|

रमेश हाई स्कुल पास गरेर उच्च अध्ययनका लागि शहर पसे। शहर पसेपछि राम्रो अध्ययन गरे। उनी ठूला व्यवसायी बने। एक दिन झल्यास्स सम्झे आफ्नो बाल्यकालको संकल्प। गाउँबाट निस्किँदा उनले भनेका थिए- म जति ठूलो व्यक्ति बने पनि आफ्नो गाउँलाई बिर्सिने छैन। समय समयमा आउनेछु।

उनी छुट्टी मिलाएर गाउँ गए। उनको पजेरो गाउँका साँघुरा र कच्ची बाटोमा असजिलो पक्कै भयो। तैपनि उनी पुगे। आफ्ना बा-आमा र परिवारलाई त उनले शहरमै लगेर राखेका थिए। साथीभाइ र आफन्तलाई भेट्ने क्रम सुरु गरे। 

उनले धेरै साथी सम्झे। मिल्ने साथी अरुणका बारेमा सोधे। गाउँका मानिसले बताए, अरुण त मन्दिरको पूजारी भएर बसेको छ, मन्दिरमै भेटिन्छ। किन?  रमेशले सोधे। गाउँका एक वृद्धले बताए– उनका बाजे बराजुको पुर्ख्यौली पेशा र परम्परा हो त्यो। उनका बाजे‚ बा सबै पूजारी नै थिए।

रमेशले मनन गर्‍यो– मेरा बुबा, बाजे, बराजु पनि त किसान हुन्। तर, मैले त शहरमा गएर व्यवसाय गरें। अरुणले किन गर्न सकेन? रमेश मन्दिर पुगेर अरुणलाई भेटे। वरपर भक्तजन थिए। अरुण आरतीमा व्यस्त थिए। शुरुमा त फेरिएको पहिरन र चालढाल देखेर रमेशलाई चिनेनन्। 

भक्तजनहरू बिदा भएपछि अरुणले रमेशको नजिक गएर भने– माफ गर है‚ भिडभाडमा त मैले तिमीलाई चिन्नै मुस्किल पर्‍यो। अनि धेरै वर्षपछि गाउँ आयौ, धेरै परिवर्तन भएछ, के छ खबर, के गर्दै छौं? भलाकुसारी सुरु भयो। 

रमेशले अरुणलाई भने– तिमी के गरेर बसेको यस्तो? मलाई दुःख लाग्यो। हिँड शहर‚ म लान्छु तिमीलाई। मिलेर मेरो कम्पनी चलाउँला। अरुण हाँसे र भने– रमेश‚ म यहाँ धेरै खुसी छु तिमीले देखेभन्दा।  तिमीले देख्दा लाग्यो होला कति दुःख पाएको रहेछ, के काममा व्यस्त भएको, मेरो पहिरन, कर्म तिमीले आफ्नो जीवनशैलीसँग तुलना गर्‍यौ होला। त्यसैले दुःख लाग्यो तिमीलाई। 

कोही व्यक्ति आफ्नै सरल जीवनशैलीमा हुँदैमा उसले कतिको जीवनमा कसरी सहयोग पुर्‍याएको हुन्छ भन्ने कुराको उदाहरण हो यो। जीवनमा कसले कहाँनेर कसरी योगदान दिएको छ, सहयोग गरेको छ‚ त्यसलाई स्मरण गर्नु र ऊप्रति अहोभावले भरिन सक्नु उत्कृष्ट जीवन बाँच्ने कला हो। 

म मान्छु आफ्नो साथीलाई पनि आफूजस्तै शहरिया बनाउने तिम्रो चाहना गलत छैन। तर, रमेश तिमीलाई थाहा छ? तिमीले जस्तै सोचाइ राखेर गाउँबाट हाम्रा धेरै साथी शहर पसे। उनका सन्तान, भाइभतिजा सबै सबै। अनि शहरबाट अब विदेश जाने प्रचलन बढ्दो छ। गाउँमा युवाहरू नै बाँकी छैनन्। म आज जहाँ छु‚ धेरैका बा-आमाको सहारा बन्ने मौका पाएको छु।

मेरो साथमा बा-आमा र परिवार खुसी छन्। म उनीहरूको खुसीको माध्यम बन्न सकेको छु। यो मेरा लागि गर्वको विषय हो। म त चाहन्छु‚ सबै सन्तानले आफ्ना वृद्ध बा-आमालाई खुसी दिन सकून्। मेरो अपेक्षा र आग्रह होइन। तर‚ इच्छा भने छ। 

गाउँमा कोही बिरामी पर्दा औषधि खुवाउने अवसर पाउँछु। बिहान बेलुका मन्दिरको सरसफाइ, पूजाआजा, सबैको साथमा भजन कीर्तन गर्छु। मनलाई शान्त हुन्छ। किन किन मलाईभित्रैबाट शान्ति, प्रेम र आनन्द मिलेको छ रमेश। 

