|

हेटौंडा : ठूलो पर्खालले घेरिएको भवन। पर्खाललाई घेर्न बसेका नेपाली सेनाका जवान।

जहाँ हर कोहीले कहिल्यै जान नपरोस् भन्ने गर्छन्। तैपनि कैयौं मान्छेहरू त्यही पर्खालको भित्ताभित्र कैद भएर जीवनको दिन गनिरहेका छन्। ‘भीमफेदी कारागार’ एउटा यस्तो ठाउँ जहाँ देशका विभिन्न स्थानबाट अपराध गरेर सजाय भोग्न आइपुगेका छन्।

कारागारभित्र ३ वटा भवन छन्। एउटा कार्यालय भवन र कैदीहरू बस्ने अरू २ वटा भवन। गेटसँगै रहेको कार्यालयको भवन कटेपछि कैदीहरू बस्ने पहिलो ब्लक आउँछ।

यसको गेट नजिकै केही थान फोनका सेट राखिएको छ। ती फोनलाई कानसम्म पुर्‍याउन केही हात लामबद्ध भएर बसेका थिए त केही हात ती फोनलाई आफूबाट टाढा गर्नै चाहँदैनथे।

फोनमा गुनगुनाउँदै कसैका आँखा रसाइरहेका थिए त केही ओठ कारागारबाट बाहिर निस्कन पाउने आशा राखिरहेका थिए। ती दृश्यले उनीहरू कसैको हत्या गरेर वा अरू केही अपराध गरेर आएका हुन् भन्ने पटक्कै भान हुँदैन।

पहिलो ब्लकको पहिलो ढोका कटेर पछाडिपट्टि निस्कनासाथ दायाँबायाँ लाइन लागेका केही मान्छे आफ्ना औँलाहरू जोडेर नमस्कारसहित स्वागत गर्छन्।

त्यसपछि एउटा ठूलो भीड देखिन्छ। जुन भीड बाहिरबाट आएका मान्छेहरू देख्दा अचम्भित भएर केही बेर उभिरहन्छ। त्यसपछि लाग्छ दायाँबायाँ आफ्नो काममा।

भीड तितरबितर भएपछि देखिन्छन्, चाउरिएका हातले नाम्लो बनाउँदै गरेका वृद्ध। 

६८ वर्ष भइसकेका उनी कारागारमा त्यसैगरी अझै १२ वर्ष बस्नु छ। ८ वर्षअघि कर्तव्य ज्यानको अपराधमा कारागार आएका उनी दिनभर नाम्लो बनाउँछन्।

उनले बनाएका ती नाम्लो कारागारमै कैद भएर बसेकाहरूलाई भेट्न आउनेले किनेर लैजान्छन्। सायद कारागार बाहिर हुँदा हुन् त उनी यो उमेरमा छोराछोरीको भर परिसक्नुपर्थ्यो तर कारागार जीवन बिताइरहेका उनी जीवनको उत्तरार्धमा पुग्न लाग्दा पनि आफूलाई बाँच्न पुग्ने पैसा आफैँ कमाउँछन्।

खानैका लागि उनलाई पैसा कमाउनुपर्ने त होइन तर कारागारमा दैनिकी बिताउनैका लागि उनी नाम्लो बनाउने गरेको बताउँछन्। उनी बसेको भन्दा दायाँपट्टि लागेपछि कुनै ठूलो महलमा गएजस्तै सबै सेवा सुविधा देखिन्छ।

सुरुमा आउँछ सैलुन। जहाँ १० रुपैयाँदेखि दुई सय रुपैयाँसम्मको सेवा लिन सकिन्छ। दाह्री कपाल काट्नेदेखि अनुहार चम्काउन गरिने फेसियलसम्मको सुविधा कारागारमा कैदी जीवन बिताइरहेकाले त्यहीका कैदीलाई दिन्छन्।

६० वर्षभन्दा माथिकालाई निःशुल्क सेवा दिने त्यहाँका कैदीहरू सैलुन चलाएर आफ्नो आवश्यकता मात्रै होइन, परिवारको आवश्यकता पनि पूरा गरिरहेका छन्।

सैलुनको छेउमै स्वास्थ्यचौकी पनि छ। स्वास्थ्यसम्बन्धी ज्ञान भएका तर केही अपराध गरेर कारागार जीवन बिताउन पुगेकाहरू त्यहाँ गएर पनि आफ्नो कर्ममा रमिरहेको देख्न सकिन्छ।

स्वास्थ्यचौकी अगाडिको पुस्तकालयमा केही कैदीहरू दैनिक पत्रिका त केही कैदी पुस्तक पढिरहेका थिए। पुस्तकालयको पारिपट्टि व्यायामशाला पनि थियो, जहाँ केही कैदीहरू आफूलाई स्वस्थ राख्न व्यायाम गरिरहेका थिए।

