|

काठमाडौं : निर्वाचन आयोगले माघको पहिलो साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा गर्नुपर्ने बताएको छ। 

शुक्रबार आयोगमा आयोजित राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गतेबाट सकिँदैछ। त्यसका लागि दुई महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर बैशाख १४ मा एकै चरण वा बैशाख १४ र २२ मा चुनाव गर्न प्रस्ताव गरेको छ।

सरकारले यस विषयमा कुनै निर्णय गरिसकेको छैन। 

तयारीका लागि समय अपुग हुने भएकाले आयोगले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेको हो। 

छलफल माघ १२ गतेहुने राष्ट्रियसभा सदस्य निर्वाचन र मतदाता नामावली संकलनका बारेमा पनि कुराकानी भएको कांग्रेस नेता रमेश लेखकले बताए।

उनका अनुसार कोरोना महामारीका कारण राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र बढाउन आयोगलाई सुझाव दिइएको छ।

एमाले उपमहासचिव विष्णु रिमालले आफूहरुले स्थानीय तहको चुनाव घोषणा गर्नुपर्नेमा जोड दिएको बताए। सरकारले चुनाव टार्न खोजेको भन्दै उनले आयोगलाई तयारीका लागि समय चाहिने भएकाले मिति घोषणा गर्न माग गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.