६ महिनादेखि सरकार गुहार्दै  वृद्ध बुवा

|

काठमाडौं : बुधबार मध्याह्नको समयमा वैदेशिक रोजगार बोर्डको कार्यालयमा चहलपहल देखियो। पिठ्युँमा कालो रङको झोला, पातलो ज्याकेट, वेलावेला आँसु पुछ्दै गरेका ७२ वर्षीय फागु धामी भेटिए।

बाक्लै चहलपहलका बिचमा पनि न्याउरो अनुहार आँखाबाट झरेको आँसुले सबैको ध्यान केन्द्रित गर्‍यो।  

घरको छानो ढाक्न र परिवारको पेट पाल्नकै लागि वैदेशिक रोजगारीको खोजीमा साउदी गएका छोराको शव नेपाल झिकाउन उनी काठमाडौँ आएका हुन्। गत आइतबार काठमाडौँ आएका धामीले छोराको शव ल्याउनका लागि धेरै दुःख गरे। 

परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, विभाग लगायत पहल हुनसक्ने सबै सरकारी कार्यालय धाए। उनले लगाएको जुत्ता फाट्यो, छोराको शोकले मन थाक्यो तर ६ महिनादेखि विदेशी भूमिमा अलपत्र किशोरको शव नेपाल आउन सकेन।

उनले आँसु पुछ्दै भने, ‘मेरो बुढेसकालको लाठी भाँचियो, न टेक्ने खुड्किलो छ न त समाउने हाँगो नै।’ 

छोराको मृत्युको खबर आएपछि शव ल्याउनका लागि ६ महिनामा ७ पटक काठमाडौँ आएको धामी बताउँछन्। आफू एक्लै आउँदा सबैतिर पुग्न नसक्ने भन्दै भाइका छोरा ईश्वरप्रसाद चौधरीलाई साथै लिएर आएका छन्।

झोलाबाट छोराको पासपोर्टको फोटोकपी झिक्दै उनले भने, ‘अब छोरा मसँग छैन‚ उसको सम्झनाका लागि मसँग भएको यति मात्र हो।’ 

फोनमा कुरा गर्दा अब नेपाल आएर टायलको काम गर्छु‚ विदेश जान्न भनेर फोन राखेको थियो। भोलिपल्ट छोराको मृत्युको खबर आयो।

उनी भन्छन्, ‘छोराको सास भेट्न पाइनँ, आफू जिउँदै हुँदा छोराको लास ल्याउन पाए हुन्थ्यो।’

वृद्ध अवस्थाका आमाबुवा परिवारको खर्च पुर्‍याउन धौ धौ भएपछि परिवारको जेठो छोरो किशोरकुमार धामी रोजगारीका लागि निकै भौँतारिए। कतै पनि भने जस्तो काम पाउन सकेनन्।

अन्त्यमा वैदेशिक रोजगारी नै उत्तम विकल्प देखे। रोजगारीको खोजीमा २०७३ सालमा साउदी अरब गएका थिए। बगैँचामा काम गर्नका लागि ३० वर्षीय किशोर साउदी  अरब गएका थिए।

३ वर्ष बिताएर बिदामा नेपाल आएका थिए। २ महिनाको बिदा सकेर फेरि विदेश गए।

किशोर लगभग ५ वर्ष विदेशमा बिताएर नेपाल फर्कने तयारी भइरहेको थियो। गत असार महिनाको अन्तिम दिन बेलुका करिब ८ बजेतिर किशोरको फोन आयो।

त्यो फोन नै किशोरको अन्तिम फोन बन्यो। नेपाल आउने भनेर खुसी हुँदै फोन काटेको थियो। त्यसको भोलिपल्टै मृत्युको खबर आयो। 

उनीसँगै साउदी गएको गाउँको साथीले फोन गर्दै भन्यो, ‘किशोरको मृत्यु भयो, झुण्डिएको अवस्थामा लास फेला पर्‍यो, आफैँ झुण्डियाे वा कसैले झुण्ड्याएको हो‚ पत्ता लगेको छैन।’

परिवारलाई किशोरको मृत्युको खबर पत्यार लागेको थिएन तर यथार्थमा उनको मृत्यु नै भएको हो। छोराको मृत्युको खबर आएको ६ महिना भयो तर हत्या वा आत्महत्या अझै पत्ता लागेको छैन।

साउदी प्रहरीले अनुसन्धान गरी हत्या वा आत्महत्या पत्ता लगाएपछि मात्र लास झिकाउन सकिने नेपाल सरकार बताउँछ। 

यतिवेला किशोरको परिवारका वृद्ध बुबा, आमा, श्रीमती, किशोरको जना ५ छोरीहरू छन्। तराईमा छोरीको विवाहमा दाइजो दिनैपर्ने हुन्छ।

धामीले भने, ‘छोरीको विवाह गर्न सम्पत्ति छैन‚ त्यसैका लागि विदेश गएको थियो।’ अब सबै परिवार अलपत्र परेको छ।

उनले भने, ‘सास भेट्न पाइनँ‚ अब मेरो अन्तिम इच्छा छोराको लास हेर्नेछ।’ धामीका किशोरपछिका २ छोरा छन् तर उनीहरूलाई अब विदेश नपठाउने सोचमा पुगेका छन्।

उनी भन्छन्, ‘खान नपुगे आधा पेट खान्छु तर छोराहरूलाई विदेश जान दिन्नँ।’  

हत्या वा आत्महत्या हो भन्ने यकिन नभएको र साउदी प्रहरीले अनुसन्धान गरिरहेकाले शव ल्याउन नसकेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

प्रहरीले अनुसन्धान गरिरहेकाले शव ल्याउन नसकेको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले जानकारी दिए। 

विदेशमा मृत्यु भएकाको शव नेपाल ल्याउन सकेको खण्डमा पीडित परिवारले आर्थिक सहायता पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ।

मृतकको परिवारले ७ लाख आर्थिक सहायता पाउनेछ भने छोराछोरी पढाउनका लागि वार्षिक सहयोग पाउनेछन्। 

यसरी महिनौँदेखि  विदेशमा शव अलपत्र पर्दा एकातिर शव झिकाउन दौडधुप गर्नुपरेको छ भने अर्कातिर परिवारले पाउने आर्थिक सहायता समेत पाउन सकेका छैनन्।

पछिल्लो समय  वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्यु  हुनको संख्या बढ्दो छ। 

वैदेशिक रोजगारीमा वार्षिक १ हजारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षमा मात्र ३८३  जनाको मृत्यु भएको बोर्डले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.