संक्रमण उकालो लाग्दै‚ कर्मचारी सरुवा गर्दै स्वास्थ्यमन्त्री खतिवडा

|

काठमाडौं : कोरोना संक्रमण पुनः दैनिक दोब्बर संख्यामा बढ्दै गएको छ।​ यसरी संक्रमण बढिरहेका वेला विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरसँग जुध्न रणनीति बनाउनुपर्ने समय हो।

तर संक्रमण पुनः बढ्न थालेको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयअन्तर्गतका महत्त्वपूर्ण निकायका प्रमुखहरूको जिम्मेवारी हेरफेरफेर गरेका छन्।

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री खतिवडाले कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख प्रशासकीय अधिकारीका रूपमा मन्त्रालयका प्रमुख विशेषज्ञ (१२ औँ) तहका डा. गुणराज लोहनीलाई पठाएको छ।

नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ। यसअघि त्यहाँका निमित्त प्रमुख डा. भूपेन्द्र बस्नेत थिए।

यस्तै औषधि व्यवस्था विभागमा महानिर्देशक नारायण ढकालको सरुवा गरेर विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ।

राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने उनको ठाउँमा डा. सञ्जय ठाकुरलाई ल्याइएको छ।

कारागार अस्पतालमा डा. श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ भने त्यहाँका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेश पठाइएको छ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ।

वीर अस्पतालका डा. सरोज शर्मालाई कान्ति बाल अस्पताल पठाउने निर्णय गरिएको छ। नियमित कार्यअनुसार नै जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख सहसचिव इन्द्रमणि पोखरेलले बताए।

‘वीर अस्पताल लगायतका केही स्वास्थ्य संस्थाहरूको सरुवा गरिएको हो’‚ उनले भने।

यता मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कोरोना संक्रमण नियन्त्रणमा एकजुट भएर काम गर्नुपर्ने समयमा एक्कासी कर्मचारीहरुको सरुवा हुँदा काम गर्ने मनोबलमा असर गर्ने बताए।

‘सरुवा नियमित प्रक्रिया भए पनि यस्तो महामारीका वेला एक्कासी कर्मचारीको सरुवा गर्दा काम गर्ने मनोबल घट्छ’‚ उनले भने।

वीरमा डा. लोहनीलाई पठाएपछि कर्मचारीहरू विरोधमा

यता मन्त्री खतिवडाले प्रतिष्ठान ऐनविपरीत डा. लोहनीलाई वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको भन्दै अस्पतालका कर्मचारीहरू विरोधमा उत्रिएका छन्। उनीहरूले सरुवा बदर गर्न र  वीरको नेतृत्वमा वीरभित्रैकै कर्मचारी  राख्न माग समेत गरेका छन्।

वीर अस्पताल कर्मचारी संघले करिब ६ महिनामात्रै जागिर अवधि रहेका वीर अस्पतालभन्दा बाहिरका कर्मचारी रहेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारीले बताएका छन्।

छोटो–छोटो समयमा अस्पतालका पदाधिकारी फेरिँदा अस्पतालको विकासमा बाधा पुग्ने हुँदा आफूहरू आन्दोलनमा उत्रिनुपरेको अस्पतालका कर्मचारी दीपक मुडभरीको भनाइ छ।

‘सरकारले न्याम्स र वीर अस्पताल बाहिरका व्यक्ति ल्याएर वीर सक्न गरिएको चलखेल हो। हामीलाई यस्तो नेतृत्व मान्य छैन। हामीलाई वीरभित्रकै नेतृत्व चाहिन्छ'‚ उनले भने।

आन्दोलनमा उत्रिएका कर्मचारीले ‘हाम्रो होइन राम्रो पदाधिकारी ल्याऊ,अस्पतालभित्रकाले समस्या बुझ्न नसक्ने बाहिरकाले बुझ्ने’ जस्ता प्लेकार्ड लिएर बसेका छन्।

यसअघि वीर अस्पताल र नेपाल सरकारका ११ औं तहका डा. जागेश्वर गौतम प्रमुख प्रशासकीय अधिकारी थिए।

उनलाई हटाएर तत्कालीन  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ११ औं तहका डा. रुद्र मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारी बनाएका थिए। तर उनलाई प्रमुख प्रशासकीय अधिकारी बनाएको तीन घण्टा नबित्दै राजनीतिक चलखेलका आधारमा १० औं तहका डा. भूपेन्द्र बस्नेतलाई निमित्त प्रशासकीय अधिकारीको जिम्मेवारी दिएका थिए।

११ औं तहका डा. मरासिनीलाई हटाएर १० औं तहका डा. बस्नेतलाई नियुक्ति गर्दा कर्मचारी संगठनहरू मौन बसेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.