कसरी छुटाउने मोबाइल र अनलाइन गेमको लत ?

|

काठमाडौं : गत महिना कीर्तिपुर बस्ने रामजी आचार्यको क्रेडिट कार्डमार्फत करिब २५ हजार रुपैयाँ रकम निकालियो। आचार्यले यो कुरा बैंकले दिएको बिलबाट थाहा पाए। तर, उनले आफ्नो क्रेडिट कार्डबाट कुनै कारोबार गरेका थिएनन्। त्यसपछि श्रीमतीलाई सोधे, श्रीमतीले पनि कार्ड आफूले नचलाएको बताइन्।

उनले छोरालाई सोधे। छोरालाई क्रेडिट कार्डको पिन नम्बर थाहा थियो। तर, सुरुमा छोराले पनि पैसा ननिकालेको बताए।

मोबाइल चलाइरहने भएकाले आचार्यले छोरालाई फकाए। केहि दिनपछि थाहा भयो, छोरा पब्जीको लतमा रहेछन्।

उक्त पब्जी खेल्नका लागि क्रेडिट कार्ड प्रयोग गरेको आचार्यले चाल पाए। पब्जीमा ६ हजार युसी भन्ने आवश्यक सामग्री उनले किनेका रहेछन्। आचार्य आश्चर्यमा परे। केही दिनअघि कीर्तिपुर यातायातमा यात्रा गर्दै गर्दा उनले पङ्क्तिकारलाई यो कुरा सुनाएका थिए।

केही दिनअघि कपनमा पब्जी लतमा रहेका दुई प्रेमी प्रेमीका कोठामा मृत भेटिएपछि सहकर्मीले पनि आफ्नै घरमा घटेको घटना सुनाए। उनका भतिजले हरेक दिन खाजाको पैसा र आफन्तले दिने पैसा जोगाएर राख्दा रहेछन्। किन त? त्यहि पब्जीमा पाइने युसी किन्न। अचेल समाजमा यस्ता घटना सामान्य भएका छन्।

मोबाइलको लत र मोबाइलभित्र पाइने अनलाइन गेमले आम बालबालिका 'कु'लतमा फसेका छन्।  मोबाइलको गलत प्रयोगले बालबालिकाको जिन्दगी नै बर्बादीतिर धकेलिएका उदाहरण पनि प्रशस्तै छन्।

करिब २ वर्षअघि मनोविज्ञ अनन्त केसीकहाँ एक दम्पत्ति आफ्नो बालकलाई लिएर आए। ५ कक्षामा पढ्ने ती विद्यार्थी नेपालको नाम चलेको विद्यालयमा पढ्थे। त्यहाँका अधिकांश विद्यार्थीले लुकाइ लुकाइ मोबाइल बोकेर जाने रहेछन्।

'एकदिन 'वासरुम' जाँदा साथीहरुले उनको प्राइभेट भिडियो खिचेछन्। त्यहि भिडियो देखाउँदै उनलाई 'ब्ल्याकमेलिङ' गर्न थालेछन्। त्यसपछि ती बालक डिप्रेसन र एन्जाइटीको शिकार भएछन्।' 

केसी भन्छन्, 'उनले एकदमै छिटो रिसाउने, झर्किने, घरमा सामान तोडफोड गर्ने, टेलिभिजन फुटाउनेजस्ता अस्वभाविक व्यवहार देखाउन थाले। आफ्नो बच्चामा आएको अस्वभाविक परिवर्तनका कारण हैरान भएका अभिभावकले मकहाँ ल्याएका रहेछन्।'

अहिले ती बालक अर्को विद्यालयमा पढ्छन्। तर, विद्यालयमा फेर्दा पनि  उनको समस्या समाधान भएको छैन। 

उनलाई अहिले 'बिहेवियर थेरापी'को जरुरत छ। उनले बानी व्यवहार सुधारसम्बन्धी त्यो उपचार गरिरहेका छन्।

अचेल मोबाइल, मोबाइलमा पाइने अनलाइन गेम, सामाजिक सञ्जालको गलत प्रयोगले बालबालिका र किशोरावस्था उमेर समुहमा समस्या थप विकराल बन्दै गएको छ।

बच्चाको मनोविज्ञानमा प्रभाव

अचेल नेपालका अधिकांश बालबालिकालाई भाइरल बनाउने नाममा टिकटक, फेसबुक तथा इन्स्टाग्राममा फोटो तथा भिडियो हाल्ने गरिदिन्छन्। भाइरल हुने नाममा उनीहरु मोबाइल र इन्टरनेटको 'कु'लतमा परिरहेका छन्।

