|

काठमाडौं : सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउन सुरु गरेको छ। लामो समयदेखि चर्चामा रहेको इजरायल रोजगारीमा ५ माघमा पहिलो पटक १२५ जना नेपाली श्रमिक पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

इजरायलले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरेर एक हजार एक सय ७५ जना श्रमिक छनोट गरेको छ।

तीमध्ये करिब सात सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४३ जनाको भने भिसाको प्रक्रिया पुरा गरेको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।

पछिल्लाे समय पनि इजरायल पठाउने थप काम भइरहेको छ। श्रमिकसँग सम्झौता भइरहेको र सोमबार मात्रै थप ५० जनाको करार सम्झौता भएको विभागले जनाएको छ। 

इजरायलका लागि ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गरिएको छ। सो सूचीमा आठ सय २१ जना महिला र तीन सय ५४ जना पुरुष छन्। इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पुरा गरेका एक देखि एक सय २५ नम्बरसम्मका श्रमिकलाई हवाई टिकट खरिद गर्न वैदेशिक रोजगार विभागले सूचना जारी गरेको छ। सूचनामा उनीहरूलाई मंगलबार दिउँसो ३ बजेभित्रमा हवाई टिकट खरिद गरिसक्न भनिएको छ।

१२५ क्रम संख्याका श्रमिकले टिकट खरिद नगरे बाँकीले बुधबार बिहान १० बजेभित्रमा टिकट लिन सक्ने छन्। जसले पहिला टिकट लियो उनीहरूलाई प्राथमिकता दिने विभागको भनाइ छ। इजरायल जाने श्रमिक पठाउन हवाई टिकटका लागि टेन्डर आह्वान गरिएको थियो।

इजरायल जाने श्रमिकले टिकटमा ५९ हजार ९ सय ९० रुपैयाँ तिर्नुपर्ने भएको छ। यो दरमा सिलिंक्स होलिडेले टिकट बिक्रीको टेन्डर पाएको छ। यही कम्पनीबाट मात्रै उनीहरूले टिकट खरिद गर्न पाउने छन्।

इजरायल जाँदा लाग्ने इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायत सम्पूर्ण खर्च श्रमिक आफैले तिर्नुपर्ने छ। श्रमिकले मासिक एक लाख ८६ हजार नेपाली तलब पाउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.