|

काठमाडौं : विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

मूलपानी मैदानमा एपिएफले समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। समूह चरणको अन्तिम खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हरायो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य एपिएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।

लुम्बिनीका लागि देव खनालले ४३, सुशान्त थापाले १८ र कृष्ण कार्कीले १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपिएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिए। शरद भेषाबकरले एक विकेट लिए।

१०५ रनको लक्ष्य पूरा गर्ने क्रममा एपिएफका आसिफ शेखले ४३ र प्रदीप ऐरीले ३६ रन बनाए। दुईजनाले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे।

अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका बासिर अहमदले दुई र सिद्धान्त शाहीले एक विकेट लिए।

अर्को खेलमा कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनबाट नेपाल पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले हरायो।

जितसँगै नेपाल पुलिसले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ। उत्कृष्ट ब्याटिङ गर्ने क्रममा कुशलले ८२ र दीपेन्द्रसिंहले ६२ रन बनाएपछि नेपाल पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४४ रन बनाएको थियो।

२४५ रनको लक्ष्य पछ्याएको कर्णालीले ९ विकेट गुमाएर १५५ रनमात्र बनाउन सक्यो। कर्णालीका लागि प्रकाश जैशीले ६८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।

कप्तान रवीन्द्र शाहीले १७ रन बनाउँदा दिवन पुन १७ रनमै अविजित रहे। मनीष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए। विपीन रावलले १० रन जोडे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.