उसै पनि इन्टरनेटको दुनियाँ एउटा 'मल्टिनेशनल बजार' जस्तै हो। जहाँ उपयोगी कुरा त पाइन्छ नै, त्यो भन्दा बढी बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने वस्तु पनि सजिलै पाइन्छ।

जहाँ अनलाइन गेमदेखि एडल्ट दुनियाँमा बालबालिकाले सिधै प्रवेश पाउँछन्। मनोविज्ञ केसीको बुझाई अनुसार  बच्चा र किशोरावस्था उमेर समूहलाई सुविधा दिने नाममा अभिभावकले नै बालबालिकालाई 'स्क्रिन डिपेन्डेन्सी'को खराब लतमा लगाइरहेका छन्। 

अझ धेरै बालबालिका 'स्क्रिन डिपेन्डेन्सी अर्डर'को शिकार भएका छन्। जसले गर्दा बच्चाहरूलाई खाना खुवाउन, पढ्न र निदाउन पनि स्क्रिनको आवश्यकता देखिएको छ।

'यो उमेर समूहका सबैसँग मोबाइल छ। उनीहरूसँग हाम्रा अभिभावकले कहिल्यै पनि तिम्रो मोबाइल मलाई देउ भनेर कसैले चेक गरेको पाईंदैन। बच्चा रिसाउँछ भनेर हाम्रा अभिभावकले मोबाइल माग्दैनन्। बच्चालाई खुसी बनाउने नाममा बच्चाहरू कसरी मोबाइल चलाइरहेका छन् भन्ने कुरा नै अभिभावकहरू जानकार छैनन्', उनी सुनाउँछन्।

 मोबाइल र इन्टरनेट बालबालिकाको पहुँचमा सजिलै पर्नु नै अहिलेको मुख्य समस्या रहेको केसीले बताए।

अनलाइन गेमले अस्वभाविक परिवर्तन !

अचेल बालबालिका तथा युवाहरू अनलाइन गेम, मोबाइल र टेलिभिजनको नशामा छन्। जसका कारण उनीहरूलाई बाहिरी दुनियाँको आवश्यकता पर्दैन। यसले उनीहरु एकोहोरो हुने, तर समाजमा घुलमिल हुन नसक्ने अवस्थामा छन्।

सामान्य जस्ता लाग्ने यस्ता घटनाले दिगो रुपमा गम्भीर मोड लिन सक्छ।

एउटा बच्चा वा व्यक्ति दिनको १ देखि २ घण्टा स्क्रिन हेर्नुलाई डिसअर्डर मानिँदैन। यदि स्क्रिनबिना उसले केहि काम गर्न सक्दैन भने त्यो समस्या हो।

नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिकाहरू मोबाइल र अनलाइन गेमले एक्लोपन रुचाउने, घरमा पाहुना आउँदासमेत रिसाउन थालेको सुनाउँछन्।

'समाजको संस्कारबाट अलग्गिएर बच्चाहरू मोबाइलको दुनियाँमा रमाइरहेको भेटिन्छन्', उनी सुनाउँछन्। पछिल्लो १० वर्षमा बालबालिकाको मनोविज्ञान मोबाइलका कारण बिग्रिरहेको आफूले भेट्टाएको उनले बताए।

'स्क्रिन डिपेन्डेन्सी डिसअर्डर' बाट कसरी छुटाउने?

नेपालमा अचेल सुनिन थालेको अर्को शब्द 'फ्यामिली प्लानिङ' हो। यसको अर्थ अधिकांश नेपालीले जन्मान्तरका रुपमा मात्र बुझिरहेका छन्। मनोविद केसी भन्छन्, 'फ्यामिली प्लानिङ' समग्र बच्चाको व्यवस्थापन र संरक्षणसँग जोडिएको विषय हो।'

बच्चाहरूलाई समग्र 'स्क्रिन'को कुलतबाट छुटाउनका लागि अभिभावकहरू बढि सचेत हुनुपर्ने केसीले बताए।

'बच्चालाई के दिने? कसरी दिने? कति दिने? कति नदिने भन्ने कुरा अभिभावकले जान्ने कुरा हो। आफूले नसके मनोपरामर्श दातासँग बसेर परामर्श लिनुपर्छ', केसी भन्छन्, 'बच्चालाई पढ् पढ् भनेर आफूले मोबाइल चलाउन थालेपछि कसरी बच्चाले पढ्छ? बच्चालाई पढ्न लगाउनुछ भने आफूले पनि कम्तीमा पुस्तक त लिनुपर्छ नि ! बच्चालाई कस्तो संस्कार हस्तान्तरण गर्ने भन्ने कुरा अभिभावकको व्यवहारले निर्भर गरिदिन्छ।'

