क्षेत्रमा पर्ने वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन्। वैदेशिक रोजगारी क्षेत्रमा सरकार गम्भीर नहुँदा समस्या देखिएको उनको भनाइ छ। ‘देशमा रोजगारीको सिर्जना गर्न सक्ने अवस्था छैन‚’ गुरुङले भने, ‘गत वर्ष कोरोनाको समयमा श्रमिकका लागि भन्दै ल्याएको पुनः एकीकरण योजना हालसम्म कार्यान्वयन हुन सकेको छैन।’

कतिपय रोजगारदाता कम्पनीले बुस्टर डोज अनिवार्य गरेका छन्। तर सरकारले विदेश जाने कामदारलाई बुस्टर डोजको व्यवस्था पनि गर्न नसकेको गुरूङ बताउँछन्।

कोराना कै कारण दुई वर्षको अवधिमा करिब तीन लाख मानिसले रोजगार गुमाएका थिए। सरकारले वैदेशिक रोजगार क्षेत्रलाई बेवास्ता गरिरहँदा फेरि अर्को समस्या हुने डा. गुरूङ बताउँछन्।

वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा संस्थागत तथा व्यक्तिगत र पुनः श्रम स्वीकृति गरेर ६९ हजार ४४३ जना विदेशिएका छन्। यो संख्या दुई वर्ष यताकै उच्च हो। यसरी लयमा फर्किंदै गरेको वैदेशिक रोजगारी क्षेत्रमा ओमिक्रोनले फेरि थाल पर्ने देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.