अरुणले नदेख्ने गरी रमेशका दुई थोपा आँसु आफ्नो जन्म भूमिमा झरे। रमेश बोल्यो– ल हिँड आज तिम्रै घरमा बस्ने हो। बा-आमा र परिवारलाई पनि भेट्नेछु। दुवै अरुणको घरतिर लागे। 

गाउँघरको आतिथ्यता, बा-आमा र परिवारको प्रेम, भित्रबाट एउटा निश्चलपनको अनुभूति रमेशले गर्‍यो। जुन कुरा शहरमा अहिले सम्भव नै छैन। मेसिन सरह मानिसको जीवनशैली, एक घरको छिमेकीले अर्को घरकोलाई चिन्दैन। रमेशले आफूलाई भित्रदेखि नियालेर हेर्‍यो। 

शहर पसेपछि उसले पाएको सुख, दुःख, संघर्ष र आजको यो अवस्थासम्म आउन उसले गरेको सबै किसिमको लगानी एकएक सम्झियो। आफ्नो सफलतापछिको पीडा र शहरमा बा-आमालाई लगेर राख्नु पिंजडाको पन्छीजस्तो बनाएकोमा भित्र ग्लानि पनि महसुस गर्‍यो। 

अरुणका बा-आमाको जति मानसिक शान्ति र खुसी शहरको पिंजडामा कोचिएक मेरा बा-आमाले पाएका छैनन् भन्ने बोध उसलाई भैसकेको थियो। अब ऊ बा-आमालाई गाउँ ल्याएर एक्लै छोड्न पनि सक्दैन र परिवार लिएर गाउँ पस्न पनि सक्दैन। किनकि‚ शहरको जालोमा ऊ फसिसकेको छ। 

श्रीमतीको जागिर, बालबच्चाको पढाइ लेखाइ, आधुनिक जीवनशैली र शहरिया सुखमा रमिसकेको परिवार अनि उसको कम्पनी र लगानीले अब उसलाई स्वतन्त्र हुनै दिंदैन। ऊ अब आफैंमा मौन थियो। अरुण र उनका परिवारले सोधेका कतिपय प्रश्नको जवाफ रमेशसँग थिएन। कतिपय कुरा उसले हाँसेर टारिदिएको थियो। 

अहोभावको प्रष्फुटन 

सानो क्षेत्र गाउँघर, रमेश शहरबाट आएको ठूलो व्यवसायी, गाउँमा भएका पत्रकार आए र उसको अन्तर्वार्ता लिन थाले। रमेशले आफू जन्मेको भूमि, पारिवारिक पृष्ठभूमि, शहर छिरेपछिका आफ्ना संघर्ष सबै बतायो। 

पत्रकारले प्रश्न गरे– यो सफलताको कारण के हो? रमेशले भने– मेरो आजको यो सफलताको कारण मेरो मित्र अरुण हो। पत्रकारहरू आश्चर्यमा परे र अरुण स्वयं पनि। कसरी? 

अरुण र आज पनि मन्दिरको पूजारी छन् तपाईं यति ठूलो कम्पनीको मालिक? रमेशले गर्वका साथ भने– मलाई एकपटक मनमा अनायासै शहर पसेर केही गर्न पाए हुन्थ्यो भन्ने भाव आयो। तर, शहर जाने पैसा पनि थिएन, गएर के गर्ने थाहा पनि थिएन। यत्तिकैमा अरुणले मलाई भने– रमेश तँलाई शहर गएर केही गर्ने इच्छा छ भने मैले सँगालेर राखेको २५ हजार रुपैयाँ छ‚ लगेर केही काम गर। मेरो मित्रको यही भरोसा र सहयोगले आज मलाई यहाँ पुर्‍यायो। अरुण स्वयंले बिर्सिसकेको थियो। तर‚ रमेशको अहोभावको कला देखेर मनैदेखि हर्षित भयो अरुण। धेरैका लागि प्रेरणाको अन्तर्वार्ता बन्यो। 

कोही व्यक्ति आफ्नै सरल जीवनशैलीमा हुँदैमा उसले कतिको जीवनमा कसरी सहयोग पुर्‍याएको हुन्छ भन्ने कुराको उदाहरण हो यो। जीवनमा कसले कहाँनेर कसरी योगदान दिएको छ, सहयोग गरेको छ‚ त्यसलाई स्मरण गर्नु र ऊप्रति अहोभावले भरिन सक्नु उत्कृष्ट जीवन बाँच्ने कला हो। 

