|

बारा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाराको निजगढमा बन्ने प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५ लाख वटा रुख काट्दा पुग्ने बताएका छन्। बिहीबार अवलोकनका लागि आएका मुख्यमन्त्रीले पाण्डेले बाहिर हल्ला गरेजस्तो २४ लाख वटा रुख काट्नु नपर्ने बताए।

‘२४ लाख रुख कटान हुनुपर्छ भनेर बाहिर प्रचारप्रसार छ। तर, ५ लाख रुख काटे पुग्ने रहेछ‚’ उनले भने‚ ‘आज हामी आएको खासमा विमानस्थल निर्माणका लागि कति खर्च लाग्ने रहेछ, तत्काल काम गर्न समस्याहरु के के रहेछ जानकारी लिएका छौं। केही छिट्टै समाधान गर्नुपर्ने समस्या छ।’ मुख्यमन्त्री पाण्डेले विमानस्थल निर्माणका लागि  सरकार गम्भीर रहेको बताए।

विमानस्थल निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको टाँगियावस्ती र मटियानीमा बसोबास गर्दै आएको करिब १६ सय घरधुरी व्यवस्थापनमा समस्या देखिएको छ। सरकारले मुआब्जा दिइसकेको काँटगाँउका ११२ घरधुरीलाई पनि घरसारको निर्णय गरेर तत्काल छुटपुर्जी दिनुपर्ने देखिन्छ।

विस्तृत वातावरणीय अध्ययन प्रभाव मूल्यांकन प्रतिवेदनमा विमानस्थल निर्माणका लागि ८ हजार ४५ हेक्टरमा आवश्यक पर्ने उल्लेख भए पनि कुल भू-भागको २०० हेक्टरमा रुख गणना गर्ने बाहेक हालसम्म कुनै काम भएको छैन।

मुख्यमन्त्री पाण्डेले टाँगियाँवस्तीलाई व्यवस्थापन गर्न जडीबुटीको करिब ८०० बिघा सरकारी जग्गा हेरिसकेकाले सबै समस्यालाई प्याकेजमै समाधान गर्ने गरी संघिय सरकारको तयारी भइरहेको बताए। ‘यी सबै विषयमा मैले मुख्यमन्त्री मात्रै नभएर पार्टीको प्रथम उपाध्यक्षको हैसियतले पार्टी अध्यक्ष माधवकुमार नेपाल र वर्तमान प्रधानमन्त्रीज्यूलाई जानकारी गराएर तत्काल काम अगाडि बढाउन पहल गर्छु‚’ मुख्यमन्त्री पाण्डेले भने।

मुख्यमन्त्री पाण्डेले विमानस्थलको पसाहा, टाँगियावस्ती,बकैया खोला हुँदै निजगढको अवलोकन गरेका छन्। अवलोकन टोलीमा निजगढ नगरपालिका नगरप्रमुख शुरेसकुमार खनाल, स्थानीय प्रशासन प्रमुख, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवाल, अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निमिक्त प्रमुख विजय यादव, डिभिवन वन कार्यालयका सहायक वन अधिकृत अनिल साह लगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.