|

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ की पूजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसइई दिइन्। सानै उमेरमा बुबा गुमाएकी पूजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो। आर्थिक कारणले नै इच्छा पूरा गर्न पाइँदैन कि भन्ने चिन्ता उनमा थियो।

तर, उपमहानगरपिलकाले छोरीलाई निःशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि पूजाको सपना पूरा भएको छ। उनी अहिले उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन्।

त्यस्तै, तुलसीपुर-४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ बन्ने सपना थियो। उनको सपना पनि अहिले पूरा हुने क्रममा छ। आफ्नै ठाउँमा आफूले चाहेको विषय निःशुल्क पढ्न पाउँदा असाध्यै खुसी भएको उनले बताइन्। 

यसैगरी,  बाल मितेरी मावि भोजपुरबाट एसइई दिएकी अरुणा चौधरी मेकानिकल इन्जिनियरिङ पढ्दै छिन्। घरको आर्थिक अवस्थाका कारण पढ्न सकिँदैन कि भन्ने लागे पनि उनले पूर्ण छात्रवृत्ति पाएपछि निःशुल्क पढ्न पाएकी हुन्। अहिले शिक्षालयमा दर्जनौँ छोरी प्राविधिक विषयको अध्ययन गरिरहेका छन्।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ स्थानीय सरकारले शिक्षालयको स्थापना गरेको हो। शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण उपमहानगरपालिकाभित्रका सबै छात्रालाई निःशुल्क अध्यापन गराउने गरिएको शिक्षालयका प्रमुख वसन्त आचार्यले बताए।

उनका अनुसार निःशुल्क पढ्ने सबै छात्राहरूको शुल्क भने उपमहानगरपिलका कार्यालयले व्यहोर्छ। उपमहानगरपिलका कार्यालयको छात्रवृत्तिमा १०० जना विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको उनले जानकारी दिए। आचार्यले भने, ‘सामुदायिक विद्यालयमा पढेका जुन कुनै छात्राले अध्ययन गर्न चाहे हामीले पूर्ण छात्रवृत्ति दिने गरेका छौँ।’

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले छोरीहरूले प्राविधिक शिक्षा अध्ययन गरेमा अरुको मुख ताक्नु नपर्ने र उनीहरूलाई स्मार्ट बनाउन प्राविधक शिक्षामा जोड दिएको बताए।

‘छोरीहरूलाई आत्मनिर्भर बनाउनका लागि मुख्य गरेर सीपमुलक शिक्षामा ध्यान दिनुपर्ने छ‚’ पाण्डेले भने‚ ‘त्यो हामीले अहिले शुरु गरेका छौँ। तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारकै पहलमा शिक्षालयको स्थापना गरिएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.