मोबाइलमा प्यारेन्टल लकबारे अभिभावक अनभिज्ञ छन्। हरेक बालबालिकाले आफ्नो मोबाइलमा के कस्ता कुराहरू खोजिरहेको छ भन्ने कुरा बुझ्नुपर्ने र मोबाइल प्रयोगमा अभिभावकीय दायित्व पूरा गरे केही मात्रामा बच्चाहरू सिकार हुनबाट जोगिन सक्ने केसीले बताए।

'हामीकहाँ टेक्नोलोजी ट्रान्सफर भयो। तर, टेक्नोलोजीलाई कसरी प्रयोग गर्ने भन्ने ज्ञान ट्रान्सफर हुन सकेन', केसीले थपे।

बालबालिका, परिवार र विद्यालयबीच समन्वय

कोरोनाकालमा भौतिक रूपमा विद्यालय उपस्थित हुन नसकेपछि वैकल्पिक शिक्षाका रुपमा मोबाइलको प्रयोग अत्याधिक भएको हो। जसले गर्दा अहिले बालबालिकालाई मोबाइलको लत छुटाउन अभिभावकलाई चुनाैती जस्तै बनेको छ।

मोबाइलको लतले बालबालिकामा आउने अस्वभाविक परिवर्तनमा परिवारपछि चाल पाउने भनेको विद्यालयले हो। त्यसैले विद्यालयका शिक्षक शिक्षिकाले पनि बाल मनोविज्ञानको आधारभूत कोर्ष गर्नुपर्ने देखिएको अभिभावक संघका अध्यक्ष भण्डारी बताउँछन्।

विद्यालय, अभिभावक र विद्यार्थी राखेर बेला बेलामा काउन्सिलिङ आवश्यक रहेको भण्डारीले बताए।

'अभिभावकहरूले आफ्नो व्यस्ततामा फुर्सद निकाल्न सकिरहेका छैनन्। जसले गर्दा उनीहरूले बच्चाको पढाई, स्वभावबारे विद्यालयमा निरीक्षण गरिरहेको पाईंदैन। जसले समस्या जटिल बनाइरहेको छ', उनले भने, 'विद्यालय, अभिभावक र विद्यार्थीको समन्वय आवश्यकता छ।'

विकराल अवस्थामा सरकारको मौनता

पछिल्लो समयमा इन्टरनेट, मोबाइल र अनलाइन गेमले बालबालिकाको मानसिक अवस्थामा ल्याएको परिवर्तनबारे परिवार, समाज र राज्य गम्भीर हुनुपर्ने देखिएको छ।

प्रत्येक नागरिकको जीवनरक्षाका बारेमा सरकार जिम्मेवार हुनुपर्छ। हरेक दिन  मोबाइल र इन्टरनेटका कारण नागरिकको जिउ धनमा हानी भइरहेको छ भन्ने चाल पाएपछि न्यूनीकरण गर्न कदम चाल्न जरुरी रहेको अध्यक्ष भण्डारी बताउँछन्। 

'हामीले शिक्षा मन्त्रालयलाई पटक-पटक इन्टरनेटमा पाइने विभिन्न गेम र वेबसाइटहरू बन्द गर्न आग्रह गरेका छौं। तर, शिक्षा मन्त्रालयले यो हाम्रो कार्यक्षेत्रमा पर्दैन, हामी संचार मन्त्रालयमा भन्छौं भन्छन्। हामीलाई सरकार केबल सिंहदरबारभित्र रहेको छ भन्ने लाग्छ। विडम्बना अन्तर सरकारको समन्वय नै छैन। यो सरकारको प्राथमिकतामा पनि परेको देखिदैन', उनले भने।  

अनलाइनमार्फत् बालबालिका अपराधसँग जोडिन सक्ने विषय रहेकाले यसमा गम्भीर हुनुपर्ने उनी प्रस्ट्याउँछन्। ​'हामीले इन्टरनेट बन्द गरौ भनेका होइनौं। इन्टरनेटमा आउने विभिन्न गलत कामहरू बन्द गरौं भनिरहेका छौं, तर सुनुवाइ भइरहेको छैन', भण्डारीले थपे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.