|

बैतडी : खाल्डोमा गाडिएको अवस्थामा बैतडीमा बुधबार एक युवकको शव फेला परेको छ। सुर्नया गाउँपालिका–६ खर्काधारका ३० वर्षीय डम्मर अवस्थीको शव फेला परेको हो।

गएको मंसिर १४ गतेदेखि घरबाट सम्पर्कबिहीन भएका अवस्थीको शव घर नजिकैको गुफामा गाडेको अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिए।  उनले भने,‘हामी घटनास्थलमै छौं, घर नजिकैको गुफामा गाडिएको अवस्थामा शव फेला परेको छ, शव सडेको अवस्थामा छ।’

केही दिनअघि आफूलाई विप्लव समूहले अपहरण गरेको भनेर बाँकेबाट उद्धार गरिएका सुर्नया गाउँपालिका–६ का हरिश अवस्थीले दिएको लोकेशनको आधारमा शव निकालिएको प्रहरी नायव उपरीक्षक पालले बताए।  

उनले भने,‘हरिशले नै लोकेशन दिएकोले उनले नै हत्या गरेको खुल्न आएको छ’ पालले भने, ‘शव निकालेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भएको छ।’ हरिशले आफूले नै डम्बरको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ। उनी अहिले प्रहरीको नियन्त्रणमा छन्।

हरिश र डम्बर एकै गाउँका हुन्। घरायसी रिसइबीका कारण उनले डम्बरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डम्बरको हत्या हरिश एक्लैले गरे वा अरु पनि संलग्न रहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षकसमेत हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.