|

पर्वत : चिसो मौसम। तप्प तप्प चुहिने शीत। शीतले भिजेको डसना र सिरक। त्यहि चिसो सिरकमा दिन रात बिताउन बाध्य छन्, ८ वर्षीय कन्चन परियार, उनकी चार वर्षीया बहिनी सुजिता परियार र ७१ वर्षीया हजुरआमा देउकुमारी।

पर्वतको मोदी गाउँपालिका–८ चित्रेको ओडारे गाउँ कास्कीको भदौरेसँग सिमाना जोडिएको ठाउँमा बस्ने यी तीन जनाको दु:ख हो यो। चारैतर्फ बन बिचमा छिरलिएको पातलो बस्ती। सायद घामको झुल्को नै देख्न मुश्किल छ।

उनीहरूका लागि एउटै मात्र डसना छ। सुकाउँदा नसुकेपछि फेरि त्यही चिसोमा रात कटाउनुपर्छ। हजुरआमा र नातिनीहरूको शरीरमा न त न्यानो कपडा छ, न त ओढ्ने र ओछ्याउने नै ताता छन्।

चार वर्षीया सुजिता र ७१ वर्षीया हजुरआमालाई खाना पकाएर खुवाउने जिम्मेवारी तीनै आठ वर्षीया बालिकाको काँधमा छ। जबकि कतिपय परिवारमा आठ वर्षीया बालबालिकालाई अभिभावकले नै खाना खुवाइरहेका हुन्छन्। चार वर्षीयाले त के गर्न सकुन्? हजुरआमा को हालत पनि उस्तै छ। राम्रोसँग बोल्न र बुझ्न सक्ने अवस्थामा देउकुमारी छैनन्। एक त बुढो शरीर, त्यसमा पनि अपांगता भएको।

छिमेकी कोहीले मसलाको धूलो, कोहीले खुर्सानीको धूलो, कोहीले सागका पात, कोहीले कोदो त कोहीले अलिकति चामल सहयोग गरेर नै उनीहरूको भोक मरेको छ। स्थानीय पञ्चकोशी आधारभूत विद्यालयका शिक्षकले जसोतसो स्टेशनरी सहयोग गरेर ती बालिकाहरू विद्यालयसम्म जाने वातावरण त बनेको छ, तर शरीरमा लगाउने पोशाक कसले दिने? ७० वर्ष पार गरेपछि ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताले जसोतसो खर्च धानिएको छ,औषधिमूलो गर्न पुगेको छ।

‘यो दुर्दशा देखेर बाँच्नु परेको छ, मान्छेलाई यतिसम्मको आपतको अवस्था पनि आउने रहेछ। हामी देख्नेहरू त उनीहरूलाई देख्नासाथ रुन्छौं, उनीहरू कसरी बाँचिरहेका होलान्?’ देउकुमारीकी बुहारी पर्ने छिमेकी देवी परियार भन्छिन्, ‘यो अनकन्टार ठाउँ छ। त्यही भएर पनि यो परिवारको बारेमा कसैले थाहा नपाएको होला। यी दुई नानीलाई कसरी बचाउने हो? फूलका मुनाजस्ता बच्चीहरूको दुर्दशा देख्दा पीडा हुन्छ।’

विद्यालयमा भेटिएकी कञ्चनले बुबाको बारेमा केही सम्झिने बताउँदै करेन्ट लागेर मृत्यु भएको सुनाउँछिन्।  ‘बाबाको बारेमा अलिअलि सम्झन्छु, करेट लागेर मर्नुभयो पोखरामा। हामी पनि पोखरा थियौं। अहिले बाबाको धेरै याद आउँछ', उनले यति बोलिन्।

 यसरी सुरु भयो उनीहरूको दुर्दशा

कन्चन र सुजिताका बाबु शमशेर विद्युतीय काम गर्ने प्राविधिक थिए। कामकै शिलशिलामा होला सायद, चार वर्ष अगाडि पोखरामा रहेका बेलामा करेन्ट ज्यान लियो। शमशेरकी श्रीमती कविता पनि बजारतिरै बस्ने गरेको छिमेकीले सुनाए।

शमशेरको मृत्यु करेन्टबाट भएकाले उनका सन्तानको लागि भनेर क्षतिपूर्ति स्वरूप नेपाल विद्युत् प्राधिकरणबाट दश लाख रुपैयाँ कविताले पाइन्। तर चार वर्षको अवधिमा त्यो पैसा सकिएको भनी कविताले बताएको गाउँलेहरू बताउँछन्।

छिमेकीका अनुसार पैसा सकिएपछि घरमा आर्थिक संकट सुरु भयो। बोल्न नसक्ने र शारीरिक रूपमा असक्त अवस्थामा रहेकी सासू र दाजुभाइ खलकमा कविताको झगडा भयो। कविताले आफू गाउँमा बस्न नसक्ने बताएपछि उनीहरूले साना दुई छोरी र काल पर्खेर बसेकी सासुलाई छाडेर नजान अनुनय गरे। तर त्यो अनुरोध कविताको सुनुवाइमा परेन।

‘हामीले त छोडेर जान हुन्न, यी केटीहरू खान नपाएर मर्ने अवस्थामा पुग्छन्, तपाईँ यहीँ बस्नुहोस् बरु खान नपुगे जसले जे सक्छौँ त्यो सहयोग गरौँला भनेका हौँ,’ कविताले अण्टी भन्नुपर्ने देवी भन्छिन्, ‘पछि त नानीहरू चौतारामा छाडेर उहाँ कता जानुभयो पत्तै भएन। अहिले नानीहरूको बिचल्ली भएको छ।’

हजुरआमा र नातिनीहरूको हालत देख्दा छिमेकी सबैको मन दुख्छ। दलित बस्तीका अरू घर पनि आर्थिक संकटमै छन्। चाहेर पनि हरेक दिन सहयोग गर्ने अवस्था छैन। उनीहरूको पढाइको लागि विद्यालयले जसोतसो स्टेशनरी सहयोग गरे पनि अरू समस्या टार्न नसकिएको र उनीहरूलाई बाह्य कसैले राम्रो सहयोग गर्नुपर्ने अवस्था रहेको शिक्षक मधुसुदन अधिकारीले बताए।

‘हजुरआमा त हुनुहुन्छ तर हजुरआमालाई नै ती बालिकाहरूले स्याहारेर बस्नुपर्ने अवस्था छ। विद्यालयमा यिनीहरुलाई देख्ने बेलामा भक्कानो छुट्लाजस्तो हुन्छ, हामी रोएर यिनीहरूको पिर घट्ने भए हामी सबै मिलेर दिन रात रोइदिने थियौँ,’ उनले भने, ‘बुढी हजुरआमा तलमाथि भए यिनको अभिभावक पनि कोही रहँदैनन्। दाजु भाइहरूको पनि आर्थिक समस्या नै छ, उनीहरूले पनि जसोतसो आफ्नो परिवार धानेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.