सबैले सधैं ठूलो सहयोग गर्न सक्दैनन्। तर‚ ऐन मौकामा गरेको सहयोगको याद गरौं र अहोभाव ब्यक्त गर्ने कलाको विकास गरौं‚ त्यो असली गुणवत्ता हो। जीवनमा गुनासो र दुःखी बन्ने सय कारण छन् भने खुसी हुनका लागि हजार कारणहरू मानिससँग हुन्छन्। त्यसका लागि केवल आफूसँग भएका सम्पदाको पहिचान गरी अहोभावमा जिउन जान्नु पर्दछ। 

जे पनि चिज हात पर्छन् तिनले शान्ति र प्रेम दिऊन्। जति पनि इच्छा पूरा हुन्छन् तिनले आनन्द प्रदान गरून्। आज मानिसले जुन जीवन बाँचिरहेका छन् र जीवनमा आनन्दको अनुभूति हुन सकेको छैन भने कारण हो जीवन जिउने तरिका सही भएको छैन। दुःख, अपूर्णता, गुनासो बाँकी छ भने त्यसको कारण हो सही तरिकाले जीवन अगाडि बढेको छैन। 

भगवान बुद्धले आफ्ना उपदेश सन्देशमा भन्नुभएको छ– शान्तिप्रिय व्यक्ति आनन्दको जीवन बिताउँछन। उनीहरूलाई जित र हार को कुनै परवाह हुँदैन। अरुणको जीवनशैली यसरी नै बितिरहेको छ। सफलता र खुसी शहरमा छ उसलाई विश्वास लाग्दैन। शहरमा पनि होला तर उसको गाउँले जीवनशैलीले पनि उसलाई त्यति नै खुसी मिलेको छ। स्वान्त सुखायको जीवन बाँचेको छ।

जीवनको लक्ष्य आनन्द 

जीवनका लक्ष्य र खोज के हुन् भनेर सोध्यो भने हामीसँग सयौं जवाफ हुन सक्छन। जीवनको उद्देश्य डिग्री हासिल गर्नु, प्रशस्त धन आर्जन गर्नु, विदेश जानु, पदोन्नति हुनु, किताब लेख्नु, विदेश भ्रमण गर्नु, सम्पन्न परिवारमा वैवाहिक सम्बन्ध कायम गर्नु, सुन्दर व्यक्तिलाई जीवन साथी बनाउनु, छोराछोरीलाई महँगो कलेज पढाउनु र विदेश पठाउनु आदि आदि। तर, ती सबै इच्छाको अन्तिम कारण र खोजेको परिणाम हो जीवनमा आनन्द मिलोस्।  

जे पनि चिज हात पर्छन् तिनले शान्ति र प्रेम दिऊन्। जति पनि इच्छा पूरा हुन्छन् तिनले आनन्द प्रदान गरून्। आज मानिसले जुन जीवन बाँचिरहेका छन् र जीवनमा आनन्दको अनुभूति हुन सकेको छैन भने कारण हो जीवन जिउने तरिका सही भएको छैन। दुःख, अपूर्णता, गुनासो बाँकी छ भने त्यसको कारण हो सही तरिकाले जीवन अगाडि बढेको छैन। 

यदि प्रेम, संवेदनशीलता, जागरण, सत्यता र समग्रताकासाथ जीवनशैली चलेको छ भने त्यो आनन्दको जीवन हो। अरूप्रतिको अपेक्षा र अपेक्षा पूरा हुन्छ भन्ने धारणा दुःख र गुनासोको कारण हो। आफ्नै पुरुषार्थ र कृतज्ञता सुखको माध्यम हो। अहंकारसँग टाढा रहेर विश्वास, सकारात्मक विचार र दृढ निश्चयका साथ निर्णय लिने क्षमता आफ्नोपन हो। 

अतितका मान्यता र घटनालाई मनमा बाँधेर राख्नु वर्तमानलाई दुःखमा लैजानु हो। अतितबाट मुक्त हुनु स्व–पहिचानको बोध गर्नु हो। कर्तव्य, करुणा र जिम्मेवारीबाट भाग्ने होइन जाग्नुपर्दछ। हरेक परिस्थिति र सम्बन्ध अनि कर्मका परिणामलाई सम्यक स्वीकारका साथ लिन सक्नुपर्दछ। 

आफ्नो चैतन्य स्वरुप, मौनता, आन्तरिक शान्ति र प्रेमलाई बोध गर्ने कला अभ्यासमा नआउँदासम्म जीवनमा विरक्ति कायमै रहन सक्दछ। अस्तित्व मंगलमय छ, कल्याणकारी छ। त्यसैले उसप्रति पनि अहोभावले भरिपूर्ण हुन र जीवनलाई अहोभावको शैलीमा बिताउने कोसिस गर्नु आफ्नो स्वभावमा रमाउन जान्नु हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.