उपत्यकामा तीन वर्षमा ३ सय ८१ पैदल यात्रुको मृत्यु
उपत्यकामा तीन वर्षमा ३ सय ८१ पैदल यात्रुको मृत्यु
काठमाडौं : गत आइतबार रामेछाप घर भइ काठमाडौं सुविधानगर बस्दै आएका जीवनाथ गौतम साँझ ६ बजेतिर मिनभवन अगाडि जेब्रा क्रसिङबाट बाटो पार गर्दै थिए। तर ६३ वर्षीय गौतमलाई बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले ठक्कर दियो।
गम्भीर घाइते भएका उनलाई उपचारको लागि मिनभवन स्थित सिभिल अस्पताल लगियो। तर उपचारका क्रममा उनको मृत्यु भयो।
यसरी जेब्रा क्रसिङमै मृत्यु हुने गौतम एक प्रतिनिधि पात्र मात्रै हुन्। पैदल यात्रुलाई सडक पार गर्न जेब्रा क्रसिङ राखिएको हो। तर,त्यही ठाउँमा अकालमा धेरैले ज्यान गुमाइरहेका छन्।
२०७७ असोज ७ गते पनि महाराजगञ्जमा बूढानीलकण्ठकी २६ वर्षीया अनुपा कार्की मोटरसाइकलको ठक्करबाट उछिट्टिएर बा ११ च ४१४१ नम्बरको कारमा ठोक्किन पुगिन्। उनी जेब्राक्रसिङबाटै सडक पार गर्दै थिइन्।
उनको पनि उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो।
२०७४ साल वैशाख ११ गते पूर्व गृहसचिव पद्मराज सुवेदीको अनामनगरमा जेब्रा क्रसिङमै मोटरसाइकलको ठक्करबाट निधन भयो। ८० वर्षीय सुवेदी ‘मर्निङ वाक’ निस्केका थिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तीन वर्षको तथ्यांकलाई मात्रै हेर्ने हो भने पैदल यात्रुको ज्यान जानेको संख्या भयावह छ। तीन वर्षमा सवारीसाधनको ठक्करबाट तीन सय ८१ जना पैदल यात्रुको मृत्यु भएको छ।
माइतीघर मण्डलामा जोखिम मोलेर सडक पार गर्दै पैदल यात्रु।
महाशाखाको तथ्यांकमा भक्तपुर,ललितपुर र काठमाडौंमा आ.व. २०७६/०७७ मा १ सय ५३ जना पैदल यात्रुको सवारीको ठक्करबाट मृत्यु भयो। २ सय ४० जना गम्भीर घाइते भए। आ.व. ०७७/७८ मा १ सय ६६ जना पैदल यात्रुको ज्यान गयो भने, २ सय २९ जना गम्भीर घाइते भए।
त्यस्तै,चालु आ.व. ०७८/७९ को साउनबाट हालसम्म मात्रै ६२ पैदल यात्रुको मृत्यु भयो। यस समयमा एक सय १९ जना गम्भीर घाइते भएको तथ्यांक छ।
'यो सवारीको ठक्करबाट दुर्घटनामा परेका पैदल यात्रुको विवरण हो', महाशाखाका डिएसपी सन्तोष रोका भन्छन्, यसमा जेब्राक्रसिङ र अन्यत्र भनेर हामीले छुट्याएर डाटा राखेका छैनौं।'
दैनिक डेढ सय सवारीसाधन नयाँ थपिन्छन्
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिव शर्मा दासका अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै अहिले १८ लाखभन्दा बढी सवारीसाधन गुडिरहेका छन्। दैनिक डेढ सय सवारीसाधन थपिने गरेको उनले बताए।
तर, सडक चौडा नभएकाले जामसँगै पैदल यात्रुलाई बाटो काट्नै मुश्किल छ।
जेब्रा क्रसिङमा न ट्राफिक लाइट राखिएको छ, न सवारी र यात्रु दुवैलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी बस्छन्। यात्रुलाई बाटो काट्ने हतार र सवारी चालकलाई गन्तव्यमा पुग्ने चटारोले जेब्राक्रसिङ नै 'ज्यानमारा' बन्दै गएको छ।
मंगलबार सिंहदरबार गेट अगाडि जेब्राक्रसिङमा सडक पार गर्न उभिरहेका ताप्लेजुङका जीवन पोखरेल भन्छन्,‘बाटो पार गर्नुपर्याे भने पहिला नै मुटु ढुकढुक हुन्छ,जेब्राक्रसिङ देख्दादेख्दै सवारीसाधन हुईंकिएर आउँछन्। त्यहीँ किचेर मार्लान् भन्ने डर हुन्छ।’
उनले ट्राफिक नजिकै भएमात्र सवारी चालकले बाटो दिने नभए यात्रुलाई छलाउन खोज्ने बताए।
जेब्राक्रसिङमा किन हुन्छ दुर्घटना?
