|

बैतडी : हत्या लुकाउन बैतडीको सुर्नया गाउँपालिका-६ का २३ वर्षीय हरिश अवस्थीले अपहरणको नाटक गरेको खुलेको छ। हरिशले आफ्नै गाउँका ३० वर्षीय डम्बर अवस्थीको हत्या गरेर गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो।

गत शुक्रबार (पुस २३ गते) हरिशले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखे। हरिशले गाउँकै दुईजनाले ‘विप्लव’ समूहलाई आरोप लगाएर आफ्नो अपहरण गरेको बताएका थिए।

स्थानीय विद्यालयका शिक्षकसमेत रहेका हरिशले २२ गते राति आफूलाई अपहरण गरेर बाँकेको राप्ती नदी किनारको शौचालयमा राखिएको जानकारी दिएका थिए।

फेसबुक पोष्टबाट खोजी

उनको फेसबुकमा पोष्टकै आधारमा बैतडी प्रहरीले बाँके प्रहरीलाई जानकारी गरायो। त्यसपछि शुक्रबार बेलुकी ८ बजे नै बाँकेस्थित राप्ती नदी किनारबाट उनको उद्धार गरेर बैतडी ल्याइएको थियो।

मृतक डम्बर विप्लव कार्यकर्ता रहेका थिए। उनी  मंसिर १४ गतेदेखि बेपत्ता रहेका थिए।

डम्बर विप्लवका कार्यकर्ता भएको हुनाले उनी आठदश दिन बिराएर घरमा आउने हुनाले शुरुमा घरपरिवारले वास्ता गरेका थिएनन्। आठदश दिनमा पनि घर नआउँदा र सम्पर्कमा नआउँदा घरपरिवारले खोजलतास गर्न थाले।

विप्लव समूहको पार्टीलाई खोजी गरिदिन डम्बरका परिवारले आग्रह गरेका थिए भने विप्लव समूहले डम्बर पार्टीको सम्पर्कमा नरहेको जवाफ फर्काएको थियो।

हाउभाउमा परिवर्तन भएपछि शंकाको घेरामा

त्यसपछि बेपत्ता भएका डम्बर फेला नपरेपछि घरपरिवारले प्रहरीलाई निवेदन दियो र कल डिटेलको माग गर्‍यो।

केही दिन ढिला गरेर कल डिटेल प्राप्त भएपछि कल डिटेल हेर्दा मंसिर १४ गते बेलुकी ७:१५ मा डम्बरको मोबाइलमा अन्तिम कल हरिशको भेटियो। सोही कलपछि डम्बर बेपत्ता भएकाले हरिशप्रति शंकाका घेरा तेर्सिन थाले।

पीडित परिवारका अनुसार १४ मंसिरमा हराइरहेका डम्बर अवस्थीको मोबाइलमा हरिशको अन्तिम कल भएको कुरा बाहिर आएपछि हरिशले आफ्नो हाउभाउ परिवर्तन शुरु गरेका थिए। त्यसपछि हरिशले हत्या लुकाउन अपहरणको नाटक रचेको प्रहरीले बताएका छन्।  

अपहरणमा परेको नाटक गरेका हरिशलाई उद्धार गरेर बैतडी प्रहरीले उनीमाथि शंका गर्दै अनुसन्धान अघि बढायो।

प्रहरीले सोधपुछ गर्दै जाँदा हरिशले डम्बरको हत्या गरेर गाडेको भनी स्वीकार गरेका थिए। स्वीकार मात्रै नभएर उनले शव गाडेको ठाउँ समेत बुधबार प्रहरीलाई बताए। हरिशले स्थानीय जंगलमा रहेको ओडारमा डम्बरको शव गाडेको भनेर बताएका थिए।

शंका नहोस् भनेर अपहरणको प्रपञ्च

बुधबार बिहान ११ बजेतिर उनले शव गाडेको भनेको ठाउँमा प्रहरी पुग्यो। हरिशले बताएकै ठाउँमा शव फेला परेको हो। 

करिब १५ फिट खनेपछि सडेको अवस्थामा शव फेला परेको बैतडी प्रहरीले जनाएको छ। हरिशले डम्बरको हत्या गरेर भागेको र शंका नजाओस् भन्ने डरले अपहरणको प्रपञ्च रचेको भनी प्रहरीलाई बयान दिएको बताइएको छ। 

प्रहरी स्रोतका अनुसार हरिशले डम्बरको टाउकोमा ढुंगाले हिर्काएर मारेको बताएका छन्।

'पछाडिबाट ढुंगाले हिर्काएँ, अनि डम्बर मरिहाले। त्यसपछि ओडारमा लगेर गाडेको हुँ भनेर हरिशले स्वीकार गरेका छन्', प्रहरी स्रोतले भन्यो, 'शव सडिसकेको अवस्थामा भए पनि खप्पर छैन, टाउकोमै हिर्काएर मारेको देखिन्छ, शव गाडेपछि पनि गन्ध आउँछ भनेर हरिशले दिनदिनै माटो थप्दै जाने रहेछ।'

डम्बर र हरिशको घर १० मिनेटको दूरीमा छ। उनीहरूका परिवारबीच केही खटपट रहेको बताइएको छ।

घटनाका विषयमा थप अनुसन्धान गरिरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले बताए। डम्बरको हत्यामा अन्यको संलग्नता समेत रहेको आशंकामा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हरिशमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। 

यो पनि

 

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.