|

काठमाडौं : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठ लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने र टाउको दुख्ने समस्याबाट पीडित थिइन्।

उपचार गर्दागर्दा कुनै सिप नचलेपछि उनलाई आमा राधिकाले काठमाडौंको रानीवनमा बस्ने माता भनिने ४८ वर्षकी उमा शाही ठकुरीकहाँ पुर्‍याइन्। ठकुरीले यस्ता बिरामीलाई उपचार गरेर निको गर्छिन् भन्ने सुनेर पुस ३ गते छाेरीलाई ठकुरीको जिम्मा लगाएकाे परिवारले जनाएको छ।

सुरुवाती दिनमा झारफुक गरेर मध्यपुर फर्किए पनि झारफुकका लागि हरेक दिन बिहान आउजाउ गर्न असम्भव हुन्छ भनेर ठकुरीले श्रेष्ठलाई विश्वासमा पारिन्।श्रेष्ठका मामा धनबहादुरले थाहाखबरसँग भने, 'हरेक दिन आमाले नै ल्याउने र लैजाने गरे पनि एकदिन माताले नै ल्याउन लैजान गाह्रो भयो, यो मेरै छोरी जस्तै हो, म आफै हेरचाह गर्छु भनेर विश्वासमा लिइन्।'

छोरी तन्दुरुस्त होलिन् भन्दै श्रेष्ठले छोरीलाई त्यही आश्रममा छोडिन्। हरेक दिन आएर छोरीको अवस्था बुझ्थिन्। दैनिक आश्रम आउन आमालाई पनि फुर्सद मिलेन। वेलावेलामा फोनमा गफ गर्दा सुधार हुँदै छ भनेर माताले बताएको धनबहादुरले सुनाए। वेलावेलामा फोन गर्दा छोरी ठिक हुँदै छ भनेर शाहीले आफूहरूलाई आश्वासन दिएको पनि परिवारले जनाएकाे छ।

२५ गते शनिबार बिहान भने छाेरीकाे बिराम निको होला भनेर सोचेकी श्रेष्ठले अप्रत्यासित खबर सुन्नुपर्‍याे। छोरीको स्वास्थ्य अवस्था जटिल भयो भन्ने खबरले त्रसित बनेकी श्रेष्ठले आश्रममा पुग्दा त छोरीलाई अर्धचेत अवस्थामा भेटाइन्।

तत्कालै उनलाई स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा मृत्यु भइसकेकाे थियो। धनबहादुरले भने, 'अस्पताल पुर्‍याउनु भन्दा चार घण्टाअघि नै मृत्यु भएको जानकारी चिकित्सकले मलाई दिनुभयाे।'

भान्जीको शरीर हेर्न नसकिने अवस्थामा रहेको उनले बताए। 'मैले त भान्जीको शरीर हेर्न पनि सकिनँ। ज्यादै कष्टले मारेको देखियो', धनबहादुरले भने, 'अनुहारमा घाउ थियो। नाकमा रगत थियो। शरीरभरि निलडाम थियो। शरीर आगोको भुंग्रोमा हालेको जस्तो थियो।'

आफूले भान्जीको  शरीर हेर्दा त्रिशूलको प्वाल र डामैडाम देखेको उनले बताए। बालिकाले बीचमा आफू निस्केर जान्छु भन्दा माताले राम्रो बनाएर पठाउँछु भनेर फकाएको परिवारको दाबी छ।

बालिकाको मृत्युकाे सूचना अस्पतालका चिकित्सकबाट पाएपछि अनुसन्धानमा प्रहरी टोली खटिएको थियो। महानगरीय प्रहरी परिसरले उक्त घटनामा संलग्न ४८ वर्षीया ठकुरीसहित ३ जनालाई  पक्राउ गर्‍यो।

सोमबार रानीवनस्थित शाही बस्ने जस्ताले बारिएको टहरोमा पुग्दा सुनसान थियो। वरिपरिका छिमेकीहरू नयाँ मान्छे देख्दा जिज्ञासा मेट्न आइहाल्थे। गणेशचोकमै घर बताउने स्थानीयले आफ्नै टोलमा यस्तो अप्रत्यासित घटना भएकोमा आश्चर्य प्रकट गरे। 'हरेक दिन यही बाटो आउजाउ गर्दा पनि बालिकामाथि भएको यति ठूलो घटनाबारे केही अत्तोपत्तो पाइएन', उनले भने।

यी माताले सधैँ झारफुक गरिरहेको देखे पनि यतिसम्म आपराधिक मानसिकताकी हाेलिन् भन्ने आफूहरूलाई नलागेको स्थानीयले बताए। 'आपराधिक मानसिकता भएको थाहा भए त हामीले उनलाई यहाँ बस्नै दिँदैनथ्यौं', एक स्थानीयले  भने।

हाल बालिकाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ। शाहीलाई भने नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले थाहाखबरलाई जानकारी दिए।

प्रवक्ता मैनालीले धामीझाँक्री, झारफुकजस्ता अन्धविश्वासमा परी एक नाबालिकाको ज्यानै जानेसम्मको कार्य आफैँमा निन्दनीय भएको र यसप्रति सचेत रहन आग्रह गरे। 

अनुसन्धानका क्रममा शाहीले बालिकालाई कुटपिट गरेको स्वीकार गरेको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए। 'उनले आफ्ना कर्तुत स्वीकार गरेकी छिन्। अन्य विषयमा हामीले अनुसन्धान जारी राखेका छौं', उनले भने, 'अन्यसँग पनि अनुसन्धान चलिरहेको छ।' उनीहरूलाई महानगरीय प्रहरीवृत्त स्वयम्भूमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.