विज्ञ भन्छन्- स्वास्थ्य मापदण्ड पालना गर्न नसके परीक्षा रोकौँ, सिसिएमसीमा छलफल

|

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर तिब्र रुपमा बढिरहेको छ। शुक्रबार एकै दिन ५ हजार ८७ र बिहीबार ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बुधबार तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण रोकथामका लागि सरकारले गत मंगलबारबाट माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। 

तर,त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले भौतिक उपस्थितिमै अहिले परीक्षा सञ्चालन गरिरहेको छ। आज(शुक्रबार) मात्रै बिएड चौथो वर्षको परीक्षा सकिएको छ भने बिबिएस चौथो वर्षको परीक्षा अहिले सञ्चालन भइरहेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्ने भनेको छ।

तर,यी व्यवस्था अनुसार परीक्षा सञ्चालन नभएको परीक्षार्थीहरूको गुनासो छ। कतिपय परीक्षार्थीमा कोरोना संक्रमण भएको पनि जानकारी दिएका छन्।

एलएलबी तेस्रो वर्षको परीक्षा यही माघ १० गते र विज्ञान संकायको फिजिक्स चौथो वर्षको परीक्षा माघ ५ गतेबाट हुनेगरी त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको छ। एलएलबी प्रथम वर्ष (नयाँ पाठ्यक्रम) को आगामी माघ १३ गते  गतेदेखि परीक्षा हुने तालिका छ। क्रमश: अरु संकायको पनि परीक्षा संचालन हुँदैछन्।

‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएमात्रै परीक्षा सञ्चालन गरौँ’

विज्ञहरुले यस्तो महामारीको अवस्थामा परीक्षा सञ्चालन गर्नु जोखिम रहेको बताउँछन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मात्रै भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सुझाउँछन्। 

अहिले कोरोना संक्रमण बढिरहेको भन्दै उनी भन्छन्,‘परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्नेमा व्यवस्थापनमा भरपर्ने कुरा हो, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए सञ्चालन गर्दा हुन्छ,यति गर्न सकिएन भने सञ्चालन नगरौँ।’ 

उनका अनुसार एउटा कक्षा कोठामा बढीमा २५ जना विद्यार्थी राख्नुपर्छ त्यो पनि दुई मिटरको दुरीमा। उनीहरुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउनुपर्छ। कक्षा कोठा सेनिटाइज गर्नुपर्छ। विरामी देखिएकालाई कक्षा कोठामा नभई छुट्टै राख्नुपर्छ।

‘कक्षा कोठाका झ्याल खुलै राख्नुपर्छ,हावा खेल्न दिनुपर्छ,सबै विद्यार्थीले खोप लगाए राम्रो,’उनले भने। यति नगरी परीक्षा सञ्चालन गरे स्थिति भयावह हुनसक्ने उनको भनाई छ। 

त्रिवि भन्छ : परीक्षा रोकिन्न

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह-परीक्षा नियन्त्रक डा.घनश्याम ठाकुर सिसिएमसीले रोक्नु नभनेसम्म बाँकी परीक्षा स्थगित नहुने बताउँछन्। उनले भने,‘सरकारले नै स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न भनेको छ,त्यही आधारमा परीक्षा सञ्चालन गरिरहेका छौँ,अब रोक्नु भन्ने आदेश आएमात्र रोकिन्छ।’

उनले कोरोना संक्रमित भएका विद्यार्थीहरुलाई छुट्टै कक्षा कोठामा राखेर परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको बताए। बाँकी परीक्षा अनलाइनबाट नभई भौतिक उपस्थितिमै हुने उनको भनाई छ।

‘अनलाइनबाट परीक्षा गराउन सकिँदैन,त्यसैले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुन्छ,’उनले भने।

परीक्षाका विषयमा छलफल भइरहेको छ : सिसिएमसी

सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले त्रिविको परीक्षाबारे छलफल भइरहेको जानकारी दिइन्।

उनले भनिन्,‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने भनेका थियौँ,तर म कहाँ पनि मापदण्ड पालना नभएको धेरै गुनासो आएको छ,यस विषयमा यहाँका पदाधिकारीसँग पनि कुरा उठाएको छु।’ 

अहिले सिसिएमसीमा छलफल भइरहेको र त्यसपछि मात्रै परीक्षा के गर्ने भन्न सकिने उनले बताइन। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.