कार्यान्वयन भएन प्रशासनको आदेश

|

धनगढी  : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको कैलालीको धनगढी कोरोनाको हटस्पट बन्दै गएको छ। देशैभर संक्रमण दर उकालो लागेसँगै धनगढीमा पनि कोरोनाको संक्रमण र जोखिम झन् बढेको छ।

केही दिनअघि मात्रै नेकपा एमालेले देशैभर पार्टीको जिल्ला अधिवेशनहरू गर्‍यो।कैलालीमा पनि एमालेले अधिवेशन गरेको थियो। अधिवेशन धनगढीमै भएको थियो। अधिवेशन सम्पन्न भएपछि त्यहाँ सहभागी दर्जन बढीलाई कोरोना पुष्टि भएको छ।एमाले कैलालीका इञ्चार्ज नारदमुनि रानासहितका नेताकार्यकर्ता संक्रमित भएका छन्। प्रशासनले अहिले यस्ता भिडभाड हुने कार्यक्रम नगर्न आदेश जारी गरेको छ।तर, कार्यान्वयन भने भएको छैन।

कोरोना भाइरसको त्रास बढ्दै गएका बेला धनगढी उपमहानगरपालिकाले भने जनताको हितमा अहिलेसम्म कुनै काम गर्न नसकेको स्थानीय नरेशनाथ योगी बताउँछन्। ‘कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा उपमहानगरपालिकाको लापरबाहीले ठूलै सास्ती खेप्नु परेको अवस्थामा पुनः तेस्रो लहर बढ्दै गएको छ।

अहिलेसम्म नियन्त्रणका कुनै कार्यक्रम सार्वजनिक नगर्नु उपमहानगरवासीप्रतिको विभेद हो’, उनले भने। हाम्रो स्वास्थ्यप्रति उपमहानगरपालिकाले बेवास्ता गर्दै आएको उनको गुनासो छ। 

कोरोना भाइरसको पहिलो र दोस्रो चरणमा गरी सेती प्रादेशिक अस्पतालमा मात्रै उपचारका क्रममा अहिलेसम्म २१२ जनाले ज्यान गुमाइसकेका छन्। जनरल बेड संख्या ४०, आइसियु १६ तथा एचडियु बेड संख्या ५ गरेर सेतीमा कुल ६१ बेड संख्या रहेको छ।

त्यसमध्येमा हाल १६ जना संक्रमितको उपचार भइरहेको छ भने, ४ जना आइसियुमा उपचाररत छन्। सेतीमा कोभिड संक्रमितको संख्या दैनिक रूपमा बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ।

आदेशको बेवास्ता

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरिसकेको छ। तर, भिड नियन्त्रण गर्न कहीँ कतैबाट पहल भएको छैन। प्रहरी र प्रशासनलाई भिड न्यूनीकरण गर्न गृह मन्त्रालयले निर्देशन नै जारी गरेको अवस्थामा समेत नियन्त्रणको प्रयास अझै भएको छैन।

यहाँ संक्रमणदर भने एक सातायता उच्च रूपमा बढेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ‘कोभिडको ग्राफ एक सातामै ह्वात्तै बढेर गएको छ, यसैगरी बढ्दै जाने हो भने रोकथाम गर्न मुस्किल पर्ने देखिन्छ’ उनले भने।

कोरोना भाइरसको जोखिम सबैभन्दा बढी धनगढीमै देखिए पनि कोभिड व्यवस्थापनका लागि अहिलेसम्म उपमहानगरपालिकाले कुनै काम गर्न सकेको छैन। यतिसम्म कि धनगढीमा स्थापना भएको अक्सिजन प्लान्टमा समेत प्राविधिकको अभाव छ। यदि दोस्रो लहर जस्तो अक्सिजनको हाहाकार भएमा प्लान्टबाट चलाउन दक्ष जनशक्तिको आवश्यकता पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्। 

सीमा नाकामा छैन कडाइ

नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा नाकाबाट दैनिक स्वदेश फर्कनेको भिड छ। अधिकांशमा संक्रमण देखिन थाले पनि यो विषयमा उपमहानगरपालिकाको ध्यान फिटिक्कै पुग्न सकेको छैन।

संक्रमणको ग्राफ दिनप्रतिदिन उकालो लाग्दासमेत नियमनको प्रयास हुनै नसकेको उपमहानगरवासीको गुनासो छ। सीमा नाकासँग जोडिनुका साथै सबैभन्दा बढी जनसंख्या पनि धनगढीमै भएकाले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी बताउँछन्। ‘सीमासँग जोडिएकाले धनगढीमा कोभिडको जोखिम उच्च देखिन्छ। न्यूनिकरणका लागि सीमा क्षेत्रमै कडाइ गर्नुको विकल्प छैन’, उनले भने।

कोरोनाको सम्भावित तेस्रो लहरबाट जोगिन भिड नियन्त्रण अपरिहार्य छ। तर, यहाँ जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी र जारी निर्देशनहरुको समेत पालना नहुँदा धनगढी कोभिडको हटस्पट बन्ने खतरा बढेको सरोकारवाला बताउँछन्।

एकैदिन १४ जनामा संक्रमण

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८७ नमुना परीक्षण गर्दा थप  १०४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यस्तै, २४ घण्टामा थप ३ जना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्।  जसमध्ये दुईजना बिरामीको आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.