|

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लब नवौं खेलमा सातदोबाटोसँग पराजित भएको छ।

शुक्रबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग मनाङ २-१ ले पराजित भयो। पराजित भएसँगै मनाङको उपाधि होड जोखिममा परेको छ।

खेलको ११ औं मिनेटमा सातदोबाटोले मार्टिन्स सिलो नांगाको गोलमा अग्रता लिएको थियो। मनाङका डिफेन्सले क्लियर गर्न नसकेको कर्नरमा मार्टिन्सका हेडर एकराज बुढाथोकीलाई लाग्दै गोलमा परिणत भएको थियो।

सातदोबाटोले पहिलो हाफमै प्रशान्त अवस्थीको क्रसमा अजायी मार्टिन्सले हेड गर्दै ३८ औ मिनेटमा अग्रता दोब्बर बनाए। दुई गोलको अग्रतासँगै दबाब परेको मनाङले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो।

५७ औं मिनेटमा मनाङका ओलावाला आफिजले कर्नरमा क्लियर हुन नसकेको बललाई गोलमा परिणत गर्दै मनाङलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर त्यसपछि पनि मनाङले गरेका केही प्रयास सफल नहुँदा मनाङ पराजय ब्योहोर्न बाध्य भयो।

जितसँगै सातदोबाटो १२ अंकसहित लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ। मनाङ भने १९ अंकसहित दोस्रो स्थानमा यथावत् छ। शीर्षस्थानको मच्छिन्द्रले ८ खेलमा २० अंक जोडेको छ।

मच्छिन्द्रले आइतबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ। मच्छिन्द्रसँगै संकटालाई समेत मनाङको जितले फाइदा पुर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.