बैतडी : सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स सञ्चालनमा आएको छ। बैतडी क्षेत्र नम्बर १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट ‘आदित्य’ले स्वास्थ्य कार्यालयमार्फत गाउँपालिकाका लागि एम्बुलेन्स खरिद गरेका हुन्।
खरिद प्रक्रिया सुरु गरेको झण्डै एक वर्षपछि एम्बुलेन्स ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि १२ लाख रूपैयाँ विनियोजन गरेका थिए। उक्त बजेटमार्फत स्वास्थ्य कार्यालयले एम्बुलेन्स खरिद गरेको हो। कोरोना भाइरसका कारण एम्बुलेन्स खरिद प्रक्रियामा ढिलाइ भएको बताइएको छ।
सुर्नया गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सास्ती हुँदै आएको थियो। स्थानीयहरुको मर्कालाई ध्यानमा राखेर आफूले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एम्बुलेन्सका लागि बजेट विनियोजन गरेको र अब स्थानीयहरुलाई सहज हुने प्रदेशसभा सदस्य भट्टको विश्वास रहेको छ ।
गाउँपालिकाका लागि एम्बुलेन्स खरिद भएपछि अब अन्यत्र रेफर गर्नुपर्ने आकास्मिक बिरामीहरुका लागि सहज हुने विश्वास गरिएको छ। एम्बुलेन्स नहुँदा निजी सवारी साधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानु पर्ने बाध्यता रहेको थियो।
गाउँपालिकामा एम्बुलेन्स आएपछि अब बिरामी अस्पताल सम्म लैजान सहज हुने भएको छ। गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिकलगायत बिरामी व्यक्तिलाई स्वास्थोपचारका लागि अस्पताल आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ।
यसँगै जिल्लाका आठ वटा स्थानीय तहसँग आफ्नै एम्बुलेन्स भएका छन्। सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।