|

काभ्रे : पछिल्लो समय देशका अन्य जिल्लाझै काभ्रेमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्न थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार मंगलबारसम्म १०५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले ५० जना महिला र ५५ जना पुरुष गरी एक सय ५ जना सक्रिय संक्रमित रहेको जानकारी दिए। उनका  अनुसार मंगलबार मात्रै जिल्लामा १९ जनामा कोरोना संक्रमाण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय काभ्रेले पछिल्लो २४ घण्टामा १४ वटा पिसिआर र १९ जना एन्टिजेन गरी कुल ३३ वटा परीक्षण गरिएकोमा १४ वटा पिसिआर र ५ वटा एन्टिजेन गरी १९ वटा रिपोर्ट पोजेटिभ आएको जनाएको छ।

योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय ५३ पुगेको छ। जसमध्ये १४ हजार ६ सय ५५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।

त्यस्तै, हालसम्म काभ्रेमा एक सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेका छन्।

िडभाड हुने कार्य नगर्न आदेश

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)का संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा संक्रमणको अवस्था विश्लेषण गर्दा समुदायमा  कोरोना संक्रमण दर बढिरहेको पाइएको बताए।

प्रजिअ पोखरेलले एक सूचनामार्फत सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी हाट, मेला, जात्रा, पार्टी जस्ता भिडभाड हुने कार्यहरू नगर्न आदेश जारी गरेका छन्।

त्यस्तै, जारी आदेशअनुसार कार्यालय, होटल, सिनेमा हल, रंगाशाल, पाक सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड बोक्नु  पर्नेछ भने सार्वजनिक सवारीको हकमा कुल सिट क्षमताभन्दा बढी यात्रु राख्ने नपाउने छैन।

त्यसैगरी, प्रजिअ पोखरेलले जिल्लाको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाट क्षेत्रमा १२ वर्षमा लाग्ने मकर मेला सञ्चालन नगर्न नगरपालिकालगायत सम्बन्धित निकायलाई आदेश जारी गरिएको जानकारी दिए।

उनले माघ १ देखि शुरु भई माघ महिनाभर सञ्चालन हुने मकर मेलामा २५ जनाभन्दा कम र  भिडभाड नहुने गरी स्वास्थ्य  सुरक्षा मापदण्ड अपनाई भक्तजनहरुलाई स्नान मात्र गर्ने व्यवस्था मिलाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.