|

पर्वत : सङ्घीय सरकारले माघ १५ सम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भने पनि कुश्मा नगरपालिकाले भने विद्यालय नगर्ने भएको छ।

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि संघीय सरकारले देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।

बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो।

मन्त्रालयको आदेशअनुसार बन्द गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्यालय बन्द नगर्ने निर्णय भएको कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए।

‘अहिले विद्यालय बन्द नगर्ने, इसिडीका शिक्षक पनि चार बजेसम्म नै विद्यालयमा बस्ने निर्णय भयो। सङ्क्रमित भइहाले तत्कालै प्रअले एक हप्ताका लागि विद्यालय बन्द गरेर नगरपालिकालाई फोन गरेर जानकारी दिन सकिने नियम बनाइएको छ’, उनले भने, ‘वार्षिक बिदाबाट कट्टी हुने गरी बन्द गर्ने भनिएका कारण उनीहरू विद्यालय बन्द नगर्ने कुरामा एकमत भए।’

जिल्ला प्रशासन कार्यालयले भने यसअघि नै सूचना निकालेर बढीमा २५ जनाभन्दा भेला हुन नपाउने गरी निर्देशन दिइसकेको छ। जब कि सदरमुकाममा रहेको नारायण माध्यमिक विद्यालयमा करिब १३ सय र शिवालय माध्यमिक विद्यालयमा झन्डै पाँच सय विद्यार्थी एकैपटक भेला हुन्छन्।

प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेर दिएको आदेश उल्लङ्घन हुने बारेको प्रसङ्गमा तिवारीले विद्यार्थीलाई एसेम्बली नगरीकन राख्ने कुरा भएको बताए।

उनले भने‚ ‘सार्वजनिक ठाउँमा त अभिभावक, हामी अरू पनि २५ जनाभन्दा भेला भइन्न के रे। अब विद्यालयमा त एसेम्बली नगर्ने कुरा भएको छ। विद्यार्थीहरू एउटा कोठामा ४०/५० जना त भइहाल्छन् नि।’

२५ जनाभन्दा बढी भेला हुन नपाउने प्रशासनको आदेश कार्यान्वयनका बारेमा प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भेला नहुन र मन्त्रालयको आदेशअनुसार गर्ने भनेर निर्देशन दिइएको तथा त्यसको व्यवस्थापन स्थानीय तहलाई नै गर्न भनिएको बताइन्।

‘उहाँहरूले माथिको निर्णय मान्नुपर्ने हो। यो कुरा सुन्दा साथ मैले मेयर साबलाई बोलाएर पनि कुराकानी गरेँ। जवाफमा उहाँले प्रअहरूले विद्यार्थी छ्ट्टाछुट्टै राखेर जिम्मा लिएर सञ्चालन गर्छौँ भनेर बन्द गर्न मानेन भन्नुभयो। समस्या आइहाले तत्कालै तपाईँहरूले आदेश दिए मान्छौँ भन्नुभएको छ’, उनले भनिन्, ‘हामीबीच समन्वय भएन कि भनेर पनि उहाँसँग कुरा गरेँ। मेयर साबले कुरा गरेपछि हामी केही बोलेनौँ तर समस्या आयो भने हामी तुरुन्त निर्देशन दिन्छौँ।’

विद्यालयमा सयौँ विद्यार्थी भौतिक रूपमा उपस्थित भएको वेला साना खालका मेला वा पिकनिक कार्यक्रम गर्न नजिर बस्ला नि भन्ने प्रश्नमा उनले प्रजिअ खत्रीले विद्यालयको बारेमा माथिबाट नै आदेश आएका कारण सोहीअनुसार गर्ने भनिएको र यहाँबाट छुट्टै आदेश दिनु नपरेको बताइन्।

अभिभावकहरूले भने विद्यालय जाने १२ वर्षमुनिका बालबालिकाले खोप नलगाएका कारण अहिले समुदायको सबैभन्दा जोखिम क्षेत्र विद्यालय नै रहेको बताएका छन्।

सरकार र स्थानीय प्रशासनले विज्ञहरूकै सुझावअनुसार विद्यालय बन्द गर्न भनेकाले विज्ञहरूले दिएको सुझाव गलत नहुने उनीहरूको भनाइ छ।

‘१२ वर्षमाथिकाले त बरु खोप लगाएका छन्, मेरा जस्ता २/३ कक्षामा पढ्नेले त खोप पाएका छैनन्। अरूका कारण मेरो बच्चामा सङ्क्रमण भयो भने त्यसको जिम्मा कसले लिन्छ’‚ अभिभावक लक्ष्मी शर्मा भन्छिन्, ‘विद्यालय नपठाऊँ मेरो बच्चाले मात्रै पढ्न नपाउने भो, पठाऊँ कोरोना आएरै त बन्द गर्न भनेका होलान्।’

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको बाक्लो चाप नहुने तथा बाहिरी जिल्लाबाट विद्यार्थीहरू खासै नजाने भए पनि सदरमुकाममा रहेका विद्यालयमा भने विद्यार्थीको चाप उच्च हुनाले सङ्क्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.