काठमाडौं : तनहुँमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी शंकरबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १९ पुगेको छ।
भानु नगरपालिकामा ५, व्यासमा ६, शुक्लागण्डकीमा १, भिमादमा २, ऋषिङ गाउँपालिकामा १ र आँबुखैरेनीमा ४ सक्रिय संक्रमित रहेका छन्।
हाल बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिका कोरोनाबाट मुक्त छन्।
जिल्लामा ५ हजार ४ सयजनालाई कोरोना संक्रमण भएकामा ५ हजार २५१ निको भएका छन्। यो वर्ष कोरोनाबाट १३० संक्रमितको मृत्यु भएको छ।
अठार वर्षमाथिका २ लाख २९ हजार ३४७ जनामध्ये १ लाख ५७ हजार २८१ जना (६८.६ प्रतिशत)ले खोपको पूर्ण मात्रा लगाएका छन्।
यस्तै १२ देखि १७ वर्ष उमेरसम्मका ३९ हजार ४३४ मध्ये ३१ हजार ८१२ जना (८०.७ प्रतिशत)ले मोडर्ना खोप लगाएका छन्।
भानुका २१ हजार ७५५ व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका ६ हजार ७६८, ऋषिङका ९ हजार ५३, देवघाटका ६ हजार ५६३, बन्दीपुरका ९ हजार ४ सय र आँबुखैरेनीका १२ हजार ६८९ जनाले खोपको पूर्ण मात्रा लगाएको कार्यालयले जनाएको छ।
यसैगरी भानुका ३ हजार २२०, व्यासका ८ हजार ९५७, म्याग्देका १ हजार ४६४ र शुक्लागण्डकीका ५ हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन्।
भिमादका २ हजार ८७९, घिरिङका १ हजार ३१८, ऋषिङका २ हजार १२५, देवघाटका १ हजार ५३४, बन्दीपुरका २ हजार २ र आँबुखैरेनीका २ हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।