उनीहरूलाई कोही आएको र गएकाले कुनै फरक पारिरहेको थिएन। ती सबैजना आ–आफ्नो काममा ध्यानमग्न देखिन्थे। 

सोही भवनको अर्कोपट्टि मन्दिर पनि छ। जहाँ कैयौं कैदी आफ्नो आस्था र विश्वास बोकेर पुग्छन्। मन्दिर हुँदै भित्र छिर्दा एउटा सुन्दर स्थानमा पुगिन्छ। जहाँ मुढा, फोटो फ्रेम र काठले बनाएको अन्य सुन्दर सामग्रीहरू प्रशस्तै देखिन्छ।

कोरोना संक्रमण सुरु हुनुअघि त्यहाँ कैदीहरूले बनाएका ती सामान छिमेकी मुलुक चीनसम्म पुग्थे तर कोरोना आएसँगै ती सामान चीन जाने बाटो बन्द भएको छ।

चीनले सामान लैजान छोडेपछि कैदीहरू आफ्नो सामानको बजारीकरणमा समस्या भएको भन्दै चिन्तित छन्। उनीहरू छेउमै रहेको अर्को कोठामा अमेरिकासम्म पुग्ने गलैँचा बुन्ने गरिन्छ।

केही कारागार आउनुअघि नै गलैँचा बुन्न सिकेकाहरू र केही कारागार पुगेपछि गलैँचा बुन्न सिकेकाहरू बिहानदेखि साँझसम्मै काममा मस्त हुन्छन्। उनीहरूले बुनेका गलैँचा अमेरिकामा खुब रुचाइन्छ।

‘हाम्रो अरू केही काम हुँदैन, दिनभरि गलैँचा बुनेर पठाउँछौँ। यसले गर्दा कारागारमा थुनिएकै भए पनि हामीले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न पाएका छौँ’, एक कैदीले भने। उनका अनुसार त्यहाँ कार्यरत कैदीले मासिक ५ वटासम्म गलैँचा बुनेर अमेरिका पठाउने गरेका छन्। 

कारागार अपराध गरेर सजाय भोग्न जानेहरूको मात्रै होइन विभिन्न सिप, क्षमता र दक्षता भएकाहरूको पनि भीड भएको ठाउँ हो। जहाँ भर्खर जुँगाको रेखी आउँदै गरेका युवादेखि कपाल फुलेर चाउरिएका वृद्धसम्म बस्ने गरेका छन्।

उनीहरूसँग आ–आफ्नो छुट्टै अनुभव, दक्षता, सीप र क्षमता छ। जसलाई चारतिरबाट घेरिएको पर्खालले रोक्न सकेको छैन।

उसो त, कारागारमा खेलकुद गरेर मनोरञ्जन लिनेहरूको संख्या पनि कमी छैन। केही भीड क्यारमबोर्ड खेलेर त केही भीड टिभीमा चलचित्र हेरेर मनोरञ्जन लिइरहेको देखिन्थ्यो। दशकौँअघि जसरी चलचित्र हेर्न गाउँभरिका सबै एक ठाउँमा भेला हुन्थे, उसैगरी केही कैदीहरू एकै ठाउँमा भेला भएर चलचित्र हेरिरहेको दृश्यले पनि एकअर्कामा भाइचारा दर्शाइरहेको थियो।

कारागारमा रहेर स्वरोजगार हुन चाहनेहरूको केही कमी थिएन। मासु पसल, किराना पसल, कस्मेटिक, सुनचाँदी पसलसमेत रहेको कारागारभित्र खाना र खाजा खानेहरूको लागि पनि छुट्टाछुट्टै क्यान्टिन छन्।

कारागारले दिएको भन्दा फरक खाना पकाएर खान चाहनेहरू लामबद्ध भएर चुलोमा आगो बाल्दै गरेका थिए। कसैको भाँडामा मासु त कसैकोमा साग पाकिरहेको थियो। केही कैदीहरू घाम ताप्तै खुसुरफुसुर गर्दै थिए त केही कैदीहरू घाममा गुन्द्रुक सुकाउँदै थिए।

कारागारमा रहेको सबै कैदी केही न केही गरिरहेका देखिन्थे। 
कोही कसैले जानेर त कसैले परिस्थितिले अपराधको बाटो समाएर कारागारसम्म पुगेको कथा सुनाइरहेका थिए। अक्सर कैदीहरू बेरोजगारीले गर्दा अपराधको बाटोमा हिँड्न परेको भन्दै पश्चात्तापको स्वर निकालिरहेका थिए।

अशिक्षा, गरिबी र बेरोजगारी जस्ता कारणले कारागारमा कैद भएका उनीहरू कति त्यहाँ पुगेर स्वरोजगार बनेका छन्। अपराध गरेर कैदी बनेका उनीहरू कारागारमै भए पनि आफ्नो सीप र क्षमतालाई उजागर चाहन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.