सडक सवारीका लागि भए पनि त्यसभित्रको जेब्राक्रसिङ यात्रुका लागि हो। तर,त्यो पैदल यात्रु लागि बाटो काट्ने ठाउँ हो भन्ने सवारी चालकमा ज्ञान नै नभएको पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन्।
हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख रहेका हाछेथु भन्छन्,‘हाम्रोमा जेब्राक्रसिङ सुरक्षित स्थानमा राखिएको छैन,जेब्राक्रसिङमा बाटो काट्नेलाई घाइते बनाए सम्बन्धित निकायले कडा कारबाही गर्दैन, त्यसैले पैदल यात्रु अकालमै ज्यान गुमाइरहेका छन्।’
उनका अनुसार जेब्राक्रसिङ र अरु ठाउँमा सर्वसाधारण मारिए पनि समान खालको कारबाही गर्ने कानुन छ।
सिंहदरबार गेट अगाडि जोखिम मोलेर सडक पार गर्दै पैदल यात्रु।
‘जेब्राक्रसिङ वा अरु ठाउँ जहाँ मान्छे मारे पनि चालकलाई समान कारबाही हुन्छ, यस्तोमा मतलब राखिएको छैन्,जेब्राक्रसिङमा मार्ने चालकको लाइसेन्स नै एक महिना बढी सस्पेन्स गर्नुपर्छ, यस्तो कारबाही गरेमा त्यो चालक कारबाहीमा पर्छु भनी चेतनशील बन्छ,’उनले भने।
उनले सबै चालकलाई कारबाही नगर्दा बारम्बार यस्तो घट्ना दोहोरिने गरेको बताए।
महाशाखाका डिएसपी रोका चालकको लापरबाही, तिब्र गति, मादक पदार्थ सेवन, मौसमलगायतका कारण पैदल यात्रुलाई ठक्कर दिइ ज्यान जाने गरेको बताउँछन्।
‘सडकमा जथाभावी चौपाया छाड्ने गरिएको छ,त्यसले पनि दुर्घटना निम्तिएको छ,बाटो पनि राम्रो छैन,खाल्डाखुल्डी छन्,’उनले भने। पैदल यात्रु जथाभावी बाटो काट्नाले पनि यस्ता घट्न घटेको उनको बुझाई छ।
मान्छे नै मार्ने मनसाय भएको पाइए चालकलाई जन्मकैद हुने कानुनी प्रावधान रहेको उनको भनाई छ। त्यस्तो मनसाय नभई भुल बस भएको पाइए उपचार र क्षतिपूर्ति भरे पुग्छ।
ट्राफिक सचेतनाले पनि कम भएन दुर्घटना
महानगरीय ट्राफिक महाशाखाले यस्ता सडक दुर्घटना कम गर्न विभिन्न चेतनामुलक कार्यक्रम गरेको छ। महाशाखाले २०७३ सालमा सडकमा जथाभावी सवारीसाधन रोकेर यात्रु चढाउने सार्वजनिक यातायातका चालक र जेब्राक्रसिङ बाहेक अन्य ठाउँबाट बाटो काट्ने यात्रुलाई कारबाही गर्ने भनेको थियो।
जथाभावी बाटो काटेमा पाँच सय जरिवाना तिर्नुपर्ने नियम ट्राफिक प्रहरीले ल्याएको थियो। तर,यो प्रभावकारी भएन। महाशाखाका अनुसार हाल उपत्यकाभित्र जाम व्यवस्थापन गर्न १५ सय बढी ट्राफिक प्रहरी परिचालित छन्। उनीहरु बाटो पार गर्न सहयोग गरिरहेको दाबी गर्छन् तर पनि दुर्घटना घट्न सकेको छैन।
‘दुर्घटना कम गर्न सुरक्षित ठाउँमा जेब्रा क्रसिङ राखिएन’
पूर्वप्रहरी निरीक्षक हाछेथुको बुझाइमा बाटो काट्ने ठाउँ जेब्राक्रसिङ हो तर,आफैं सुरक्षित ठाउँ भने होइन। ‘किनभने जहाँ जेब्राक्रसिङ छ, त्यहाँ ट्राफिक लाइट भएको भए त्यसलाई सुरक्षित मान्नुपर्छ,तर यहाँ त बत्ती छैन,’ उनले भने।
उनी यहाँका जेब्राक्रसिङ मापदण्ड विपरीत राखिने गरेको बताउँछन्। अन्य देशहरुमा जेब्राक्रसिङको उदाहरण दिदैँ उनी भन्छन्,‘बाहिरी देशमा जहाँ-जहाँ जेब्राक्रसिङ छ, त्यहाँ-त्यहाँ दुई वटा बत्ती हुन्छ, एउटा गाडि जाने र अर्को पैदल यात्रु बाटो काट्ने बत्ती हुन्छ,तर हामीकहाँ सडक विभागले जहाँ मन लाग्यो त्यहाँ जेब्राक्रसिङ राख्यो,बत्ति राखेन।’
जहाँ अस्पताल, स्कुल र भीडभाड छ, त्यहाँ जेब्राक्रसिङसँगै अनिवार्य बत्ती पनि राख्नुपर्ने उनको भनाई छ।
उनले भने,‘सडकको मोड र हाइवेमा जेब्राक्रसिङ राख्न मिल्दैन, त्यस्तोमा सवारीसाधन कन्ट्रोल हुँदैन, बरु आकाशेपुल राख्नुपर्छ, सुरक्षित ठाउँ हेरेर मात्र जेब्राक्रसिङ राख्नुपर्छ, पैदल यात्रुलाई पनि सचेतना दिनुपर्छ।’
सुरक्षित ठाउँमा जेब्राक्रसिङसँगै बत्ती राख्न सरकारले ढिलाई गर्न नहुने उनको माग छ। तर,सडक विभाग सबै ठाउँमा त्यस्तो बत्ति राख्न संभव नरहेको बताउँछ।
सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्,‘आवश्यक ठाउँमा मापदण्ड अनुसार नै जेब्राक्रसिङ राखिएको छ,तर बाहिरजस्तो सबै ठाउँमा स्ट्यान्डर्ड खालका सबै चिज खोजेर हुँदैन,यहाँ लेन छैन।’ चोक-चोकमा भने बत्ती राख्दै आएको उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।